जापानको नियात्रा लिएर बजगाईं आए

इनेप्लिज २०७६ साउन १० गते २१:५३ मा प्रकाशित


२६ जुलाई, लन्डन

जापान सम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ बेलायतवासी साहित्यकार कृष्ण बजगाईंले प्रसिद्ध बेलायती कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेर, बेलायतमा आफैले सार्वजनिक गरेका छन् । फरक धारको अनुसन्धानमूलक नियात्रा लेखनमा ख्याति कमाएका बजगाईले उक्त सङ्ग्रहमा आफ्नो जापान यात्राका अनुभूतिहरु समेटेका छन् ।

उनले दाइबुचुमा जापानी कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । उक्त सङ्ग्रहमा जापानी निबन्धकलाको झलक पढ्न पाइन्छ । एघार वटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रासङ्ग्रह हो । यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

बेलायत निवासी डायोस्पोराका सक्रिय लेखक बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा लामो समयदेखि क्रियाशिल छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाई विगत तेह्र वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।

प्रतिक्रिया