कोमल गजल –

इनेप्लिज २०७६ भदौ १८ गते २२:२७ मा प्रकाशित

असजिलो सफर रैछ जिन्दगी
अधमरो रहर रैछ जिन्दगी

लखतरान छ सदैव दौडिँदा
विरहको बगर रैछ जिन्दगी

मन विदीर्ण छ सहस्र चोटले
भलभली नजर रैछ जिन्दगी

हरघडी छ अति लोभलालच
विषयको असर रैछ जिन्दगी

समयको छ चलखेल व्यापक
विकल,बेखबर रैछ जिन्दगी

वय ढलेपछि ढल्यो सशक्तता
कति छिटै अचर रैछ जिन्दगी

सहजतासँग पुगिन्न लक्षमा
अकर नै अकर रैछ जिन्दगी

घरि उँधो घरि उँभो छ हालत
नियतिकै सदर रैछ जिन्दगी

न त खुसी छ अवसानमा जन
न त यहाँ अमर रैछ जिन्दगी

प्रियंवदा छन्द
४ मा विश्राम

-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:-न्युयोर्क

प्रतिक्रिया