बिहीबार, साउन २ २०७६
काठमाडौं २३:२५
वासिङटन डिसी 13:40

बिचरा! फलामे डोरी कै कारण कोहि छैन आफ्नो भन्नु | Exclusive Report about Shiva Kumal

इनेप्लिज २०७६ असार २३ गते १०:३४ मा प्रकाशित

मन गुरुङ

भनिन्छ मानिस आफैमा पुर्ण हुन्छ। तर आज हामीले त्यहि पूर्ण मानिसको अपुर्ण कथा लिएर उपस्थित भएका छौं। कथा हो, पाल्पा जिल्ला रेब्दीकोट गाउपालिका वार्ड न. १ स्थित जोगीथुमका ७ बर्षीय शिव कुमाल को। कुमाल सुमदायको बाक्लो बस्ति रहेको जोगिथुम गाउँ तानसेन बाट ४१ किलोमिटर दक्षिणमा पर्छ। हाम्रो टिम त्यो गाउँ सम्म पुग्नका लागि पाल्पाको तान्सेन बाट सिलाङ्गथोक, हरथोक, भैरव स्थान, देउराली बाजार हुदै गुल्मीको रिडीमा पुग्यौं। त्यस पछि रिडी बाट फेरी ७ किलोमिटर दक्षिण लाग्यौं। अत्यन्तै अफ्ट्यारो भौगोलिक बनावट रहेको जोगिथुम सम्म पुग्नका लागि हामीलाई धेरै कठिन भयो। तर त्यहाँका स्थानियाहरुको संघर्षका अगाडि हामीले भोगेको कठिन यात्रा केहि ठहरिन्न। जसोतसो कुमाल गाउँमा पुग्न साथ रेब्दिकोट गाउपालिका वार्ड न. १ का वडा सदस्य हुमा कुमाल संग हाम्रो भेट भयो। उहाँ संगको सामान्य कुराकानी पछि हामि लाग्यौं ८ बर्षीय शिव कुमालको घर तर्फ। शिवको घरमा पुग्दा घर नजिकैको छाप्रोको खाबोमा शिवको खुट्टामा साङ्ग्लोले बाँधिएको हामीले देख्यौं।

हामी त्यहाँ पुग्न साथ उ कराउदै उफ्रिन थाल्यो। उसको त्यो अभिव्यक्ति हामीले बुझ्न सकिनौं। ५ जना सदस्य रहेको त्यो घरममा शिव एक्लै थिए। शिवका बुवा रोजगारीको शिलशिलामा विदेशमा हुनुहुन्छ। आमा पार्वती कुमाल चाहिं कान्छा छोरा बिरामी भएर उपचारका लागि तानसेन जानु भएको रहेछ। त्यसपछि हामीले शिवको बारेमा वडा सदस्य हुमा कुमाल संग कुराकानी गर्यौं ।

सामान्यतय ७ बर्षको उमेरका बालबालिकाको समय भनेको खेल्ने, रमाउने र पढ्ने उमेर हो । तर शिवका लागि पढ्नु त कल्पना बाहिरको कुरा हो उ खुलेर खेल्न र रमाउन पनि पाउदैनन् । किनकि उ शारिरिक रुपले पुर्ण भएता पनि मानसिक रुपमा अपुर्ण छन्, अशक्त छन्।

शिवको दिनचर्या एक मिटर लामो साङ्ग्लो मै बाँधिएर बित्ने गर्छ। उसको संसार भन्नु त्यहि साङ्ग्लो वरपरको ठाउँ र त्यहाँ बाट उसको आँखाले देख्न भ्याएका स्थानहरु सम्म मात्रै हो। खाना त्यहिँ दिन्छन । नदिए माटो नै खाइ दिन्छन् । गाई, भैसी, बाख्राको गोठ छेउमा उनले चार वर्ष बिताए । उ कसैले बोलेको सुन्छ तर बुझ्न सक्दैन। चारवर्षको उमेरसम्म उनी स्वस्थ थिए । त्यसपछि एकाएक एकोहोरो हुने, टोलाउने, अरुको कुरा वेवास्ता गर्ने भए पछि आमा पार्वती कुमालले उपचारका लागि तानसेन र बुटवलका बिभिन्न अस्पताल पुर्याईन् । तर कति पनि ठिक भएन । देउ देउता भाक्ने, मन्दिरमा बलि दिनेदेखी धामीझाँक्री बकाउने काम पनि भए । तर शिवमा सुधार आउन सकेन । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि राम्रो अस्पतालमा चाहेर पनि अभिभावकले लान सकेनन् । त्यसपछि कुकुर बाध्ने फलामे साङलो किनेर शिवलाई बाँध्न बाध्य भए । शिवलाई देख्ने जो कोहीको मन कटक्क हुन्छ तर उसलाई नियन्त्रण गर्न त्योभन्दा अरु विकल्प पनि भएन । पशुको जस्तै हालतमा शिवको चार वर्ष बित्यो । आमा मजदुरीमा जाने भएकाले शिवलाई साङलोमा बाधिदिएका हुन् । ‘घरमा छाडेर गयो भने कहा जान्छ कता भाग्छ थाहै हुदैन । दिसापिसावको ज्ञान पनि उनलाई छैन । हजुरआमा छेउमा आउँदा शिव काखमा जान्छन् । एकोहोरो चिच्याउँछन् । उ घरका माइलो सन्तान हो । अन्य सन्तानमा यस्तो समस्या छैन् । डाक्टरले विस्तारै निको हुन्छ भनेकाले परिवार उनको स्वास्थ्य सुधारको पखाईमा छन् ।

शिवको बारेमा कुराकानी गर्दैगर्दा गाउँ भरिमा २०-२५ जना अन्य मानिसहरु पनि विभिन्न प्रकारले अपाङ्गता रहेको जानकारी पाएपछि हामि अरु घरहरुमा पनि पुग्ने कोशिस गर्यौं।

हरेक मानिसले बाँच्ने तरिका नै उसको लागि जीवनको परिभाषा हो। एउटा संगो समुदाय भित्र यतिधेरै अपाङ्गता रहेको व्यक्ति भेटिनुको कारण ठ्याकै यहि हो भन्न सकिने अवस्था पक्कै पनि रहन्न। तर स्वास्थ्य जिवन यापन गर्न पाउनु सबैको नैसर्गिक अधिकार हो। जन्मजात कोहि व्यक्ति अपाङ्गता भएर जन्मन्छ भने त्यो अलग कुरा हुन्छ । तर जन्मपश्चात व्यक्तिमा कुनै पनि दुर्घटाना बिना नै विभिन्न प्रकारले अशक्त हुदै जानु भनेको सोचनीय विषय हो। यस बारे स्थानिय निकाय र सराकारको बेलैमा ध्यान पुग्न जरुरि देखिन्छ।

प्रतिक्रिया