कोमल गजल:-

इनेप्लिज २०७६ भदौ ३ गते १०:२२ मा प्रकाशित

 


आक्रान्त भो देश पिलाहरूले
घोचे सधैँ तीक्ष्ण किलाहरूले

चिन्ता कुनै छैन सिवा भुँडीको
नेता बिगारे कचिलाहरूले

बढ्दै गए रोज कुकर्म सारा
बाँच्ने कसोरी महिलाहरूले

दु:खी रुँदै गर्छ सयौँ पुकारा
सुन्थे कहाँ धुर्त शिलाहरूले

रित्तो भयो कोष रहेन केही
पारे भुसुक्कै कमिलाहरूले

भेटी बिना दर्शन हुन्छ नास्ति
घेरिन्छ द्यौता रसिलाहरूले

कस्ले यहाँ गन्छ अशक्त वृद्ध
लाठी चलाए रँगिलाहरूले

आफन्तले मात्र भरिन्छ ठाउँ
के आश गर्ने गतिलाहरूले

जो चाकडी गर्छ उही छ राम्रो
पाए प्रतिष्ठा सजिलाहरूले

खानापिनामै छ बजेट स्वाहा
खाए डकारे कबिलाहरूले

कोही छ भोको नबलेर चुल्हो
कोही छ टन्नै कुरिलाहरूले

वास्ता कतै छैन गुणी कुराको
छोपिन्छ नाली रुदिलाहरूले

चिन्दैन राम्रो अथवा नराम्रो
बालिन्छ आगो दुधिलाहरूले

कच्चा भए चालक देश हाँक्ने
के चल्छ गाडी कलिलाहरूले

लाग्दैन यो देश उँभो यसोरी
ठप्पै छ सुस्ती र ढिलाहरूले

याँ बोलवाला छ कृतघ्नताको
खाए पिटाइ गुनिलाहरूले

छोपेर छोपिन्न कदापि घाउ
प्रष्टिन्छ पीडा टुटिलाहरूले

(छन्द:-इन्द्रवज्रा)
५ मा विश्राम

-कोमल भट्ट
च.न.पा.१३
पुरानो नैकाप,काठमाडौँ,
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया