अस्ट्रियाको एनआरएन सदस्यता सम्बन्धी अन्यौल

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असार २२ गते ४:३७ मा प्रकाशित

समाजमा देखिने समस्या, विसंगतीलाई नियाल्नु तिनको निकासको विकल्प औल्याई दिनु र कमीकमजोरी अनि समाधानको बाटो खोजिदिनु पनि पत्रकारीताको कर्तव्य भित्रै पर्दछ। त्यसैले म यो विषयमा कलम नचलाई बस्न सकिन्।

अस्ट्रीयामा एनआरएनको चुनावको हावा तात्दै गइरहेको छ। उमेरद्वारहरुको फेसबुक प्रचार र टेलिफोन प्रचारमा तिब्र गतिमा बढेको छ। फेसबुकमा साथीको अनुरोधको प्रस्ताव बढ्ने क्रम जारी छ।

हुन त एनआरएन सामाजिक संस्था हो तर चुनावको प्रचारप्रसार कुनै राजनीतिक पार्टीको भन्दा कम छैन। म बच्चैदेखि कुरा नबुझ्ने मुर्ख मान्छे हुं। त्यही कारण एनआरएन सामाजिक संस्था नभई राजनीतिक संस्था रहेछ भन्ने कुरा ढीलै भएपनि बुझ्ने मौका पाएँ। अस्ट्रियामा एनआरएनको दुईवटा सदस्यता हुने रहेछ एउटा भोट हाल्नको लागी र अर्को मान्यताप्राप्त केन्द्रीयस्तरको। केन्द्रीयस्तरको सदस्यता अनलाइनबाट भर्नुपर्ने रहेछ। केन्द्रीयस्तरको सदस्यता लिएको खण्डमा एनआरएनले आयातनिर्यात, स्वास्थ्य उपचार आदिइत्यादि सुविधा उपलब्ध गराउछ भनी एनआरएनको वेवसाइटमा लेखिएको छ तर सुविधाहरु स्पष्टरुपमा लेखिएको मेरो सानो मस्तिष्कले देख्न सकेन।

केही वर्षदेखि युरोप बस्दै आएकोछु। गतवर्ष २०१८ को मे २५ तारिखबाट युरोपियन युनियनले व्यक्तिगत सुचना र तथ्यांक सम्बन्धी एेन पारित गरेको छ। जस अनुसार कुनैपनि व्यक्तिको व्यक्तिगत तथ्याकं उदाहरणको लागी नागरिकता, राहदानी लगायतका फोटोकपी सकंलन गर्ने अधिकार कसैलाई पनि छैन। कुनै व्यक्ति दिएको विवरण सांचो हो भनी उसका सक्कली कागजपत्र हेरेर रुजु गरिन्छ तर फोटोकपी कही पनि बुझाउनुपर्दैन। यदि बुझाएको खण्ड त्यो कागजपत्र कुन प्रयोजनको लागी प्रयोग गरिएको हो भनी प्रयोगकर्ताले लिखीत विवरण दिनुपर्छ। सोही नियम फोटो खिच्दा पनि लागुहुन्छ, कोही कसैले अनुमतिविना कसैको फोटो सामाजिक संजालमा समेत राख्न पाउदैन।

आफ्ना व्यक्तिगत कागजपत्र विना सुचना बुझाउने सम्बन्धमा अस्ट्रियामा केही वर्ष अघि चलेको हल्ला यहा निर जोड्न मनलाग्यो। एक विद्यार्थीले विवाह गरी आफ्नी श्रीमतीलाई विध्धर्थी भिसामा अस्ट्रिया ल्याउन खोजेका रहेछ। यहीक्रममा आफ्नो बाह्र कक्षा पास नगरेकी श्रीमतीलाई बाह्र कक्षाको नक्कली प्रमाणपत्र, स्नातकमा भर्ना भएको नक्कली कागज लगायत पेश गरी भिसाको लागी आवेदन दिदा नयां दिल्लीको राजदुतावासले सो पत्ता लगाई उनलाई समेत मानव तस्करको शंकामा राखी भिसा रद्द गरिदिएपछि भियनामा रहेको नेपाली समाजलाई उनले आफ्नै मामाले भिसा रद्द गरिदिएको दोष समेत लगाउन पछि परेनन्। ती विद्यार्थीलाई” बिचरा” भनेर पार्टी, भेटघाटमा नेपाली समाजमा आजसम्म पनि आशु बग्ने गरेको छ।

त्यसैले एनआरएनको सदस्यता लिदा बुझाएको कागजातको सुरक्षाको सम्बन्धमा जिज्ञासा मेटाउन, यसै विषयमा मैले एनआरएन अस्ट्रियासंग बुझ्न खोजेको थिए कि केन्द्रीयस्तरको एनआरएनको सदस्यताको फारम भर्दा व्यक्तिगत तथ्यांक सुरक्षित रहन्छ कि रहदैन भनेर तर सरमेडेमहरुसंग समय रहेनछ मेरो प्रश्नको जवाफ दिने। केन्द्रीयस्तरको एनआरएनको कार्यालयमा पनि सम्पर्क गरे त्यहाबाट पनि जवाफ आएन।

खोज्दैजांदा वर्तमान अस्ट्रिया एनआरएन संगठनका धेरै सदस्यले नै केन्द्रीय सदस्यता नलिएको भेटियो त्यति मात्र नभई हालका निर्वाचन आयुक्तले समेत केन्द्रीय सदस्यता लिनुभएको रहेनछ। त्यसै गरी हालका उमेरद्वारमा पनि धेरै जनाको केन्द्रीयस्तरको सदस्यता रहेनछ। अस्ट्रियाबाट जम्मा ३९ जना मात्रै केन्द्रीय सदस्य हुनुहुदोरहेछ। उहाँहरु आफैले नलिएको सदस्यता लिन हामी जनसाधारणलाई किन अभिप्रेरित गर्नुभएको हो, बुझ्नै सकिएन।

यसरी पदीय दायित्व सम्हाली सकेपछि त्यसको जिम्मेवारी पनि बहन गर्नु सबको दायित्व हुन्छ। यदि एनआरएन आधिकारिक संगठन हो पदीय दायित्व बोक्ने व्यक्तिहरुको जिम्गमेवारी, गतिविधी र कार्यक्षेत्र स्पष्ट हुनुपर्छ, सदस्यता सम्बन्धी अन्यौल स्पष्ट हुनुपर्यो, व्यक्तिगत तथ्यांक सम्बन्धी ऐन स्पष्ट हुनुपर्यो।

निस्पक्ष निर्वाचनको लागी सबैमा हार्दिक शुभकामना!

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया