संबिधान दिवसकै दिन संसद भवन अगाडी संबिधान जलाउने अभियन्ता देउजाको चेतावनी

इनेप्लिज २०७६ साउन १२ गते १३:५६ मा प्रकाशित

काठमाडौँ, साउन १२: वीर गोर्खाली अभियानका अभियन्ता नगेन्द्र देउजाले असोज ३ गते संबिधान दिवसकै दिन संसद भवन अगाडी नेपालको संबिधान २०७२ जलाउने चेतावनी दिएका छन। राजधानीमा आयोजित एक जागरण कार्यक्रममा सरकारले भ्रस्टाचारलाई संस्थागत गरेको र दण्डहिनता अन्त्य गर्न नसकेको भन्दै नेपाली जनताले अब सरकारलाई घुडा टेकाउनु पर्ने बताएका छन। पछिल्लो समय सुनियोजित रुपमा योजनावद्ध ढंगले सनातन धर्ममाथिको निरन्तर प्रहार र बुद्ध मुर्ति भत्काएको प्रति सरकारी निकायबाट गैर जिम्मेवारपूर्ण अभिव्यक्ति सार्वजनिक भएको भन्दै यसको बिरुद्धमा वीर गोर्खाली अभियानले जागरण कार्यक्रम आयोजना गरेको हो।

भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलको नेपालमा उच्चस्तरिय राजनीतिक भेटघाटको बारेमा कुरा गर्दै गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको खबर कपोलकल्पित र भ्रामक भएको बताएका छन। कार्यक्रममा बोल्दै देउजाले पूर्वराजाले आजसम्म रअको एजेन्ट नभेटेको ठोकुवा गर्दै नेताहरु भारतीय गुप्तचर संस्थाका प्रमुखको पछि लाग्नु लज्जास्पद भएको बताएका हुन् ।

०६२/०६३ आन्दोलनको क्रममा राजसंस्था र हिन्दु अधिराज्य हटाउने भनेर जनताले आन्दोलन नगरेको तर आज सत्तालिप्सामा केन्द्रित राजनीतिक दलहरुले भ्रस्टाचारलाई संस्थागत गरेको समेत उनले आरोप लगाए। निर्मला हत्या प्रकरण १ बर्ष बित्दा समेत हत्यारा पत्ता नलाग्नु दुखदायी भएको भन्दै गृहमन्त्रीले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएकोमा यसको निन्दा समेत गरे।

विगतमा झैँ फेरी पनि अभियन्ता देउजाले बिप्लव नेतृत्वको नेकपालाई हिंसाको राजनीति त्यागेर वीर गोर्खालीको शान्तिपूर्ण अभियानमा साथ दिन अनुरोध गरे। वीर गोर्खाली अभियानले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि अभियान चलाउदै आएको छ।

प्रतिक्रिया