असल चालकको खडेरी

इनेप्लिज २०७६ असार २९ गते ९:२० मा प्रकाशित

काठमाडौँ, असार २९ गते । ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुग्नुभएका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा पर्नुभयो ।
चालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उहाँ आश्चर्यमा पर्नुभएको हो । पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिनुभएको थियो ।
यस्तै रोचक घटना कुलेश्वरमा खाद्य थोक व्यापार गर्दै आउनुभएका सर्लाही हरिवनका युनिस अन्सारीले पनि ब्यहोर्नु प¥यो । करिब एक महिनासम्म आफ्नो गाडी र चालक बेपत्ता भएपछि उहाँ प्रहरीमा पुग्नुभयो । खोज्दै जाँदा एउटा स्कुटीलाई ठक्कर दिएर चालक फरार भई गाडी प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा फेला प¥योे ।
दुई सवारी धनीका अनुसार इमानदार र असल चालकको खडेरी नै छ । “गाडी दुर्घटनामा प¥यो भनेका थिए”, व्यवसायी अन्सारीले भन्नुभयो, “चालक त ज्यान जोगाउन भन्दै गाडी सडकमै छोडेर भागेछ, मोबाइलसमेत बन्द गरेको छ । ”
सार्वजनिक तथा निजी यातायात सेवामा आबद्ध चालकहरू ट्राफिक नियमप्रति प्रतिबद्ध, पेसाप्रति इमानदार र दुर्घटनाप्रति सचेत हुँदैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोजकुमार सिटौला राम्रो सवारी चालकको अभाव खट्किएको बताउनुहुन्छ । अलि पढेलेखेका र इमानदार चालकहरू विदेश पलायन हुन्छन् या त आफ्नै सवारी चलाउँछन्, बाँकी भएकाहरू सरकारी (सवारीचालक) जागिर खान्छन् । सार्वजनिक तथा निजी क्षेत्रको यातायात सेवाका अधिकांश चालक सिकारु र सामान्य साक्षर व्यक्ति धेरै भएको पाइएको छ ।
“राम्रो र नराम्रो चालक बोली, व्यवहार र सवारी हाँक्ने शैलीबाट छुट्टिन्छन्”, उहाँले भन्नुभयो, “स्मार्ट लाइसेन्स वितरण प्रक्रिया ढिलो हुँदा पनि चालकको समस्या देखिएको हो । हेभी सवारी चालकका लागि वैदेशिक रोजगार सुनौलो अवसर बन्ने गरेको छ । ” राम्रा चालक पलायन हुँदा सहचालकलाई (खलासी) चालक बनाउनु परेको पीडा यातायात व्यवसायीको छ । निजी तथा सार्वजनिक यातायातका सवारी चालकहरूमा दिउँसै मदिरा पिउने समस्या बढी देखिएको उहाँको दाबी छ ।
मदिरा र लागूऔषधको कुलतमा फसेकाहरू चालक बन्दा ट्राफिक नियम उल्लङ्घन, तीव्र गति, दुर्घटना, यात्रु तथा मालिकमाथि दुव्र्यवहार हुने गरेको भनाइ ट्राफिक प्रहरीको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार इमानदार चालकको अभावका कारण सवारी कारबाही सङ्ख्या अधिक हुने छ । स्कुल, कलेज, एम्बुलेन्स, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्थामा आबद्ध धेरैजसो चालकले दिउँसै मदिरा पिएर सवारी चलाउने गरेको पाइएको छ । ट्राफिक प्रहरीको आँखा नपर्ने यस्ता सवारी चालकमाथि छड्के कारबाही हुनुपर्ने सुझाव सर्वसाधारणको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दैनिक १२ लाख सवारी साधन गुड्ने गरेको अनुमान छ । तीमध्ये वर्षमा करिब एक लाख १५ हजार कारबाहीमा पर्छन् । आर्थिक वर्ष २०७५÷७६ मा मात्र मापसेमा ३० हजार सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै लेन अनुशासनमा ३८ हजार, हर्नमा १४ हजार ७८१, सवारी साधनको अवस्था ठीक नभएकोमा १३ हजार १२, दुर्घटनामा सात हजार ६९२, तीव्र गतिमा २६९, गलत साइडबाट ओभरटेकमा दुई सय, जेब्रा क्रसिङमा छ हजार चार सय र यात्रुमाथि दुव्र्यवहार गरेको अभियोगमा एक सय चालकलाई कारबाही भएको छ ।
सवारी ऐनले चालक अनुमति पत्र लिन शैक्षिक योग्यता तोकेको छैन । नागरिकता प्रमाणपत्र भएमा आवश्यक प्रक्रिया पूरा गरी सवारी चालक अनुमति पत्र लिन सकिने व्यवस्था गरेको छ । शैक्षिक योग्यता, शारीरिक अवस्था (दृष्टिविहीनबाहेक) र लागूऔषध दुव्र्यसनीको लतलाई हेरिँदैन ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार चालकको शैक्षिक योग्यता तोक्दा राम्रो हुन्छ । यसअघि १२ कक्षासम्म राख्ने निर्णयको यातायात व्यवसायीले विरोध गरे । विभागले नौ लाख ५८ हजार १७ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ ।
स्मार्ट लाइसेन्सले चालकलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । कारबाहीदेखि नवीकरणको रेकर्ड कार्डमै उल्लेख हुने भएकाले गल्ती दोहो¥याउने अवस्था आउँदैन । सहसचिव खनालले भन्नुभयो, “कानुनको प्रभावकारी कार्यान्वयन नै गल्ती दोहोरिन नदिने राम्रो उपचार हो । ” यातायात सेवालाई सुरक्षित, अनुशासित, व्यवस्थित र मर्यादित बनाउन यातायात व्यवसायी तथा सवारी धनी, सवारी चालक, यात्रु र ट्राफिक प्रहरी जिम्मेवार हुन आवश्यक रहेको आँैल्याउनुहुन्छ उपभोक्ता अधिकारकर्मी अधिवक्ता विक्रम कुँवर । सार्वजनिक यातायत प्रयोगमा सवारी चालकको मात्र होइन, सर्वसाधारण र यात्रुको पनि गल्ती हुने गरेको छ । ट्राफिक नियम पालना नगर्ने, सार्वजनिक यातायातलाई आफूखुसी प्रयोग गर्न खोज्ने (रोक्न र ओराल्न लगाउने ) र आफूमाथि परेको समस्याका विषयमा समयमै उजुरी नगर्ने रहेको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया