आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०६:२१
वासिङटन डिसी 20:36

अमेरिकामा भर्जिनियाबासीको सामुदायिक भवन, चुनौतिहरु र अबको बाटो

प्रकाश नेपाल २०७६ साउन २३ गते २१:३३ मा प्रकाशित

प्रकाश नेपाल

भर्जिनियामा गत जुन महिनामा सप्ताहव्यापी “सप्ताह” समाप्त भयो। यो सप्ताहको प्रमुख उद्देश्य थियो – भर्जिनियामा बसोबास गर्ने नेपालीहरुकालागि एउटा सामुदायिक भवन बनाउने र यसका लागि पैसा उठाउने।

यो उद्देश्यको लागि नेपालबाट झिकाइएका पण्डित दीन बन्धु पोख्रेलको पण्डीत्याईमा चलेको उक्त सप्ताहमा भर्जिनियाबासीले अभूतपूर्व सहभागिता जनाए। यो सहभागिताले भर्जिनियाबासीको एकता त दर्शायो नै, त्यसको साथसाथै एकै सप्ताहमा सामुदायिक भवन बनाउन चाहिने जग्गा किन्ने पैसा उठाई आफ्नो उदेश्य तर्फ एक कदम अगाडि बढायो। करिब २० लाख डलर भन्दा बढी पैसा उठ्यो, जुन मैले कल्पना गरेको भन्दा दशौं गुणा बढी हो। यसलाई मैले अपार सफलताको रुपमा लिएको छु।

अमेरिकामा जन्मिएका अधिकांश संघ संस्थाप्रति समाजको बिश्वाश छैन, आस्था छैन। यसको मतलब सबै संघ संस्था बेकार छन् भन्न खोजेको होइन। केहि औंलामा गन्न सकिने संस्थाहरु छन्, राम्रो गरेका पनि छन्।

सांगठनिक रुपमा मुस्किलले एक हुन सक्ने कुनै नेपालीहरूको बीचमा यो सफलता कसरी सम्भव भयो त? मैले मेरा मनमा लागेका बिचारहरु यो यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।

के हुन् त यी सफलताका कारकहरू?

१. कुर्ची नहुनु अर्थात् पदको लागि हानथाप नहुनु:

यो सप्ताहमा कुनै अध्यक्ष वा उपाध्यक्ष थिएन। मंचमा पण्डित बाहेक ‘गन्य मान्य’ थिएनन्, भी.आई.पी. थिएनन्। अर्को शब्दमा भन्ने हो भने कुर्ची थिएन। अमेरिकामा भनौ वा अरु कुनै ठाउँमा पनि केबल अध्यक्ष हुनुको लागि हानथाप भई रहेको देखिन्छ र आफू अध्यक्ष भएपछि त्यो संस्थाको उद्देश्य र कामप्रति त्यति लगाव देखिँदैन। तर यो सप्ताहमा “सबै स्वयंसेवक, सबै सदस्य” भन्ने अरु भन्दा फरक सुत्रमा अगाडी बढे। सबै स्वतस्फूर्तरुपमा स्वयम सेवक भए र हातेमालो गरी अगाडी बढे। यही नै सफलताको मुख्य कडी भन्यो। अमेरिकामा जन्मेका सयौं च्याउ झैँ उम्रेका र माखो मार्न नसकेका संस्थाहरूकोलागि यो एउटा गतिलो सबक थियो।

२. सबैको विचारलाई सम्मान:

“सबै स्वयंसेवक, सबै सदस्य” विचार सुत्रका साथ अगाडि बढेको यो संस्थामा अध्यक्ष पद नभएपछि सबै स्वतस्फूर्तरुपमा अगाडि आए, स्वतस्फूर्तरुपमा काम गरे। “तँ भन्दा म ठूलो” भन्ने भावना भएन र एकआपसमा राम्रो सद्भाव जन्मियो। सप्ताह तयारीको सिलसिलामा धेरै मीटिंगहरु भए र ति मीटिंगहरुमा सबैले आफ्ना भावनाहरु प्रष्टरुपमा राख्ने मौका पाए। ति भावना उपर छलफल भए र निचोड निस्किए। एक आपसमा भावनाहरूको विचारहरूको कदर भयो र सबैले अपनत्व महसुस गरे, आफु प्रतिको सम्मान महशुस गरे। जहाँ अपनत्व महसुस हुन्छ, विचार पनि मिल्छ, अनि ठुला ठुला कामहरु पनि सजिलै गर्न सकिन्छ। यहाँ भएको पनि त्यही नै हो। चाहे डाक्टर होस्, चाहे इन्जिनिर होस्, चाहे एकाउन्टेन्ट होस्, चाहे बाजा बजाउने होस्, चाहे नाच्ने होस्, चाहे ताली बजाउने होस सवैले आफ्नो क्षेत्रबाट योगदान गरे।

चुनौतीहरु:

आगामी अगस्त ११ गते, आइतबार साधारणसभा आह्वान गरिएको छ। कतै कतै सुन्नमा आएको छ कि अब कार्यकारी समिति बनाउने अथवा अर्को अर्थमा अध्यक्ष उपाध्यक्ष लगायतका पदहरु को सिर्जना गर्ने। यो होहल्ला सँगसँगै को अध्यक्ष बन्ने भन्ने कुराको होडबाजी चल्न सुरु भएको कुराले बजार तताएको छ। अझै दुखलाग्दो कुरो के पनि सुन्नमा आएको छ भने नेपालका राजनैतिक पार्टीका भातृ संगठनहरु आफ्ना मान्छे राखेर कार्यकारी समिति बनाउनलाई लागिपरेका छन्।

