जिम खाना

-गुणराज लुइटेल, भर्जिनिया २०७६ साउन ७ गते ०:४६ मा प्रकाशित

जिम खाना पसेको पनि

आज १९ वर्ष बितेछ

जिम पसेर वजन घटाउने हो

पसिना निकाल्ने हो

जिउलाई थकाउने हो

हरेक मसललाई हल्लाउने हो

बोसोलाई पगाल्ने हो

सकेसम्म खिरिलो हुने हो

वजन घटाएं नि भनेर

अरुलाई गड्डी लगाउने हो

सव वे, ग्यास र सेबेन इलेबेनमा

सवै भन्दा कडा एक्सरसाइज हुने गर्छ

जीवनका हरेक सपनामा

सुगर र कोलेष्टोरलले जकडाएको

मेरो शरीरलाई

१९ वर्ष अघि नै डाक्टरले भने अनुसार

कडा भन्दा कडा

एक्सरसाइज चाहिन्छ

देशको विषम परिवेशले

हल्लिएको मेरो मुटुलाई

बलियो, दर्हो र खरो बनाउन

कुद्ने, दौडिने पनि गर्नु पर्दछ

त्यसैले बॉच्नका लागि

म जिम खाना पसेको छु

तन्दुरूस्तीका लागि

म जिम खानामा उदुम्

एक्सरसाइज गरिरहेछु

कतै मन भावुक बन्न खोजे

कतै आमाकै सम्झना आए

कतै आराम र आनन्दको कल्पना भए

कतै पाखा, पखेरा र छहराको याद आए

म उही डाक्टरले भनेको सम्झन्छु र

फेरि निरन्तर गतिका साथ

एक्सरसाइजमा डटिरहन्छु

देशमा अन्याय र अत्याचार हुंदा

मन अमिलिएर आउंछ

अनि मेशिनको ट्रेड मिलमा

कति खुइकिन्छु कति

पत्तै हुंदैन

शरीरमा उब्जिएको प्रतिशोधको उर्जालाई

टाइलोनल खाएरै भए पनि

जिमखानाका थरिथरी साधनहरु

घिच्याउन, तान्न र ठेल्नमा लगाउंछु

शरीरलाई शख्त थकित बनाउछु

फेरि शरीरमा पुनर्ताजगी ल्याउनु पर्दछ

त्यसैले हरिया डलरका पत्ताहरु

हल्लाएर क्षणिक शीतलता अनुभूत गर्दछु

हो त नि

म जिम खाना पसेको पनि

आज १९ वर्ष बितेछ

जिम पसेर वजन घटाउने हो

पसिना निकाल्ने हो

जिउलाई थकाउने हो

हरेक मसललाई हल्लाउने हो

बोसोलाई पगाल्ने हो

सकेसम्म खिरिलो हुने हो

वजन घटाएं नि भनेर

अरुलाई गड्डी लगाउने हो

जिममा कति आनन्द छ भनेर

चारै दिशामा हल्ला फिजाउने हो

सवै सामाजिक संजालहरु रंगाइदिने हो

अरुलाई भने डाहै डाह भरिदिने हो

जिमखानाको दौडाई संगै

सुगर र कोलेस्टोरल घटाउन

ट्याब्लेट पनि खानु पर्छ

मोर्गेज, ईन्सुरेन्स, कारको किस्ताबन्दी र ग्रोसरी नामका

ट्याब्लेटले पनि वजनलाई

सन्तुलित गरिरहेकै छ

नेपाली पासपोर्टबाट शुरू भएको

मेरो जिमखानाको परिचयपत्र

समय अनुसार परिवर्तन हुंदै

आज अमेरिकी पासपोर्टमा बदलिएको छ

भाग्यको गतिमा खासै सुधार नभए पनि

वास्तविकताको लडाई हरेक दिन चलिरहेछ

जीवन बॉच्नु छ

रोग निवारण गर्नु छ

आशा र उमंगलाई सुगरफ्री बनाउनुछ

सपनाहुलाई जकड्याउदै गरेको

कोलस्टरललाई निमिट्यान्न पार्नु छ

त्यसैले म जिमखाना धाइरहेको छु

धाइरहेको छु !

प्रतिक्रिया