रूसमा ‘हिमालय तथा तिब्बत अनुसन्धाता संघ’ गठन -कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७६ साउन १ गते २२:२९ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ,

यस सालको वसन्तागमनका साथै रूसको सांस्कृतिक राजधानी सेन्ट-पिर्टसबुर्गमा ‘रसियाली हिमालय तथा तिब्बत अनुसन्धाता संघ’ (‘Russian Association of Researchers on Himalaya and Tibet’) नामक रसियाली अनुसन्धानकर्ताहरूको संगठन अस्तित्वमा आएको छ । सन् २०१९ को ५ मार्च (आइतवार) का दिन आयोजित सम्मेलनमा त्यसको स्थापनाको घोषणा गरिएको थियो । यससम्बन्धी प्रकाशित प्रेस-वक्तव्यमा ‘हिमालय र तिब्बत क्षेत्र हाम्रो पृथ्वीको अझैं पनि अत्यल्प अध्ययन गरिएको व्यापक इलाका रहेको छ र अध्ययनको दृष्टिले कतिपय उच्च हिमाली इलाकाहरू त बाँझैं रहेका छन्’ भनिएको छ । ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा कार्यरत विद्वान्हरूलाई एउटै साझा संघमा संगठित गरी वैज्ञानिक क्रियाकलापको आयोजना र संयोजनको माध्यमबाट संयुक्त प्रयासद्वारा हिमालय र तिब्बत क्षेत्रको गहन अध्ययन र अनुसन्धान गर्ने उद्देश्यबाट प्रेरित भई स्थापना गरिएको यस संघको कार्यभारबारे उक्त प्रेस-विज्ञप्तिमा अंशत: निम्न कुरा जनाइएको छ :

‘वैज्ञानिक, मानविकी र सामाजिक क्षेत्रमा हिमालय र तिब्बत क्षेत्रको अध्ययनमा संलग्न रसियाली विद्वान्हरूको क्षमता आँकन गर्नु,

हिमालय-तिब्बत विषयवस्तुमा रसियाली वैज्ञानिकहरूद्वारा सम्पन्न आधुनिक अनुसन्धानको विविधताको प्रदर्शन गर्नु,

विभिन्न विशेषज्ञता र प्रभागमा छरिएर कार्य गरिरहेका हिमालय र तिब्बतको अध्ययनक्षेत्रमा संलग्न विद्वानहरूमा समन्वय कायम गर्ने लगायत विभिन्न वैज्ञानिक क्रियाकलापको संयोजन गर्नु र अन्तरवैज्ञानिक अनुसन्धानको विकास तथा वैज्ञानिकहरूबीच सहयोगका लागि योगदान पुर्‍याउनु,

हिमाल र तिब्बत क्षेत्रको अनुसन्धानमा अन्य संस्थाहरूसँग सहयोग समेत गर्दै वैज्ञानिक सम्मेलन, गोष्ठी, गोलमेच सम्मेलन, सेमिनार, सभा आदिको आयोजना गर्नु,

हिमालय र तिब्बत क्षेत्रको व्यापक स्थलगत अध्ययनका लागि अभियानको आयोजना लगायत भावी अनुसन्धानको सम्भाव्यताबारे छलफल गर्नु,
हिमाल र तिब्बत क्षेत्रको अध्ययनमा अन्तराष्ट्रिय सहयोग जुटाउन योगदान पुर्‍याउनु, विभिन्न वैज्ञानिक तथा शैक्षिक क्रियाकलाप संचालन गर्नु’ आदि ।

उक्त आयोजक सम्मेलनद्वारा रूस विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत जीवशास्त्र संस्थानका वरिष्ठ वैज्ञानिक कार्यकर्ता लेभ बोर्किनको अध्यक्षतामा नौसदस्यीय केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ । त्यस समितिमा नृवंशविज्ञान तथा मानवशास्त्र संग्रहालय (रूसी सम्राट् पिटर प्रथमद्वारा स्थापित कुन्स्तकामेरा) की वरिष्ठ वैज्ञानिक कार्यकर्ता, इतिहासशास्त्रमा महाविद्यावारिधि प्राज्ञिक उपाधिप्राप्त मार्गारिता आल्बेदिल (नवोदित संघको प्राच्यविद्या विभाग प्रमुख) का साथै वनस्पति संस्थानका वरिष्ठ वैज्ञानिक कार्यकर्ता बोरिस गान्निबाल (संघको जीवविज्ञान विभाग प्रमुख) उपाध्यक्ष रहनुभएको छ भने सरोवर विज्ञान संस्थानकी वरिष्ठ वैज्ञानिक कार्यकर्ता ताच्याना सापेल्को वैज्ञानिक सदस्य-सचिव निर्वाचित हुनुभएको छ । विश्वप्रसिद्ध राजकीय हर्मिताज संग्रहालयको प्राच्यविभागअन्तर्गत मङ्गोलिया, तिब्बत र खोटानसित सम्वन्धित सामग्रीहरूकी रेखदेखकर्ता वरिष्ठ वैज्ञानिक कार्यकर्ता युलिया एलिखिना, रूस विज्ञान प्रज्ञा-प्रतिष्ठान सुदूरपूर्व शाखाअन्तर्गत भूगर्भ तथा भूभौतिक संस्थानका वरिष्ठ वैज्ञानिक कार्यकर्ता सेर्गेइ ज्याब्रेभ, रसियाली जनमैत्री विश्वविद्यालयको पर्यावरण संकायका प्रोफेसर अलेक्सान्द्र निकोल्स्की, मास्को राजकीय विश्वविद्यालयको भूगोलशास्त्र संकायका प्रोफेसर अलेक्सेइ रोमानोभ र अन्तर्राष्ट्रिय तिब्बतविद्या अनुसन्धान संघ (International Association for Tibetan Studies, IATS) का सदस्य, ‘नर्तङ्ग’ प्रकाशनालयका प्रधान सम्पादक आन्द्रेय तेरेन्तएभ सदस्य चुनिनुभएको छ ।

