महिला अधिकार र बिकृती निराकरण पहिलो प्राथमिकता : एनआरएनए महिला संयोजक अम्बिका खत्री

भोला थापा क्षेत्री २०७६ भदौ १५ गते ८:४१ मा प्रकाशित

भोला थापा क्षेत्री, दोहा –तनहुँ भानु नगरपालिका – ८ कि अम्बिका खत्री परिवारकी एक्ली छोरी हुन । २०५८ सालमा कालिका उच्च माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरे लगतै उनी उच्च शिक्षाका लागि काठमाण्डौ लागिन ।

नेपाल ल क्याम्पसबाट फौजदारी कानून (Criminal Law)मा एलएलबि गरेकी खत्री नेपाल सरकारबाट मान्यता प्राप्त रजिस्ट्रार अधिवक्ता बन्न सफल भइन । त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा मास्टर गरेकी खत्रीले नेपाल रेडक्रस सोसाइटीका माध्यमबाट आफ्नो सामाजिक काम गर्ने रुचीलाई अघि बढाइन ।

अन्तराष्ट्रिय श्रम कानूनलाई मेजर विषय लिएर अध्ययन गर्दै गर्दा डोमेस्टिक वोर्कर शिर्षकको शोधपत्र तयार पारिन । जुन शोधपत्र नेपाल ल क्याम्पसको इतिहासमा पहिलो थियो ।

सन २००८ देखिनै काठमाडौंको ठमेलमा “फस्ट फ्लाई ट्राभल एण्ड टुर’’ संचालन गरेकी अम्बिकाले फस्ट फ्लाईबाट पर्यटन व्यवसायमा हात हालिन् । शिक्षा, समाजिक कार्यसँग व्यवसायलाई संगसंगै लैजादै गर्दा व्यवसायमा केही अथक गरौ भन्ने उर्जाले उनले २०१३ देखी २०१६ सम्म भिजिट भिसामा कतारमा आउने जाने गरिन ।

कतारमा नै व्यवसाय र समाज सेवालाई निरन्तर दिदै कतारमा स्थापित महिला समाजमा समावेश भइन र कतारका विभिन्न सामाजिक संघ–संस्थासंग सहकार्यमा जुटिन । अहिले पनि उनी नेपाली महिला समाज कतारको वर्तमान महासचिवको जिम्मेवारी सम्हाल्दै आएकी छिन ।

तनहुँको आहाले भज्याङ्ग देखी कतार सम्मका विभिन्न दुःखका दिनलाई सम्झदै खत्रीले कतारमा आफ्नो व्यवसाय विस्तारै अगाडी बढाउँदै गर्दा उनमा एनआरएनए एनसीसी कतारको २०१९÷२०२१ कार्यकालको महिला संयोजकको जिम्मेवारी समेत थपिएको छ ।

समाजसेवा मन लगाउने खत्रीले कतारमा उनको छुट्टै पहिचान बनाउन सफल भइकी छिन । एनआरएनए कतारको महिला संयोजकमा निर्वाचित भए लगातै अब कतारमा पिडीत महिलाहरुको अधिकारका लागी र विभिन्न नकरात्मक खाले विकृतीहरुलाई निराकरण गर्ने आफूमा थप जिम्मेवारी बढेको अम्बिकाको बुझाई छ । कतारबासी नेपाली महिलाहरुको आशा बनेकी एनआरएनए महिला संयोजक अम्बिका खत्रीसगँ  भोला थापा क्षेत्रीले गरेको छोटो कुराकानी :

व्यवसाय गर्नका लागी कतार नै किन उपयुक्त लाग्यो तपाईलाई ?

मेरो व्यावसायिक क्षेत्र पर्यटन भएकाले मैले बिभिन्न देशहरुको भम्रण गरि कसरी नेपालमा पर्यटन प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चिन्तन गरी रहन्थे । कतारभन्दा पहिला पनि मैले मलेशिया, सिंगापुर, थाइल्याण्ड र युएइ भम्रण गरिसकेको थिए । तर जब म कतार आए यहाँ मैले पर्यटन लगायत व्यापारका बिभिन्न सम्भावनाहरु देखे त्यसैको प्रतिफल अहिले मेरा क्लिनिङ एण्ड हस्पीटालिटी, मेडिसिन सप्लाई र कन्ट्रक्सन लगायतका ३ कम्पनी संचालनमा छन । र रह्यो व्यवसायको लागि कतार नै रोज्नुको कारण, खाडी राष्ट्रमा पनि विशेष गरेर कतार जुन क्षेत्रफलको हिसाबले सानो त छदै छ तर विश्वकप फुटबल २०२० आफ्नो हातमा पार्न सफल भएको छ, विश्व कप फुटबल २०२० कतारमा हुनु भनेको हामी जस्ता व्यवसायीका लागि अबसर हो । श्रमजीवी देखि कलमजीवी सबैका लागि यहाँ अवसर छन । म अमेरिका र युरोप गएर जागिरे महिला भन्दा पनि कतारमा रहेर व्यावसायिक महिला भएर नेपाली समाजको खाडीमा बस्ने महिला प्रतिको दृष्टिकोणलाई बदल्न चाहेने महिला हुँ । त्यही भएर मैले खाडी राष्ट्र कतार रोजेको हुँ ।

कतारको एनआरएनए महिला संयोजकमा निर्वाचित हुनुभएको छ कस्तो लागेको छ?

एनआरएनए कतारमा रहेका सम्पुर्ण नेपालीहरुको एकमात्र छाता संगठन हो। जसले विभिन्न राजनीतिक आस्था, धर्म, जातजाति र कुनै विशेष समुदाय भन्दा माथि उठेर विशुद्ध कतारबासी श्रमजीवी नेपालीहरुको हितमा काम गर्दछ । यस्तो सामाजिक सस्थाको जिम्मेवारीपूर्ण पद महिला संयोजकको रुपमा नेतृत्व पाउँदा असाध्यै खुशी छु ।

कतारबासी नेपाली चेलीले एनआरएनको महिला संयोजकबाट के आशा गर्ने?

कतारमा रही विभिन्न पेसा र व्यवसायमा संलग्न नेपाली महिलाहरुका कानुनी र व्यावहारिक समस्याहरुको समाधान खोज्न मेरो प्रयत्न रहनेछ । म उहाँहरुको लागि सदैव सहयोगमा जुट्ने छु । एनआरएनएको निर्वाचानको क्रममा आफुले गरेको प्रतिवद्धतालाई निरन्तरता दिएर टिम सहित अगाडी बढ्ने छु ।

नेपाल दुतावाससंग सहकार्यका लागि कसरी समन्वय गर्नुुहुन्छ?

नेपाली दुतावास हाम्रो लागि माइती घर हो । नेपाली महिला समाजको महासचिव भएर काम गर्दै गर्दा होस् या एनआरएनए २०१७–१९ को महिला सदस्यमा काम गर्दैगर्दा होस् नेपाली राजदूतावास कतारसंग विभिन्न कार्यक्रममा सहकार्य गर्ने मौका पाए । कतारमा एकमात्र नेपाली महिला अधिवक्ता भएको नाताले पनि विभिन्न कालखण्डमा राजदूतावासका कर्मचारी र महामहिम ज्युहरुसंग भेटघाट तथा छलफल भएकाले म नेपाली राजदुतावास कतारसंग निकट भएको अनुभव गर्दछु ।

एनआरएनए कतारसगँ तपाईको भावि लक्ष्य/योजना के के छन ?

