-गोवर्धन पूजा
गज़ल आफैमा मीठो शब्द बनेको छ , अचेल | राम्रा गज़लकारको सिर्जना शक्तिका कारण पछिल्लो आधा दशकमा यसले देश-बिदेशका मन्चहरूमा दर्शकको वाह-वाही पाउनेक्रम बढेको छ |
यो पाठकको / दर्शकको माया पाउनु नेपाली गज़लको बिकासमा गज़लकारले गरेको साधनाको प्रतिफल पक्कै हो | यतिखेर गज़लकारहरू गज़ललाई मलजल मात्रै नगरेर नयाँनयाँ शब्दको शृङ्गारले गज़लको स्वरूप-बिधान थप्ने काममा तल्लीन छन् |
यस्तै गज़लकार मध्य एक साधनारत गज़लकार हुन् – स्पन्दन बिनोद | उनको प्रथम गज़ल कृति ” अविरल स्पन्दन ” हालै मात्र प्रकाशित भएको छ | कृतिमा १०१ थान विविध स्वादका गज़ल संगृहित छन् |
पोर्चुगलको व्यस्त जीवनबाट समय चोरेर नेपाली साहित्य भण्डारमा केही सामल-तुमल थप्ने कार्यमा लागेका बिनोद पछिल्लो नेपाली गज़लका राम्रा सर्जक हुन् भन्ने कुरा उनका गज़लका पाठकलाई राम्ररी थाहा छ | गज़लको वास्तविक भाव-भूमि , लेखन-उदेश्य, तत्व-बिधान , ब्याकरनिक संरचना सबै केलाएर लेख्न बसेका बिनोद आफ्ना गज़ललाई विविध स्वादको लेपनमा पाठक सामू पस्किन खप्पिस छन् |
गज़लको सुरुवाती बिषय-बिम्बलाई पनि स्वीकार गर्दै उनले वर्तमान जीवनको उहापोहलाई मीठा शब्द चयनका माध्यमबाट पाठकको मन जित्ने प्रयास गरेका छन् |
शब्द-शिल्प, भाव-बिधान , कथ्य-बिषय र मीठासपूर्ण काफियाको प्रयोग उनको गज़लमा पाइने सबल पक्ष हो|
उनका गज़लमा जीवनको दुख-सुख , दिन-रात , आशु – हाँसो , खुशी – पीडा , संयोग – वियोगआदि पक्ष समानान्तर रुपले आएका छन् | गज़लमा मन दुखेको मात्रै छैन , दुखाइ कम गर्ने मल्हम पनि छ | आशु झरेको मात्रै छैन, खुशी फुलाउने आशाका वृक्षहरू पनि छन् | पीडाको पहाडबाट झरिरहेका दुखका ढुंगा माटा मात्रै छैनन्, जीवनरितको बलबान मनो-खम्बा पनि ठडिएको छ , उनको गज़लमा | यसैले रुदै हिडेको मान्छे र हाँस्दै हिडेको मान्छे बीचको तादात्म्य उनको गज़लको मिलन बिन्दु बनेको छ |
केहि दर्शन छन् उनका गज़लमा , जुन जीवन दर्शन बनेर उभिएको छ | सास्वत मृत्यु चिन्तन र जीवन जिउनुको यथार्थ पट्टाछेप बीचको सम्झौतामा उनको गज़लले आकृति पाएका छन् | उनी भन्छन –
उसले हाँसेर ज्यान दिएर गयो
मुटु दियो अनि सास लिएर गयो |
जन्मेको माटो र हिडेको बाटो सायदै कसैले बिर्सन सक्छ होला ! अझ एउटा सचेत सर्जकले जन्मभूमिप्रतिको कर्तव्यबाट कहिल्यै चुत हुन सक्दैन भन्ने प्रमाणले प्रस्तुत गज़ल कृति भरिएको छ | देशको सुखको कामना गर्दै त्यहाँ उम्रिएका बनमारा फडानी गर्न उनी शब्दको तरवार बोकेर उभिएका छन् | यसैले उनको देशप्रेम “देश-चिन्ता”मा बदलिएको छ-
भ्रस्टाचार , लुट , तस्करी यति चलेको छ
बलात्कारको त मेरो देशमा खेति चलेको छ
पुरातन गज़लको मीयो हो – प्रेम |
मोतीराम भट्ट कालीन गज़लकारहरूले शृङ्गारिक् धारका गज़ललाई उचाइमा पुराउने प्रयास गरेका थिए | योक्रम आज प्रयन्त छ | यसैले त आज पनि गज़लको परिभाषा खोज्ने क्रममा “प्रेमिका संगको वार्तालाप ” भन्ने उत्तर भेटिने गर्छ | यो परिभाषालाई आंशिकरुपमा उचाल्दै विनोदले पनि प्रेमका गज़ल पस्केका छन् –
मेरो जिन्दगीको सरगम तिमी
केही कुरामा नि छैनौ कम तिमी
विदेशमा बस्दा नेपाली चाड पर्वले कसरी मुटुमा सिरेटो चलाउने गर्दछ भन्ने अनुभूति पनि गज़लकारले गज़लमा पोखेका छन् | जब-जब घरदेशमा रितिरिवाज र परम्पराको शरदयाम आउने गर्दछ तवतव परदेशमा शुन्यताको पतझड छाउने तितो अनुभूतिलाई गज़लकारले गज़लमा यसरी व्यक्त गरेका छन् –
घरको याद आउदा सधै रुन्छ परदेशी
के दशैँ के तिहार एक्लै हुन्छ परदेशी
यसरी विविध स्वादका गज़ल लेख्दै आएका गज़लकार स्पन्दन बिनोदको प्रस्तुत कृति नेपाली गज़लका पाठक एवं अध्येताका लागि महत्वपूर्ण सामग्री हुने बिश्वास गर्न सकिन्छ |
कृति प्रकाशनका लागि गज़लकारलाई हार्दिक बधाई तथा शुभकामना !
-बोस्टन , अमेरिका
प्रतिक्रिया