हरितालिका तीज : ‘संस्कृतिमा समानता खोजौं’

ओमकुमारी पौडेल २०७६ भदौ १३ गते ७:२३ मा प्रकाशित

नेपाल बहुल जाति, बहुल भाषा, विविध धर्म, संस्कार र संस्कृतिले सुसज्जित मुलूक हो। यहाँ हरेक जात–जाति धर्म र समुदायका मानिसहरुको बसोबास छ। ती सबै जात–जातिका आ–आफ्ना धर्म, संस्कार, परम्परा र रीतिरिवाजहरु छन्, अनि ती प्रचलन र संस्कारहरुले हामी सबै कुनै न कुनै रुपमा प्रभावित बाँधिएका छौं, प्रभावित छौं।

त्यसैले नेपालका हरेक समुदायहरुले मनाउने चाडपर्वहरु हामी सबैका साझा चाडपर्व जस्ता बनेका छन्। तिनै चाडमध्येको एउटा निकै महत्वपूर्ण पर्व हो तीज। आजसम्म आउँदा यो पर्व निकै महत्वको सबैले मान्दै आएको एक ऐतिहासिक पर्वको रुपमा रहिआएको छ। तीज हिन्दूहरुको ऐतिहासिक पर्वका रुपमा अस्तित्वमा रहे पनि आजपर्यन्त यो पर्व सबै धर्म र संस्कृति मान्नेहरुका लागि साझा पर्वजस्तै बन्न गएको छ।

तीजका बारेमा एउटा किम्वदन्ती प्रचलनमा छ, ‘प्राचीन कालमा हिमालय पर्वतकी छोरी पार्वती महादेवसँग प्रेममा परिन्। उनलाई महादेव असाध्यै मन पर्यो र उनै महादेवलाई स्वामी अर्थात् श्रीमान बनाउन पाउँ भनी आफ्ना बुवासग औधी बिलौना गरिन्, जिद्दी गरिन् र अनुनय विनय समेत गरिन्। तर, छोरी पार्वतीको यो बिलौनालाई हिमालय पर्वतले पटक्कै सुनेनन्, किनकी महादेव त्यतिबेला अति उदण्ड थिए, अराजक थिए, अनुशासनहिन थिए, भाङ्ग धतुरो खान्थे।

नशाको सुरमा नाङ्गै भएर कपडासमेत नलगाई हिड्थे। सर्पहरु शरीरभरि बेरेर यत्रतत्र हिड्दथे। सरसफाइमा उनको पटक्कै रुचि थिएन। बरु, खरानी खरानी भएर हिड्दथे। त्यस्ता महादेवसँग छोरी प्रेममा परेको कुरा थाहा पाएपछि तत्कालै पार्वतीलाई विष्णुसँग बिहे गरिदिने सुर हिमालय पर्वतले गरे। यो कुरा उनका साथीहरूले थाहा पाएपछि भाद्र शुक्ला तृतीयका दिन पार्वतीलाई घरबाट छुटाएछन् (हरित–हरण, आलिका (साथीहरू हरितालिका) र पर जङ्गलमा लगेर राखेछन्, अनि सबै कुरा पार्वतीलाई बताएछन्।

त्यसपछि पार्वतीले एउटा कठोर निर्णय लिन पुगिन्। पानीसमेत नपिएर निराहार र कष्टसाध्य भोक हड्ताल गरेर (व्रत र उपासना बसेर) बुवा हिमालय पर्वतलाई झुकाएरै छाड्ने, अन्त्यमा केही सीप नलागेपछि हिमालय पर्वत झुकेछन्, छोरी पार्वतीलाई महादेवसँगै बिहे गरिदिएछन् र यता महादेवले पनि पार्वतीले शिवलिङ्गको स्थापना गरी पूजा अर्चनासहितको भक्ति प्रकट गरेको देखेर प्रभावित भई तथास्तु भनेछन् भन्ने सन्दर्भ उल्लेख छ।

भनिन्छ त्यस दिनदेखि पार्वतीले भाद्र शुक्ला तृतीयका दिन सधैं आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुका लागि उपासना गरिन्। त्यसैले आजसम्म पनि खासगरि भाद्र शुक्ला तृतीयका दिन हरेक अविवाहित महिलाहरुले राम्रो स्वामी पाउँ भनेर यस प्रकारको व्रत बस्नुपर्ने र विवाहित सबै चेलीहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित सकेसम्म कष्टसाध्य व्रत बसी पूजाअर्चना र भक्तिभाव प्रकट गर्नुपर्ने भनाइ यस पर्वसँग जोडिएको छ।

यो पर्व हरेक एक वर्षमा आउने गर्छ। प्रायः हिन्दू नारीहरु अघिल्लो द्वितीयकै दिन आ–आफ्नो गक्ष्यअनुसारको खाना (दर) खाएर भोलिका निम्ति पूजाअर्चना र रमाइलो नाँचगानको तयारीमा हुन्छन् र तृतीयको दिनभर निराहार बसी रमाइलो सकेर बेलुकी पूजापछि पतिको गोडाको पानी खाएर पञ्चमीको पूजा समापनको तयारी गर्दछन्। हाम्रा पुर्वजहरुले यस प्रकार तीजको महत्वलाई अथ्र्याउँदै आए र सोहीअनुसार अभ्यास पनि गर्दै आए।

तर आजसम्म आउँदा हिन्दू नारीहरु, सबै हिन्दु समुदायका अलवा सबै जात–जाति, भाषा, धर्म र संस्कृतिका नारीहरु सबैजसो नै यस पर्वमा निकै उल्लासपूर्वक सहभागी हुने गरेका छन्। सबैले व्रत (उपासना) बसी पूजाअर्चना गरी यस पर्वलाई खुशीपूर्वक मनाउने गर्छन्। त्यसैले हामी यो भन्न सक्छौं कि तीज केवल हिन्दू नारीहरुको मात्रै खास पर्व रहेन, यो त सबैको साझा पर्व बनिसकेको छ।

सदाझैं हामी सवै यतिवेला तीजको संघारमा छौं। हरेक तीजमा साना नानीहरुदेखि वृद्ध आमाहरुसमेत निकै उत्साहित भएर रमाइरहेका देख्न सक्छौं। हामी रहेको सिङ्गै समाज यसैका वरपर रमाएको छ। त्यसैले पनि तीज पर्वको महत्व कति छ भन्ने अनुमान जो कसैले सहजै लगाउन सकिन्छ। नेपालमा मात्रै होइन, आज संसारभर रहेका नेपाली समुदाय र नेपाली मूलका नारीहरु तीज पर्वमा रमाएको देख्न सकिन्छ। आजको यथार्थ यही हो।

तर आजको समाजको चेतना र विशेषताले तीज पर्वलाई आ–आफ्नो हैसियत र रितिरिवाज अनुसार सहभागी हुने पर्व हो। यसलाई सव्य र शिष्ट बनाउँदै जानुपर्छ भनेर सचेतना जगाउँदै तडकभडक र भड्किलो हुनबाट जोगाउनु अनि एक नियमित पर्वका रुपमा बुझ्नु बुझाउनु अनिवार्य कर्तव्य बनेको छ, बन्नु पर्दछ। यसले मात्र हाम्रो ऐतिहासिकता र पर्वको आत्मीय पक्षलाई जीवित राख्न सक्दछ।

हाम्रो नेपाली समाजमा तीज पर्वसँग केही मान्यताहरु स्थापित भएका छन्। तीजमा हरेक विवाहित चेलीहरु रातै पहेलै भएर माइत जाने, एक दिन भने पनि माइतीसँगै बसेर मीठो मसिनो खाने, घरको पीर, वेदना र आफूमाथिका अत्याचारहरुलाई गीतका माध्यमबाट पस्कने, समाजमा व्याप्त विकृति विसङ्गतिको सोहीअनुरुप भण्डाफोर गर्ने आदि इत्यादि।

तर यहि तीज अहिले आधुनिकतामा फेरिएको छ। भावना पोख्ने पस्कने शैलीहरु फेरिएका छन्। जस्तो कि ‘अहिलेको तीजमा पोइला जान पाम’देखि राजनीतिक सामाजिक व्यवस्थाका नकारात्मक पक्षहरुका टीका टिप्पणी हुँदै ‘म त नाँच्दिनँ क्यारे मेरो प्यारो मायाले नहेरे’ यति मात्रै हो र ‘भन्देउ न कुन चाहिँ राम्री हामी दुइमा’ भन्नेसम्मका आफ्ना चाहना र प्रेम कहानीलाई व्यक्त गर्ने थलोका रुपमा प्रकट हुँदै आएको छ।

यस अवसरमा सबैले राम्रा–राम्रा महँगा गरगहना लत्ताकपडा पहिरिने, निकै महङ्गा ब्राण्डेड पेय पदार्थ (रक्सी) हरुका साथमा भव्य पार्टी प्यालेस बुक गरेर महिनौ अगाडिदेखि लाइन लागेर दर खाने खुवाउनेसम्मको चलन बनिसकेको छ। यसो गर्नु तीजको जस्तै हरेक वर्षको अनिवार्यता बनेको छ। यसले हाम्रो संस्कृतिको मूल्य मात्रै घटाएको छैन, सामाजिक विकृतिका नयाँ–नयाँ आयामहरु पनि उद्घाटित हुँदैछन्।

राजनीतिक सामाजिक क्षेत्रमा रहेर सचेत पंक्तिको नेतृत्व गर्ने तप्कासमेत यसमा नजानिँदो तवरले लहसिँदै गएको छ। यस्तो अवस्थामा शिक्षित र चेतनशील वर्ग पनि स्वरमा स्वर मिलाएर परापूर्व कालदेखिको चलन भनेर यसैमा समाहित हुँदैछ। यसको मतलव आजको दिनमा तीज पर्व के हो, यसलाई कसरी मनाउने भन्ने बारेमा खास दिशानिर्देश गर्न सकेको अवस्था देखिँदैन।
यद्यपि यस वर्ष भने विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुबाट जारी गरिएका सूचनाहरु र संघ/संगठनका स्वतस्फूर्त रुपमा भएका पहलकदमीहरुले केही हदसम्म भएपनि कम खर्चिलो हुने अनुमान गर्न सकिन्छ। तर, सरकारी सूचना पनि कतिका लागि बाध्यताजस्तो बनेको समाचारहरु आइरहेका छन्।

अब हामीले साँच्चिकै अर्थमा तीज कस्तो हुनुपर्ला त ? खास बहस यतातर्फ केन्द्रित गर्न जरुरी छ। तीजका बारेमा राजनीतिक नेतृत्व, अधिकारकर्मी, लेखक, पत्रकार, सामाजिक अभियान्ता र हरेक सचेत नागरिक सबैले आफ्ना धारणाहरु विभिन्न माध्यममार्फत् पस्किएको पाइन्छ। बेला बेलामा बहस पनि चलेका छन्। तथापि यस पर्वलाई समयअनुकूल व्याख्या गर्न र यथोचित सुधार गरेर शभ्य सुसंस्कृत तुल्याउन भने सकिएको देखिँदैन।

तीजका बखतको एउटै मात्रै उदाहरण लिउँ, महिलाहरु महिनावारी भएका बेला अशुद्द हुन्छन्, छोइछिटो हुन्छ। यसबेला केही न केही पाप गरेका हुन्छन् होला भनेर पञ्चमीका दिन ३६५ वटा दतिवनका डाँठ चपाएर, शरीरभरि माटोले धोइपखाली गरी पाप कटनी गर्ने र जौ तिलको पानीले शिरदेखि नै नुहाउने भन्ने चलन आज पनि उत्तिकै चल्तीमा छ। देशका ठूला–ठूला शहरभरिसमेत ठूलो परिमाणमा त्यस दिन दतिवनको कारोबार हुने गर्छ, ताकि सबैको घर घरमा दतिवन पुगोस् र रितिअनुसार यसको प्रयोग गर्न पाइयोस्।

त्यसैगरी पञ्चमीको पूजा महिनावारी भइसकेका चेलीहरुले मात्रै लगाउने चलन छ। महिनावारी एउटा शारीरिक प्रक्रिया हो, यो हरेक महिलालाई उमेर पुगेपछि अनिवार्य हुने गर्छ। यस समयमा छोइछिटो भन्ने नै हुँदैन, अशुद्ध भन्नु नै वाहियात हो। स्वस्थ खानेकुरा र आवश्यक सरसफाइ पछाडि आम नागरिकसरह महिलाहरु काम गर्न चुलोचौको गर्न, सभा सम्मेलन गर्न, नियमित कर्ममा सरिक हुन सक्छन भनेर आजको दुनियाँमा हामीले चेतना प्रवाह गर्न सकेका छैनौं। बरु, उल्टै एक मुठ्ठा दतिवन खोज्न धेरै टाढा टाढासम्म पुग्ने गरेका छौं।

तीजका बारेमा सचेततापूर्वक आयोजना गरिने कार्यक्रमहरुमा समेत यस्ता प्रकारका त्रुटीहरु प्रशस्त देखिने गरेका छन्। अब पछाडि नहटौं खुलेर हामीले बहसको शुरूवात गरौं। सुस्वास्थ्य र दीर्घायुको कामना केवल नारीले मात्रै गरेर त्यो परिवार सुखी र खुशी रहन सक्छ त ? महिनावारी भएका वेला छोइछिटो होइन, हरेक चेली महिनावारी भइनन् भने सृष्टि सञ्चालनमा समेत कठिनाइ पो पर्ला नि।

धर्म संस्कृति र नियम कानूनको पहाड केवल महिलाहरुको टाउकोमाथि देखाएर मात्रै समाज सुसंस्कृत हुन सक्ला र ? कि पुरुष दाजुभाइहरुको पनि उत्तिकै भूमिका हुनुपर्ला ? हरेक परिवारमा राम्रो स्कुलको रोजाइ छोराहरुका निमित्त हुने गर्छन् आजभोलि पनि। कलेजको फर्म भर्नु अगाडि छोरीका लागि केटा खोज्ने चलन छ समाजमा।

त्यति मात्रै होइन, छोरी पढाउँदा लागेको ऋण यति छ, उति छ भनेर लेखाजोखा गर्दै हिड्ने चलन पनि छ, ताकि छोरा पढाउन ठूलो मुल्य चुकाएको देखिन्छ सबैतिर। त्यस्तै अर्को पाटो महिलाले पनि समाजकाप्रति मेरो उत्तिकै दायित्व र जिम्मेवारी छ भन्ने ठान्नु जरुरी देखिन्छ। गाउँको एउटा उपभोक्ता समितिको अध्यक्ष प्रस्ताव गर्दा ‘म बस्दिनँ, फलानो दाजु बस्नु हुन्छ’ भनेर पन्छिने संस्कार रहेसम्म समानताको अनुभूति गर्न सकिएला र कतै ? यतातिर गम्भीरतापूर्वक सोच्ने बेला आएन र ?

त्यसैले बेलैमा सबैले प्रण गरौं – परिवारमा दिने शिक्षा र चेतनाले हाम्रो सामाजिक मान्यताको प्रतिनिधितित्व गर्दछ, समाजको एउटा अगुवाको चलन चाँजोले सामाजिक स्वरुप निर्धारण गर्दछ। सोही कारण हाम्रा रितिरीवाज परम्परा र धर्म संस्कारलाई समयसापेक्ष परिमार्जन र परिस्कृत गर्दै जाऔं।

आजको समाजमा चेलीहरुलाई श्रीमानको गोडाको पानी होइन, सहकार्य र सहयोगी हातहरुको जरुरी छ। विश्वास र समन्वयको आवश्यकता छ। पानी समेत नपिएर निराहार बसेर होइन, स्वस्थ र तन्दुरुस्त भएर अगाडि बढ्न पोषिलो र भोक लागेका बेला प्रशस्त खानेकुरा खान जरुरी छ। हिजोका महादेवको परिकल्पना होइन, आजको समाज बुझेको साथी र सहयोगी बन्न सक्ने पतिको खाँचो छ।

रातको १२ बजे गोडाको पानी पिलाउने पति होइन, कामबाट थाकेर, सभा सम्मेलनबाट अवेर घर फर्कदा बच्चाबच्ची सम्हालिदिने र खाना बनाएर सहयोग गर्ने साथीजस्तै पतिको खाँचो छ चेलीलाई। त्यसैले भोको बसेर होइन, समयमा खाना खाएर सामाजिक विकास र उन्नतिका काममा जुटौं ।

यसैमा हामी र समाजको प्रगति हुन सक्छ, हामीले समानताको अनुभूति गर्न सक्छौं। पहल गरौं, चाडपर्वहरुलाई समयानुकूल बदलौं र आफू पनि बदलिऔं। हाम्रा हरेक रितिरिवाजहरु सबै मानव निर्मित हुन्। हामीले चाहँदा बदल्न र यथोचित परिमार्जन गर्न पक्कै सकिन्छ।

[email protected]

(लेखक पौडेल नेकपाका प्रदेश समिति सदस्य हुन्।)

प्रतिक्रिया