कतारमा कार्यरत नेपाली महिलाहरुको चेतना अभिवृद्धिका लागि नेपाली राजदुतावास र कतारी संयन्त्रसंगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्ने योजना बनाएको छु ।  वर्तमान प्रतिस्पर्धात्मक समयमा नेपाली श्रमबजारलाई  कसरि प्रबद्र्धन गर्न सकिन्छ भन्ने बिषयमा नेपाली राजदुताबास कतारसंग छलफल गरि सम्बन्धित निकायमा सल्लाह र सुझाब पठाउने छु । अन्यायमा कानुनी समस्यामा पर्नबाट कतारवासी नेपालीहरुलाई बचाउने उदेश्यले बिभिन्न छलफल तथा गोष्ठीहरुको आयोजना गर्ने कुरामा जोड दिने छु ।

तनहुँ सेवा समाजमा रहँदा तपाईको भूमिका के थियो ?

तनहुँ समाज कतारको आजीवन सदस्य पनि हुँ । संस्थाले आयोजना गर्ने हरेक कार्यक्रम र अभियानमा आफुले कुनै न कुनै तबरबाट सहयोग गर्न मन पाराउँछु । आगामी दिनहरुमा अझै जिल्ला संस्थालाई कतारमा स्थापित जिल्ला संस्थाहरुमध्ये उत्कृष्ट सँस्थाको रुपमा अगाडि बढाउने चाहना छ र सोही अनुरूप कार्यगर्ने योजना रहेको छ ।

कतारमा त धेरै नेपाली महिलाहरु कर्नश देखी विभिन्न कुरामा नकारात्मक पाटोमा लागेको बुझिन्छ । यसलाई कसरी अन्त्य गर्नु हुन्छ?

यो नकारात्मक पद्धतिको अन्त एक व्यक्तिले रातारात गरेर हुने होइन, यो तपाईलाई पनि अवगत भएकै कुरा हो । यसका लागि तँपाई हामी सबैले आ–आफ्नो तर्फ क्षेत्रबाट पनि पहल थाल्न जरुरी छ । आज हामीले गरिरहेका गल्ति र हेलचक्राईले भोलिको परिणामको बारेमा सोच्न जरुरी छ । र, यस्ताखालका गलत कार्य र पद्धतिका लागि नेपाल राजदुतावास कतारले पहिलो पहल स्वरूप जनचेतनामुलक कार्यक्रमको थालनी गरिसकेको छ र यसलाई अझै तिब्ररुपमा संचालन गर्न र धेरैभन्दा धेरैलाई यसमा सामेल गराउनको लागि एनआरएनए कतारको महिला संयोजकको हैसियतले सक्दो प्रयास गर्नेछु ,आशा छ परिणाम सकारात्मक आउनेछ ।

कतारमा एक्लै व्यावसाय गर्नु हुन्छ । एकल महिलाले सम्भव छ व्यवसाय गर्न?

असम्भव भन्ने काम संसारमा कुनै हुदैन । सहज र असहज मात्र हो । त्यसमाथि पनि इस्लामिक राज्य कतारमा जहाँ पुरुषको तुलनामा व्यबसायिक महिलाको संख्या अत्यन्त न्यून छ । मेरो परिवारको साथ र सहयोगले गर्दा नै आज म यो स्थानसम्म आइपुगेको हो ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ?

मलाई एनआरएनए अभियानमा साथ दिनुहुने सम्पुर्ण अग्रज व्यक्तित्व प्रति र मलाई निर्बिरोध निर्वाचित गराउनुहुने सम्पूर्ण प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै यो २ बर्षे कार्यकालमा म मेरो क्षमता र अनुभबले भ्याएसम्म कतारबासी नेपालीहरुको नजिकमा रही कार्य गर्ने प्रयत्न गर्नेछु । अन्त्यमा मेरो भनाइ मेरो जन्मस्थान तनहँुसम्म पु¥याउन सहयोग गर्नुभएको तँपाई र खबरवाटिका प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

खबरबाटीका साप्तहिक दमौलीबाट २०७६ भदौ १५, आइतबार प्रकाशित अन्तरर्वाता ।

प्रतिक्रिया