छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ लण्डनमा भव्यताका साथ सम्पन्न

इनेप्लिज २०७६ साउन २६ गते २१:३७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ३–५ अगष्ट २०१९ लण्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरूबाट ७० जनाभन्दा बढी नेपाली भाषी साहित्यकारहरू अनेसास च्याप्टरहरूको प्रतिनिधित्व गर्दै बेलायत पुगेका थिए ।

लण्डनको दक्षिण पूर्वी शहर वेलिंगमा भएको सम्मेलनको पूर्व सन्ध्यामा लन्डन आइपुगेका साहित्यकारहरूको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । वेलिंगको फाल्कनहुड कम्युनिटी सेन्टरमा अगष्ट ३ मा कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायत अन्य अतिथिहरूबाट दियोमा बत्ती बालेर सुरु गरिएको थियो । कार्यक्रममा अनेसास सम्मानित व्यक्तित्व तथा विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङको उपस्थिति रहेको थियो । अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दुर्गा बहादुर सुवेदीले सभ्यताको माटो बेलायतमा यति धेरै साहित्यकारहरूको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठूलो फड्को भएको जानकारी गराए । विशिष्ट अतिथि डा. जगमान गुरुङले भाषा बाँचे संस्कृति र सभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रशंसाको पात्र रहेको बताएका थिए । उद्घाटन समारोहमा अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी राखेका थिए । अनेसासका केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्रा.डा. खगेन्द्र लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो सम्मेलनमा केन्द्रीय कार्य समितिका पदाधिकारीहरू, बिओटी प्रतिनिधि, संसारभरका च्याप्टर प्रतिनिधिहरू, लगायत अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रा मोहन सिटौला, बिओटीका सल्लाहकार प्रा.डा. दुर्गा दाहाल, साहित्यकारहरू विश्वविमोन श्रेष्ठ, गोवर्धन पूजा, कृशु क्षेत्री, कृष्ण बजगाईं, डा. रुपक श्रेष्ठ, डा. कविता लामा, डा. रेनुका थापा, डा. पुष्पा शर्मा, सुमन घिमिरे, रुद्र पौडेल, सन्ध्या पहाडी लगायत नेपाली समकालीन साहित्यमा कलम चलाउने सयाँै व्यक्तित्वहरूको अभूतपूर्व जमघट रहेको थियो ।

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव मालती सम्मान तथा पुरस्कार बरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा. प्रा. दुर्गा दाहाल मार्फत हस्तान्तरण गरिएको थियो । त्यसै गरेर अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ, कलामा मदन दाश श्रेष्ठ, संस्कृतिमा डा. जगमान गुरुङलाई अनेसास विशिष्ट सम्मान प्रदान गरेको थियो भने साहित्यकार डा. रुपक श्रेष्ठ, लगायत चौथो र पाँचौँ सम्मेलनका संयोजकहरू प्रकाश पौडेल र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृप्रेस उप्रेतीलाई प्रदान गरियो ।

सम्मेलनमा पहिलो दिन केही प्रतिनिधि कविता वाचन तथा कृतिहरूको विमोचन गरिएको थियो । नेपाली कथाहरूको अनुवाद सङ्ग्रह सिल्भर क्यास्केड, अन्तर्दृष्टि, प्रतिबिम्ब (बेलायत), पर्थ स्मारिका, लाभेदरका परागहरू (पोर्चुगल) लगायत यात्रा स्पर्शका अनुभूतिहरू (सुमल कुमार गुरुङ), रोटीको दन्त्य कथा (लालगोपाल सुवेदी), जीवन बासुरी (मोहन सिटौला), खाप्परेका कथाहरू (राम प्रसाद घिमिरे), अन्तर्मन अन्तर्गत (डा. कृष्णराज घतानी), मनका तरङ्गहरू (संयुक्त गीति सङ्ग्रह, साँझकी शशि (शशि थापा शुब्बा) लगायत दर्जन बढी कृतिहरू प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट विमोचित भए । बेलुका साहित्यकारहरूको सम्मानमा राजदुतावासले रात्रिभोज तथा साहित्यिक गोष्ठीको आयोजना गरेको थियो ।

सम्मेलनको दोश्रो दिनमा डा. कविता लामाले “वर्तमान नेपाली साहित्यको अवस्था” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् जसमा डा. शान्तिमाया गिरीले टिप्पणी गरेकी थिइन् । यसै गरेर दोश्रो सत्रमा बेलायतमा बसेर नेपाली भाषा तथा साहित्यको गहन अध्ययन गरेका प्रा माइकल हार्टको “नेपाली लिटरेचर पोस्ट अर्थवेक इन नेपाल” विषयक कार्यपत्र माथि सुमन घिमिरे वर्षाले टिप्पणी गरेकी थिइन् । कार्यक्रमको अन्तिम सत्रमा डा. रुपक श्रेष्ठले “डायस्पोरा र नेपाली साहित्य” विषयमा प्यानल डिस्कसन चलाएका थिए । साथै कार्यक्रममा अनेसास उपाध्यक्ष भीमसेन सापकोटाले सकारात्मक सोच बारे आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक सुमल कुमार गुरुङले सबैको साथ र सहयोगले सम्मेलन सम्पन्न भएको र यस साहित्यिक कुम्भ मेलामा संलग्न सबै साहित्यिक मनहरूप्रति आभारी रहेको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए भने अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले आपूm संयोजक रहेको घोषणापत्र समितिकोतर्फबाट पाँच बुँदे लन्डन घोषणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधँै क्रियाशील रहने बताएका थिए ।
सम्मेलनको तेस्रो तथा अन्तिम दिन महान साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्ट फोर्ड अपअन एभनको साहित्यिक यात्रामा पाहुना सहित ठूलो मात्रामा साहित्यकारहरूको सहभागिता थियो । शेक्सपियरको जन्मघरमा कविता गोष्ठी गरिएको थियो भने यात्रामा लगभग पाँच घण्टासम्म रचना वाचनको कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्य लारा राई, केन्द्रीय सदस्य सानु घिमिरे तथा आजीवन सदस्य शशि थापा सुब्बाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया