गैरआवासीय नेपाली संघ रूसका नवनिर्वाचित अध्यक्ष शिवमणि भुर्त्यालबाट अक्षयकोष स्थापनाको घोषणा

इनेप्लिज २०७६ भदौ ९ गते २२:२७ मा प्रकाशित

 


कृष्णप्रकाश श्रेष्ठ

मस्को, २५ अगस्ट २०१९ (आइतवार) । रूसको राजधानीस्थित विश्वप्रसिद्ध रसियाली जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ को सभाकक्षमा गैरआवासीय नेपाली संघ रूसको नवौं राष्ट्रिय अधिवेशन भव्यताका साथ सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूको व्यापक उपस्थितिमा एनआरएनए रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्पन्न यस नवौं अधिवेशनमा रूस महासंघका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । श्रीमती राजदूत कमला घिमिरेसहित मास्कोस्थित नेपाली राजदूतावास परिवारको पनि त्यसमा समुपस्थिति रहेको थियो । यसै अवसरको सन्दर्भमा रूसमा रहेका नेपालीहरूकी अतिथिको रूपमा नेपालबाट मास्को आइरहनु भएकी नेपालकी प्रसिद्ध गायिका सुशीला गौतम एक परीझैं उडेर आइरहेकी जस्तो देखिने मञ्चको भित्ताभरिको रङ्गीन पोष्टरले मात्र नभई स्वयं गायिकाकै उपस्थितिले समेत सभाकक्षको शोभा बढाइदिएको थियो ।

गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका कार्यवाहक महासचिव इन्द्रप्रसाद भुषालद्वारा संचालित नवौं अधिवेशनको पहिलो सत्रमा रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका पदाधिकारीहरू – उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, यूरोप उपसंयोजक तथा भाषा एवं साहित्य समितिका संयोजक र प्रस्तुत नवौं अधिवेशनका केन्द्रीय पर्यवेक्षक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाईं एवं रवीन्द्र भट्टराई प्रभृतिबाट मन्तव्य प्रस्तुत गर्दै गतः २ वर्षको समयावधिमा गैरआवासीय नेपाली संघको तर्फबाट सम्पन्न क्रियाकलापको विस्तृत चर्चा गरिएको थियो ।

महामहिम राजदूत ऋषिराम घिमिरेज्यूले गैरआवासीय नेपाली संघ रूसले नेपालको व्यापार तथा पर्यज्ञनको क्षेत्रमा सघाउ पुर्‍याउने उद्देश्यले मास्कोमा आयोजना गरेको ‘नेपाल महोत्सव’ को उच्च मूल्याङ्कन गर्नुहुँदै यस प्रकारका सहकार्यहरूमा भविष्यमा पनि राजदूतावासको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने कुरामा जोड दिनुभयो ।

एनआरएनएकी केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारीले आफू रूसकै एनआरएनको प्रतिनिधित्व गर्दै यस संस्थाको कार्य सम्पादन गरिरहेको जनाउँदै पर्दामा समेत विभिन्न बुँदाहरूको पुष्टि गर्ने खाकाहरू समेत दर्शाउँदै आधुनिक संचार प्रविधिको माध्यमबाट विभिन्न सहुलियतहरू प्राप्त गर्न सकिने ३ थरीका सदस्यता कार्डको व्यवस्थापन लगायत विगत २ वर्षभित्र संस्थाको संगठन दरिलो पार्न गरिएका कार्यहरूको प्रतिवेदन पेश गर्नुका साथै गोर्खाको भूकम्पपीडित गाउँ वारपाकमा स्थानीय वासिन्दाहरूसँग अन्तरक्रिया समेत गरी आधुनिक सुविधायुक्त दुईतले भूकम्पनिरोधक आवास घरहरू बनाउन लिइएको जिम्मेवारी यथास्थान नै ‘इंटाबारी’ बाट आवश्यक ईंटा समेत उत्पादन गरी यथासमयमै पूरा गरिएको जानकारी दिनुभयो र सरकारसितको सहकार्यपश्चात् छिटै नै ती घरहरू प्रतीक्षारत स्थानीय वासिन्दाहरूलाई हस्तान्तारण गरिने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय महासचिव डा. बद्री केसीले ८० देशमा संगठनात्मक रूपले कार्यरत गैरआवासीय नेपाली संघको सञ्जाललाई दरिलो पार्न आफ्नो कार्यकालमा सम्पन्न गरिएको क्रियाकलापको सिंहावलोकन प्रस्तुत गर्दै हाल यो संस्था निकै दरिलो र प्रभावकारी भइसकेको र अब यसले पूर्ववत् लोककल्याणकारी कार्यमा मात्र सीमित नरहेर विदेशमा प्राप्त गरिएको आफ्नो साधन र सीपलाई समेत नेपालमा लगानी गर्ने क्षमता राख्ने भइसकेको छ भन्नुहुँदै गतः वर्ष काठमाडौंमा सम्पन्न विज्ञ सम्मेलनको दृष्टान्त दिनुभयो र रूसमा रहेका नेपालीहरूको एकबद्धता र कार्यशीलताले गर्दा जताततै रूसका नेपालीहरूको सम्मान र प्रशंसा हुनेगरेको परिप्रेक्ष्यमा यस स्थितिलाई अगाडि पनि कायम राखिने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रवीन्द्र भट्टराईले रूस आप्रवासी संघमा आफूलाई संस्कृति विभागको कार्यभार सुम्पिएको जनाउ दिनुहुँदै रूसमा विभिन्न देशका आप्रवासीहरूको उक्त संस्थासित सहकार्यको सम्भावनाबारे बताउनुभयो भने अर्का केन्दीय सदस्य डा. एकनारायण चापागाईंले पनि नवौं अधिवेशनको सफतलाको कामना गर्नुभयो ।

अधिवेशनका सभापतिको आसनबाट रामेश्वर गौतमले आफ्नो कार्यकालमा सम्पन्न क्रियाकलापको सिंहावलोकन गर्दै नेपाली राजदूतावास परिवार लगायत रूसमा रहेका सबै नेपालीहरूको व्यापक सहयोग प्राप्त भएकोमा आभार प्रकट गर्दै आफूले भविष्यमा पनि सक्रिय नै रहेर कार्य गर्ने तत्परता जनाउनुभयो ।

नवौं अधिवेशनको बन्द सत्रमा कार्यवाहक महासचिव इन्द्रप्रसाद भुषाल र कोषाध्यक्ष गोविन्द आचार्यबाट प्रतिवेदन प्रस्तुत गरिएपछि टीकाटिप्पणी र आफ्नो कार्यकालमा बचतको रकम बढाइएको आयव्ययसम्बन्धी विवरणको लेखापरिक्षणको परिणामबारे सकारात्मक रिपोर्ट समेत अधिवेशनबाट अनुमोदन गरिएको थियो ।

तत्पश्चात् डा. कुमार कार्कीको नेतृत्वमा उत्सव अमात्य तथा डा. मनमूर्ति भुर्त्यालसहित गठित त्रिसदस्यीय निर्वाचन आयोगद्वारा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचित सदस्यहरू र पदाधिकारीहरूको नाम घोषित गरियो ।निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयुक्त डा. मनमूर्ति भुर्त्यालले नवनिर्वाचित अध्यक्ष शिवमणि भुर्त्याल, उपाध्यक्षत्रय सुमन रिजाल, गोविन्दप्रसाद आचार्य, केशव तिमिल्सिना, महासचिव इन्द्रप्रसाद भुसाल, कोषाध्यक्ष किरण रानाभाट, सचिव संदेश सिंखडा, युवा-संयोजक सीताराम कटेल (मिलन), महिला-संयोजक विधा थापा, कार्यकारी सदस्यहरु हिमलाल खनाल, पशुपति घिमिरे, दुर्गाबहादुर भट्टराई, यमबहादुर थापा, रामबाबु पाण्डे, केन्द्रीय सदस्य डा. एकनारायण चापागाईं निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद्की उपाध्यक्ष सपिला राजभण्डारीले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई मञ्चमा निम्त्याएर पद र गोपनियताको शपथ ग्रहण गराएपछि प्रमाणपत्र हस्तान्तरणपश्चात् महामहिम राजदूतज्यूले शुभकामना व्यक्त गर्नुभयो र अधिवेशनमा उपस्थित सबैले ताली बजाएर शुभेच्छा प्रकट गरे ।

गैरआवासीय नेपाली संघरूस राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित अध्यक्ष शिवमणि भुर्त्यालले आफूलाई निर्विरोध निर्वाचित गरिएकोमा नवौ महाधिवेशनमा उपस्थित सबै सदस्यहरूलाई र यस पदका प्रत्यक्ष प्रत्यासी डा. विमला भण्डारी तथा सुमन रिजालको त्याग र सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अध्यक्षको पदभार वहन गर्दै तत्कालै भइपरिआउँदा व्ययभार वहन गर्न १० हजार डलरको अक्षयकोष स्थापना गर्नेबारे गरिएको घोषणाको तुमुल करतलध्वनिद्वारा स्वागत गरिएको थियो । उहाँले रूसका विभिन्न उच्च शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली छात्रछात्राहरूमध्ये अध्ययनका सबै विषयहरूमा परीक्षामा उत्कृष्टतम अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा गर्नुभयो । यस प्रकार गैरआवासीय नेपाली संघ रूसको अध्यक्षपदमा नवनिर्वाचित शिवमणि भुर्त्यालले गैरआवासीय नेपाली अभियानको जन्मथलो रूसमा रहेका नेपाली समुदायको हितानुकूल क्रियाकलापमा नयाँ कीर्तिमान स्थापित गर्नुभएको छ ।

नवौं अधिवेशनको कार्यक्रमको बी-बीचमा नेपाली छात्रछात्राहरूको नृत्य प्रस्तुतीका साथै आधिकारिक कार्यक्रमको समाप्ति र ‘देवी’ क्याफेमा सन्ध्या-भोजनपश्चात् अतिथि नेपाली गायिका सुशीला गौतमको सुमधुर स्वरमा रमाइला-मीठा गीतहरू प्रस्तुत गरिएका थिए भने अधिवेशनका सहभागीहरूले समेत नाचगान कार्यक्रममा सरीक भएर वातावरण नै रमाइलो नाइलदएका थिए ।

अन्त्यमा नवनिर्वाचित अध्यक्ष शिवमणि भुर्त्यालजीको कार्यकाल उपलब्धिमूलक होस्, उहाँको नेतृत्वमा गैरआवासीय नेपाली संघ रूसले उत्तरोत्तर विकास गर्दै जाओस् र सन् २०१९-२०२१ का लागि निर्विरोध निर्वाचित गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण पदाधिकारीहरू र कार्यकारी सदस्यहरूको कार्यकाल फलदायी र सफल रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

२६ अगस्ट २०१९,
मस्को, रूस महासंघ ।

प्रतिक्रिया