आयोजक सम्मेलनले उपरोक्त ९ जना समाविष्ट केन्द्रीय व्यवस्थापन समिति चयन गर्नुका साथै ४३ जनालाई त्यसै समारोहमा सर्वसम्मतिद्वारा संघको सदस्यता प्रदान गरेको छ । तिनैमध्ये रूस विज्ञान प्रज्ञा-प्रतिष्ठानमा विद्यावारिधिका लागि अध्ययनकालदेखि सम्बन्धित रही वैज्ञानिक कार्यकर्ताको रूपमा कार्य समेत गरेको यो पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) ले पनि रसियाली हिमालय तथा तिब्बत अध्येता संघको सदस्यता प्राप्त गरेको तथ्य आज नेपाली पाठकवृन्दलाई सहर्ष सूचित गर्ने सुअवसर पाएको छु । स्मरण रहोस्, उक्त नवोदित संघमा रूस महासंघको विशाल भूभागमा अवस्थित ८५ ओटै संघटक प्रदेशलाई
प्रतिनिधित्व गर्ने सेन्ट-पिटर्सबुर्ग र मास्कोका अतिरिक्त आर्खान्गेल्स्क, पेरमी, ओरेनबुर्ग, इर्कुत्स्क, उलानउदे, खाबारोभ्स्क, भ्लादिभस्कोक, मागादान आदि सुदूरवर्ती शहरहरूमा बसोवास गरिरहेका र प्रज्ञा-प्रतिष्ठान, विश्वविद्यालय, अध्ययन संस्थान, संग्रहालय आदि विभिन्न प्राज्ञिक तथा शैक्षिक संस्थाहरूमा कार्यरत वैज्ञानिकहरूका साथै वैज्ञानिक समूह र निजी क्षेत्रमा अनुसन्धानरत विद्वान्हरू समेत गरी विभिन्न विषयका अनुसन्धाता ६६ जना विद्वान्-विदुषी सदस्यहरूमध्ये २६ जना महाविद्यावारिधि (डक्टरेट) प्राज्ञिक उपाधिधारी विद्वान् र विदुषीहरू छन् । प्राच्यविद्याको जिम्मेवारी संघका उपाध्यक्ष, इतिहासशास्त्रमा महाविद्यावारिधीप्राप्त विदुषी मार्गारिता आल्बेदिललाई सुम्पिएको छ ।

रूसको उत्तरी राजधानी भनिने सेन्ट-पिटर्सबुर्गमा ४ महीनाअघि मात्र नेपाललगायत हिमाल तथा तिब्बत क्षेत्रको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको संघ स्यापनार्थ सम्पन्न भएको आयोजक सम्मेलनले संघको विधान पारित गर्नुका साथै रसियाली विद्वान्-विदुषीहरूलाई सदस्यता ग्रहण गर्नका लागि आह्वान समेत गरेको छ र सन् २०२० को नभेम्बरमा सेन्ट-पिर्टसबुर्गमै रसियाली हिमालय तथा तिब्बत अनुसन्धाता संघको प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय लिएको छ ।

के पनि उल्लेखनीय छ भने यस नवोदित संघका संस्थापक अध्यक्ष लेभ बोर्किनले सेन्ट-पिर्टसबुर्ग वैज्ञानिक संघको प्रतिनिधमण्डलको नेतृत्व गरेर सन् २०१७ को डिसम्बर महीनामा नेपालको यात्रा गर्नुभएको थियो । मसंगको कुराकानीमा उहाँले सेन्ट-पिर्टसबुर्ग वैज्ञानिक संघ तथा काठमाडौंस्थित विज्ञानको इतिहाससम्बन्धी संग्रहालयबीच जीवशास्त्र, वनस्पतिशास्त्र, भूगोल आदि विषयहरूसहित विज्ञानका विभिन्न क्षेत्रमा सहयोगबारे सम्झौतामा हस्ताक्षर भएको जनाउँदै

काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रमा आयोजित भेटघाट कार्यक्रममा नेपाली विद्वान्हरूले रूससँग सहयोग विकासप्रति निकै अभिरुचि देखाएको चर्चा गर्नुभएको थियो र ‘हाम्रो बहुआयामिक अनुसन्धान संघको स्थापनाबारे समाचार नेपाली पाठकवृन्दलाई उपयोगी हुनेछ’ भन्ने विचार पनि व्यक्त गर्नुभएको थियो । रसियाली हिमाल तथा तिब्बत अध्येता संघले प्रेस-विज्ञप्तिमार्फत् विशाल हिमाल-तिब्बत क्षेत्रको बहुआयामिक विविध प्राकृतिक र बौद्धिक सम्पदा तथा बहुरूपी नृवंशात्मक जनजातिको बहुपक्षीय अध्ययनमा अभिरुचि राख्ने देशविदेशका सबै विद्वान् र संस्थाहरूसँग सहयोग गर्ने तत्परता व्यक्त गरेको छ ।

मिति : १४ जुलाई २०१९ (शुक्रवार),

मस्को, रूस महासंघ ।

प्रतिक्रिया