“अध्यक्ष को बन्ने?” भन्ने यस हल्लाको साथसाथै भर्जिनिया बासी नेपालीहरु त्रसित बन्न थालेका छन्। नेतृत्वको होडबाजीले वाक्क दिक्क भएका भर्जिनिया बासीहरु त्रसित हुनु स्वाभाविकै पनि हो। “सबै स्वयंसेवक, सबै सदस्य” भन्ने सूत्रले राम्ररी काम गरिरहेको बेलामा यो हल्लाले कसैलाई पनि खुसी तुल्याएको छैन। चुनाब हुनासाथ वा कार्यकारी समिति गठन हुनासाथ स्वयंसेवकहरु वा सदस्यहरूमा अपनत्व गुमाएर निष्क्रिय हुने सम्भावना बढेर जान्छ। जब अपनत्व हराउँछ, तब काम गर्ने जाँगर पनि मरेर जान्छ। चुनाव गराउन अथवा कार्यकारी समिति गठन गर्नु को अर्थ हुन्छ – सबैको जाँगरलाई हतोत्साहित गर्नु।

अबको बाटो:

अब प्रश्न उठ्न सक्छ, त्यसोभए के “मियो बिनाको दाइँ” भएरै जाने त? होइन- “मियो बिनाको दाँइ” होइन, हुदैन। यदि “मियो बिनाको दाँइ” हुँदो हो त अहिले पनि त हुनुपर्ने हो- तर त्यसको उल्टो अपार सफलताका साथ् सप्ताह सम्पन्न भयो। अब हाम्रो बाटो भनेको कार्यकारी समितीको सट्टा ७ देखि ९ जनाको बोर्ड बनाउने (तर अध्यक्ष कोहि हुदैन- सबै सदस्यहरु मात्र हुन्छन)। त्यो बोर्डले आबस्यकता अनुसार बिभिन्न समितीहरु बनाउछ। अनि त्यसै अनुसार काम अगाढी बद्छ। यो एउटा राम्रो बिकल्प हुन सक्छ।

अब अर्को प्रश्न उठ्ला, कार्यकारी समिति नबनाउँदा विधान सम्वत हुँदैन, अनि के गर्ने?

पहिलो कुरो हो- अहिले अहिलेको विधान प्रस्तावित विधान हो । यो विधानलाई साधारणसभामा सदस्यहरुले पास गर्नुपर्ने हुन्छ। अहिले अगस्त ११ साधारणसभा बस्दैछ । आखिरमा विधान भनेको हाम्रो हितमा, हामीलाई सुहाउँदो हुनपर्दछ, अनि यो पनि तपाई हामीहरुले नै बनाउने हो। । हामीलाई विधानमा के कुरा राख्दा काम गर्न सजिलो हुन्छ र सफल भइन्छ त्यही कुरा विधानमा हुनुपर्ने हुन्छ। त्यसैले अब त्यो विधानमा हामीलाई सुहाउदो र काम गर्न कसरी सजिलो हुन्छ, ति कुराहरु राखेर थप घट गर्नु पर्ने हुन्छ। हामी विधानकोलागि होइन, विधान हाम्रोलागि हो।

यसको मतलब के कार्यकारी समिति नै नबनाउने त?

बनाउनुपर्छ, तर अहिले हैन. अहिले कार्यकारी समितिको सट्टा हामीलाई चाहिने एउटा बोर्ड बनाऊ, त्यो बोर्डले आवस्यकता अनुसार विभिन्न समितिहरु बनाउछ। उदाहरणको लागि सामुदायिक भवन को लागि जग्गा खोज्ने कामको एउटा समिति होला, त्यस्तै लेखा समिति, आर्थिक संकलन समिति, अनुगमन समिति, समन्वय समिति, कानून समिति, इन्जिनिरिंग समिति, आदि इत्यादि.

त्यसो भए कतिपय ठाउँहरुमा दस्तखत (Signature) गर्नु पर्ला, कागज पत्रका काम काजहरुमा अनुमति लगायतका कुराहरु आउलान, के गर्ने त?

उत्तर सजिलो छ – त्यो काम गठन गरिएको बोर्डले नै आबस्यकता अनुसार एकजना तोक्छ र कुनै काम रोकिदैन। कुनै अफ्ठ्यारो परेको खण्डमा बोर्ड समाजको विचार बुझेर अगाढी बद्छ, जुन अहिले पनि भई नै राखेको छ।

जब हाम्रा कामहरु एउटा ट्र्याकमा आइसकेपछि अनि हामीले कार्यसमिति बनाउने बारेमा सोच्न सक्छौ।

अन्तमा, धेरै बर्ष पछि भर्जिनियाबासीले एकता देखाएका छन्, जाँगर देखाएका छन्। धमिलो पानीमा माछा मार्ने नेता प्रवृतिलाई हामीहरुले परास्त गर्ने पर्छ, भर्जिनियाबासीको एकतालाई भत्काउनु दिनु हुदैन। बल्ल बल्ल जागेको आशालाई मर्न दिनु हुदैन। यसर्थ, नेता हुने प्रवृतिलाई एकछिन थाति राखेर सबै एक जुट हुनु पर्छ र दाजु भाई दिदी बहिनिको रुपमा हातेमालो गरि हाम्रो काम फत्ते गर्नु पर्छ। अहिलेको हाम्रो आबस्यकता यहि नै हो।

प्रतिक्रिया