शिक्षकको समस्या समाधान हुने : संगठन अध्यक्ष शर्मा

इनेप्लिज २०७६ असार २३ गते २३:१७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकको समस्या समाधान हुने बताएका छन् । संगठनको २२औँ जिल्ला परिषद्को जय किसान मावि धरहरीमा उद्घाटन गर्दै शर्माले देशकै पुरानो संगठन रहेकोले आफ्नो जिम्मेवारी बुझेर पनि समस्या समाधानको लागि हरेक प्रयास गर्ने बताएका छन् । शिक्षकले पनि नयाँ संविधान र संघीयतालाई स्वीकार गर्नुपर्ने शर्माको भनाइ रहेको छ ।

संगठनका जिल्ला अध्यक्ष धर्मेन्द्रकुमार सिंहको अध्यक्षतामा भएको परिषद्लाई सम्बोधन गर्दै प्रदेश दुई इन्चार्ज हरि काफ्लेले शिक्षा क्षेत्रमा अनेक किसिमका विकृतिहरु रहेकाले शिक्षकहरु नै समाधान गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

परिषद्लाई सम्बोधन गर्दै नेकपाका जिल्ला सदस्य जयचन्द पटेल, नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादव तथा हिस्टुनका केन्द्रीय सचिव मनोज निधिले शिक्षकका अगाडि अनेक किसिमका समस्या रहेकोले संघीय सरकारले समस्या समाधान करेला लागि पर्नेमा संघीय सरकारले शिक्षा क्षेत्रलाई नै उपेक्षा गरेको आरोप लगाएका छन् । नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्य मणिशंकर लाल निधिले शिक्षकको समस्या समाधानको लागि महासंघ सदैव प्रयासरत रहेको बताएका छन् । बालविकास सहयोगी कार्यकर्ताका प्रतिनिधि रिना पटेल, राहत शिक्षक संघर्ष समिति रौतहटका अध्यक्ष रामानन्द प्रसाद यादव, संगठनका पूर्व जिल्ला अध्यक्ष देवानन्द चौधरी, केन्द्रीय प्रतिनिधि तारा यादव, पेसागत संगठन महासंघ रौतहटका अध्यक्ष विश्वनाथ साह लगायतकाले मन्तव्य राख्दै शिक्षकका विभिन्न समस्यामाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा तीन सयभन्दा बढी शिक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया