सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:०२
वासिङटन डिसी 13:17

बनेपामा पहिरोको उच्च जोखिममा रहेका पाँच परिवारले घर छाडे

इनेप्लिज २०७६ असार २९ गते ९:३३ मा प्रकाशित

बनेपा, २९ असार ।  अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’

वडाध्यक्ष गौतमले भन्नुभयो, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागार्इं र नवराज चौलागार्इंले घर छोडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उहाँले बताउनुभयो ।

उता वडा नं– ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागार्इंको घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । ‘उहाँहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागार्इं र वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै वडा नं– ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताउनुभयो ।

प्रतिक्रिया