हालै सुर्खेतमा सयौं संख्यामा गाई तथा गोवंशको भीरबाट लडाएर हत्या गरिएको विषयलाई लिएर देशका विभिन्न ठाऊहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढङ्गबाट हत्या गरिएको आरोप लगाएका छन् । नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका धेरै ठाऊहरुमा यस प्रकारको कार्यको घोरभर्तसना गर्दै कतै नाराजुलुस् गर्ने, कतै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कामहरु भइरहेका छन् ।
यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्यो.पं. वैद्यराज दीपक सुवेदीले एक भिजिओल विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताएका छन् । चितवनबाट योगी नरहरिनाथ वागीश्वरी गौशाला तथा देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले गौ हत्याको बिरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र दिने र बिरोध सभा गर्ने कार्यक्रमहरु भइरहको बताएका छन् ।
गोवंशको हत्याको धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, प्राणी हितको पक्षमा आवाज उठाउने निकायहरुले बिरोध गरिरहेका छन् । केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजित रुपमा गाई गोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापि मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवं राज्यकै उपहास भएको बताएका छन् ।
गोवंशको हत्याको सानो बिरोधले अन्धो र बैरो रहेको सरकारले नसुन्ने हुनाले विगतका वर्षमा झै ससानो स्वरुपको विरोधबाजी गरेर मात्रै यो समस्या नसुल्झिने बताउँदै सुवेदीले गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनु पर्ने बताएका छन् । त्यस प्रकारको कार्ययोजना आफूसँग भएकोले धार्मिक संघसंस्था, नागरिक समाज, राज्य एवं सरकार र संबन्धित निकायले चाहेको खण्डमा उपयुक्त ठाऊमा विधिपूर्वक त्यो कार्ययोजना पेश गर्न आफू तयार रहेको पनि उनले बताएका छन् । यसको बारेमा थप तल दिइएको भिडियोबाट हेर्नसक्नु हुनेछ ।
प्रतिक्रिया