अस्ट्रियाको एनआरएनको नेतृत्व बिनोद चौलागाईको नेतृत्वमा

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ साउन ७ गते २१:२७ मा प्रकाशित

अस्ट्रियाको एनआरएनले हिजोबाट नयां नेतृत्व पाएको छ। जन्मभुमी नेपालमा राजनीतिक परिवेशमा युवाहरुलाई वैकल्पिक शक्तिको रुपमा प्रोत्साहन गर्ने अभियानको शुरु भएसंगै अस्ट्रियाको एनआरएनको नेतृत्वको जिम्मेवारी समाजसेवामा सकृय युवा बिनोद चौलागाईको काधमा थपिएको छ। आफ्ना प्रतिद्वन्द्वीलाई १९ भोटले उछिनेर २०१९ देखि २०२१ सम्म १९ जनाको समुहलाई एकसाथ लिएर हिड्ने अठोट स्पष्ट र प्रखर वक्ता बिनोद चौलागाईले गर्नु भएको छ।

समाज सेवालाई धर्म सम्झिने चौलागाईको नेतृत्व एनआरएनलाई कतिको फलदायी हुनेछ, त्यो त समयको चक्रले देखाउने नै छ किनकी एनआरएन अस्ट्रियालाई कुन बाटोमा कसरी अगाडी बढाउने यो आफैमा चुनौती पुर्ण विषय हो।

विना योजना अगाडी बढ्न खोज्नु वा समुहगतरुपमा संगठनलाई विकास गर्न खोज्नु विगतका वर्षहरुको तीता अनुभवहरु हुन। विगतमा प्रवासी जीवन बिताईरहेका नेपालीहरुलाई एनआरएनकाे सार्वजनिक पदमा रहेकाहरुले नै निरुत्साहित गर्ने, सार्वजनिकरुपमा अपहेलना वा व्यक्तिगत जीवनका झुठा घटनाहरुलाई जोडेर समाजबाट अलग्याउन खोज्ने थुप्रै उदाहरण नभएका होइनन्। प्रवासी नेपालीहरुबीच एनआरएन अस्ट्रिया भन्दा पनि समुहगतरुपमा खोलिएका निजी संगठनहरु लोकप्रिय हुनुको वा नेपालीहरुको पर्याप्त सहभागिता नहुनुको कारण पनि यही हो।

अस्ट्रियामा नेपाली समाज सानो भएता पनि समाज राजनैतिक विचारधारा लगायत जातीय विभेद र अन्य विविध कारणले विभिन्न समुहमा विभाजित छ। यति सानो समाज विभिन्न समुहमा विभाजित हुनु र आजसम्म कुनै पनि नेतृत्वले विभिन्न समुहमा विभाजित समुहसंगठनलाई एकत्रित गर्न नसक्नु विगतका नेतृत्वका कमजोरी हुन्। चार जात छत्तीस वर्णको साझा फुलबारीको रुपमा आफुलाई स्थापित गर्नु यो नेतृत्वको पहिलो चुनौती हो। एनआरएन अस्ट्रीयामा प्रवासी जीवन बिताई रहेका नेपालीहरुको साझा संगठन हो। यो संगठनमा विना संकोच र विना डर स्वतन्त्ररुपमा सकृय हुने वातावरण बनाउन सक्नु नयां नेतृत्वको दोस्रो चुनौती हो।

एनआरएन सदस्यता सम्बन्धी मुद्दालाई पारदर्शिता दिलाउनु अत्यन्त जरुरी छ। चुनावको बेलामा अन्तिम अवस्थामा सदस्यता लिन आग्रह गर्नु, चुनावको दिनसम्म मतदान केन्द्रमै नाम छुटेछ भन्दै मतदाता बटुल्नु कुनै प्रजातांत्रिक प्रक्रिया भित्र पर्दैन। कतिपय दोस्रो पुस्ताका प्रवासी नेपालीहरु नेपाली भाषा लेखपढ गर्न नजान्ने हुदां मतपत्र दुवै नेपाली र जर्मन भाषामा लेखिएको खण्डमा मतदान केन्द्रमा शान्ति छाउछ। जसरी एनआरएन सदस्यहरुको सकृय सहभागिता जरुरी त्यसै गरी निर्वाचित सदस्यहरुको अनिवार्य सहभागिता पनि जरुरी छ। एनआरएनका मिटिगं, सभासमारोहमा निर्वाचित सदस्यहरुको हाजिरीको व्यवस्था गरी त्यसलाई सार्वजनिक गर्दा एनआरएन प्रति जनविश्वास बढ्छ किनकि विगतका वर्षहरुमा नामको लागी मात्रै वा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न मात्र संगठनको पद ओगटेर बसेको अनुभव धेरैको छ।

दरिलो आत्मविश्वास भएका युवाशक्ति बिनोद चौलागाईले हाक्ने यो एनआरएनको सवारी आफ्नो गन्तव्यसम्म पुगोस, नवनिर्वाचित सबैमा सफल कार्यकालको शुभकामना!

इनेप्लिजको लागी ,बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रियाबाट

प्रतिक्रिया