मेरो बुझाईको तिज

शशी के.सी २०७६ साउन २३ गते २२:२८ मा प्रकाशित

चाडपर्वहरू जुन अन्जानमा बच्चाबेलामा मैले बुझेको रहेछु नी, पछि बुझ्दै जाँदा त त्यो सबै कहाँ सत्य/सही हो रहेछ त।हुन त मान्छेले कुनै कुरा कि कसैले यस्तो हो है भनेर राम्रोसँग बुझाईदियो भने बुझ्छ की देखेर/ सुनेर बुझ्छ। अब हाम्रो नेपाली समाज, कहाँ हामीलाई आफुभन्दा ठुलाहरूसँग केही नबुझे सोध्ने आँट। अझ धर्मकर्मको कुरा त, केही सोधी हाल्यो भनेपनि” कति जान्ने हुनु, हामीले जे जे गर भन्यो, गर्नु” भनेपछि डरले फेरि दोर्र्याएर सोध्ने कस्को आँट, तेसैले धेरै प्रश्न अनउत्तरित नै रहै अझै पनि। साथै कति कुरा नबुझेर खुरू खुरू गरियो र अझैपनि सबैले तेही गर्छन, गर्नै पर्ने रहेछ, भन्यो,गर्यो। उदाहरण: अरू ब्रतमा रोटी खान्छन, पुर्णिमाको ब्रतमा न रोटी खान्छन न रोटी प्रसाद्घमा चढाउँछन । किन तेस्तो गरेको भनेर सोध्दा कसैले अहिलेसम्म चित्त बुझ्ने जवाफ दिन सकेका छैनन। मैले सोचेको पुर्णिमामा पुरा गोलो भएको चन्द्रमाको पुजा गरिन्छ, अनि कहाँ गोलो रोटी खानु र चढाउनु भनेर पुवा चढाएको र रोटी पनि नखाएको होला की । तेस्तै,आईतवारको ब्रतमा नुन नखाने,एकादशी अरू बार्ने तर दशैंको भोलीपल्टको किन नबार्ने आदी।

अब कुरा गर्छु” तिज”को! हुन त स्कुलले जिवन होस्टेलमै बित्यो। दशैं, तिहार बाहेक अरू चाडपर्वहरू कहिलेकाहीं छुट्टी हुँदा घर आएको बेला मनाएको सम्झना छ। साथै, आफु शहरमा नै पढे/हुर्केको, गाँउले जिवन तेती केही थाहा पनि थिएन। सानोबेलामा “तिज” भनेको मलाई लाग्थ्यो माइतबाट दाई,भाई लिन आउने रहेछन, अनि घरकाले “काम धेरै छ”भनेर जान नदिने रहेछन, तेसैले रूँदै,तिजको गीत गाएर, भोकै बसेर मनाएको रहेछ।त्यो बेला रेडियोमा पनि “ तिजमा माइती लिन आए, सासुले जान दिइन … आदीइत्यादी” बिरहकै गितहरू त धेरै बज्थ्यो। अलिक ठुलो भएपछि “तिज” भनेको चाहीं बर्षमा एकदिन, बिबाह भएको सबै महिलाहरूले रातो सारी, मेकअप गर्ने, छड्के पारेर हरियो पोते लगाउने, पानी पनि नपिउने, केही पनि नखाने पुरै दिन जस्तो लाग्थ्यो। बिबाह गर्नै कता कता डर डर जस्तो।

पछि बुझियो “तिज” भनेको पार्वतीले”महादेव”पति पाँउ भनेर, साथीहरूसंग मिलेर, केही पनि नखाई निलाहार ब्रत बसेर पुजा गरेको र महादेवसंग बिबाह भएको भन्ने रहेछ।

अब यी त भए हामीले आ-आफ्नै तरिकाले बुझ्दै गएका हाम्रा चाडपर्व, रितिरिवाज, चालचलन,धर्मकर्म । अव हाम्रा सन्तान पुस्तालाई “ तिज”को बारेमा भोको बसेर पुजा गर्नु, राम्रो पति पाउँछौ भन्नु के के पो गर्ने होलान। नेपालमा हुनेले त तै सबैले गर्छन भनेर कर, रहर र डरले ब्रत पनि लेलान, तर बिदेशतिर जन्मे, हुर्केका बच्चाहरू, एक त अर्कै परिवेशमा हुर्केका साथै हामी आफैलाई त कति कुरा थाहा नै छैन अनि कसरी सिकाउने सब। अलिक गार्हो नै देखिरहेको छु। हुन त अहिले बिस्तारै नेपालीहरू धेरै हुँदै छौं बिदेशमा पनि जताततै।पहिले पहिले नेपाली चाडपर्व भनेर दशैं, तिहारमात्र मनाएर सीमित थियो भने अब त बिभिन्न भाषाभाषी, समुदायले आ-आफ्ना चाडपर्व, इन्द्रजात्रा,ल्होत्सार, होली,जनैपुर्णे, इद आदी नेपालमा किन र कसरी मनाउँछौं भन्ने कुरा आउने पुस्तालाई मनाएर बुझाउने कोशिश त गरिरहेका छौं। तर मैले देखेको सबैभन्दा ठुलो समस्या भाषाको हो। जे जे गरेपनि तेसलाई राम्रोसँग अग्रेंजीमा अनुवाद गरेर बुझाउनु जरूरी छ न की नेपाली, नेवारी, संस्कृत आदीमा ।

अन्त्यमा, सदा झैं यो बर्षको आउँदै गरेको “तिज” को शुभकामना सबैलाई!

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया