अमेरिकाको एटलाण्टा जर्जीया निवासी अन्तराष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरका अध्यक्ष, गीतकार तथा गजलकार किरण मानिकेको शब्द अनि संगीतमा अत्यन्तै मिठो बाल गीत “उडु म पनि” सार्वजनिक भएकाे छ। उक्त गीतमा मिठो स्वरकी धनी ५ वर्षीया बालिका आत्मिका ढकालले आवाज भरेकी छिन्। बेलाबेलामा भईरहने विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य र गायकी प्रस्तुत गर्दै आईरहेकी आत्मिकाको यो पहिलो रेकर्डेड गीत हो। आत्मिकाको पढाई लेखाई पनि अत्यन्तै राम्रो छ। सानो उमेरदेखिनै बहु प्रतिभामुखी बालगायिकाको सधै जस्तोनै चौतर्फी प्रशंसा हुने गर्दछ।
चर्चित लोकदोहोरी गायक राजेन्द्र सुवेदीको एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोपनि अत्यन्तै उत्कृष्ट र संदेशमुलक रहेको छ। किरण मानिकेले निर्देशन गरेको उक्त भिडियोमा उनै गायिका आत्मिकाले ब्लड क्यान्सर भएर कपाल गुमाएकी एउटी बालिकाको समाचार टिभीमा देखेपछि मन छोएको र भावुक हुदै आफुले जन्मेबाट अहिलेसम्म कहिल्यै नकाटेको आफ्नै कपाल काटेर दान गरेको देखाएको छ। आत्मिकाले झण्डै २५ इन्च लामो आफ्नो कपाल काटेर “विग्स फर किड्स” भन्ने संस्था मार्फत कपाल दान गरेकी हुन्। भिडियोमा उनका विभिन्न अभिरुचि र क्रियाकलापहरुलाई बडो आकर्षक ढंगले प्रस्तुत गरिएको छ। गीतको म्यूजिक भिडियोमा आत्मिकाकी आफ्नै ३ बर्षीया बहिनी एड्भिका ढकाल लगायत एटलाण्टा जर्जीया निवासी विभिन्न नानीबाबुहरुको नृत्य देख्न सकिने छ। किरण मानिकेलेनै छायाकंन गरेको उक्त भिडियोमा स्वीकृति आचार्यले कोरियोग्राफी गरेकी छन् भने अमर शाक्यको दृष्य सम्पादन रहेको छ। भिडियोलाई किरण मानिके युट्युब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक गरिएको छ।
प्रतिक्रिया