तीजको बिसंगती हटाउने को?

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ भदौ १४ गते १४:५८ मा प्रकाशित

हुन त इन्टरनेटको स्मार्ट संसारमा मैले तीज के हो, किन मनाइन्छ, कसरी मनाउनु पर्छ र के के गरिन्छ भनेर लेखे भने पक्कै पनि फुर्सदको बेलामा नाक कोट्याएर समय व्यतित गर्नु सरह हुन्छ।

म नारीपक्षधर भन्दा पनि लैंगिक समानान्तरमा बढी विश्वास गर्छु तर केही बुद्धिजीवी पुरुष मित्रहरुको तीज बारे फेसबुकका भित्ताहरुमा रंगिएका कटाक्ष हेरेपछी लाग्यो, बौद्धिकवर्गको खडेरी लागेकै हो त नेपाली समाजमा?

तीजको नाममा बिसंगती फैलिएको छ, तछाडमछाड नभएको होइन तर श्रीमतिहरुलाई सोह्र श्रींगारको साटो बत्तीस श्रींगार गर्न लगाउने र दीदीबहिनीले चुराधागोको त्यान्द्रोसम्म लगाएको समेत देख्न नसक्ने मानसिकता भएकाहरुबाट सकारात्मक समाजको परिकल्पना गर्नु भनेको सगरमाथाको चुचुरोमा ओलम्पिकको टर्चलाइट बाल्नु जस्तै हो।

तीजको नाममा बिसंती फैलियो भनेर गोहीको आशु झार्ने महानुभावहरुले किनमेल गर्न जांदा रंगमन्चमा नृत्य गर्न लागेकी नृत्यगंनाको जस्तो श्रींगार गर्ने आफ्नी प्राणप्रियालाई पनि प्रश्न गर्नुपर्ने हुन्छ किनकि अर्का आंगको जुम्रा त टाढैबाट देखिन्छ तर आफ्नो आंगको भैसीलाई पनि सम्हाल्दा अर्काको बाली जोगिन्छ।

सोह्र श्रींगार गरेर दुलही जस्तै बनेर भगवानको पुजापाठ गर्ने भएकोले नै तीज विवाहित र अविवाहित महिलाहरुमा लोकप्रिय पर्व हो। अझै नेपाल र उत्तरी भारतमा विशेष मनाइने यो हिन्दु पर्व अरु धर्मालम्बी महिलाहरुमा पनि उत्तिकै लोकप्रिय छ। अहिले आएर हिन्दु महिलाहरु देशबाहिर छरिएर रहेका र हिन्दु पुरुषहरु समेत अन्य धर्मालम्बी महिलाहरुसंग घरजम गरेर बसेकाले विदेशी मुलुकहरुमा समेत महत्वकासाथ दर खाने र तीजको भेटघाट कार्यक्रम बढ्दो छ। विदेशीएका चेलीहरुको कुरा गर्ने हो भने तिथी र मिती अनुसार चाडबाड मनाउन र संस्कृति झल्काउने पहिरन लगाउन र परम्परागत भोजन गर्न त्यति सम्भव हुदैन र समायानुकुल चाडपर्व मनाउदा आफुसंग भएका गरगहना र लुगाफोटो लगाउने चाहना बिकृतीको रुप नलिई बिसंगती बढ्न नदिन पहल गर्नु पर्नेमा व्यंग्य र छेडछाडमा आफ्नो मनको शान्तिलाई आफैले विचलन गरेको देख्दा चाहि टीठ लागेर आयो।

दर, तीज र माइतीको महत्व शहरका र हुनेखाने अनि विदेशमा बसेर आफुलाई अत्यन्त राष्ट्रवादीको रुपमा परिचित गराउने वर्गलाई भन्दा यो पर्वको महत्व दुर्गम क्षेत्रमा दुईछाक जोहोमै जीवनको अन्त्य गर्ने चेलीहरुलाई हुन्छ। तीजको दरमा महिलाले सोमरस पिए भनेर कटाक्ष गर्ने पुरुष मित्रहरुले, “म कति पवित्र छु, मेरो नारीप्रति कुन धारणा छ”, भनेर चौबिस घण्टाको पहरमा दुई मिनेट सोचिदिनुभयो भने यो बिसंगती र बिकृती आफै घट्छ। होइनभने सेती गाईलाई रंग लगाएर काली गाई बनाउदैमा समाज परिवर्तन हुदैन।

धर्म, संस्कृति अनि भाषासाहित्यको प्रवर्धन कटाक्ष र व्यंग्यबाट सम्भव छैन त न त आफुलाई आफैले उपाधि दिदैमा सम्भव हुन्छ। जनचेतना बढाउन परिवर्तन र संघर्ष स्वयंबाट आरम्भ गर्नुपर्छ, होइनभने आडम्बरमा संसार कहिले चल्दैन।

‘ऊँ उमामहेश्वराभ्यां नमः’’
‘ऊँ गौरये नमः

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया