रवि लामिछाने रिहा

इनेप्लिज २०७६ भदौ ९ गते १४:०७ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लामिछानेसँगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख धराैटी र रुकु भन्ने नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , कँडेललाई ३ लाख र नर्स कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

उनका अनुसार धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ । धरौटीमा छुटेपछि पनि बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित कँडेल र कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

आइतबार सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्धमा नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखिएको थियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । पछिल्लो समय न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्ने प्रावधान छन ।

प्रतिक्रिया