गर्मीमा सुक्दै र वर्षामा रुझ्दै पढ्नुपर्ने बाध्यता

इनेप्लिज २०७६ असार २० गते ११:०७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

विद्यालय भवनको चरम अभावमा रौतहटको एक विद्यालयमा अध्ययनरत बालबालिकालाई निकै अप्ठ्यारो भएको देखिएको छ । जतिसुकै गर्मी होओस् वा जाडो महिनामा शीतलहर चलोस्, रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री मावि गेडहीगुठीका केही विद्यार्थीलाई कक्षा कोठाभन्दा बाहिर बसेर पढ्नुपर्ने बाध्यता छ ।

विद्यालयमा कक्षा कोठाको अभाव भएको कारण कम्तीमा दुईवटा कक्षा हरेक दिन विद्यालयको चौरमा वा वडाध्यक्ष विशुनदेव सहनीको आँपको बगैँचामा चलाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक रेणु गुप्ताको भनाइ छ ।

गत २०७२ को भूकम्पमा चर्केको एउटा ११ कोठे पक्की भवनको सातवटा कोठा तथा जस्ताको एउटा भवनको दुईवटा कोठामा कक्षा संचालन हुन्छ । यसै गरी नजिकै रहेको राम जानकी मठको जग्गामा निर्माण गरिएको फुसको छाप्रोमा कक्षा संचालन हुन्छ तर दुईवटा कक्षाका विद्यार्थीलाई कक्षा कोठामा बसालेर पढाउनै नसकिने अवस्था रहेको प्रअ गुप्ताको भनाइ छ ।

जिल्लामा रहेका करिब ७० सामुदायिक माध्यमिक विद्यालयमध्ये मावि गेडहीमा मात्र महिला प्रधानाध्यापक छ तर विद्यालयमा भौतिक पूर्वाधारको पूरै अभाव देखिएको छ । महिला शिक्षकको पर्याप्त उपस्थिति रहेको यस विद्यालयमा सम्बन्धित निकायको भने पर्याप्त ध्यान जान नसकेको कारण विद्यालय भवनको चरम अभाव रहेको स्थानीयको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका सदस्य राम विनय साहले आफूहरुले नगरपालिका र अन्य निकायमा पहल गरिरहेको बताएका छन् ।

चर्केको पक्की भवन र खिया लागेर प्वालै प्वाल भइसकेको जीर्ण जस्तापातावाला घरमा विद्यालय संचालन भइरहेको छ । विद्यालय भवनको चरम अभावमा कतिपय कक्षाकोठामा विद्यार्थी कोच्चिएर बस्न बाध्य छन् । कक्षा कोठाहरुको तुलनामा विद्यार्थीको चाप अत्यधिक हुँदा कतिपय कक्षामा विद्यार्थी बस्ने ठाउँ नपाएर भित्तामा टाँसिएर उभिएरै पढ्न बाध्य भएका छन् । कक्षा ६ की वर्ग शिक्षिका समतोलिया कुमारी मुखियाले आफ्नो कक्षामा विद्यार्थीलाई उभिने ठाउँको समेत अभाव भएको बताउँदै कोही बेन्चमा बस्नुपर्ने र कोही उभिएर पढ्नुपर्ने बाध्यता रहेको बताउँछिन् ।

घाम र शीतलहरमा फिल्ड वा आँपको बगैँचामा पढ्न बाध्य बालबालिकालाई हल्का पानी पर्दा फुसको छाप्रोमा जसरी पनि एडजस्ट गर्नु परिरहेको छ । विद्यालयमा भवनको अभाव मात्र नभएर भवन बनाउने जमिनको पनि अभाव रहेकोले आफूहरुले कुनै उपाय अपनाएर विद्यालयको लागि केही जग्गा किन्ने प्रयासलाई पहिलो प्राथमिकता दिएको वडाध्यक्ष एवम् विव्यस सदस्य विशुनदेव सहनीको भनाइ छ ।

विद्यालयमा रहेको शिक्षकको अभावलाई वडा कार्यालयले तीनवटा शिक्षकको लागि अनुदान दिएर पूरा गरेको छ तर शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले समयमा शिक्षक आपूर्तिको बाटो नखोल्दा केही अभाव कायमै रहेको छ । एकजना शिक्षिका सरुवा भएर अन्यत्र गएको र अर्का एकजना शिक्षक निवृत्त भएको ठाउँमा पदपूर्ति गर्न विद्यालयले इकाइलाई लेखिपठाएको भए पनि अनुमति नदिएकोले केही समस्या भएको प्रअ गुप्ताको भनाइ छ ।
अत्यधिक विद्यार्थी हुनु र विद्यार्थीको अनुपातमा शिक्षक तथा भवनको अभावले विद्यालयको पठनपाठन प्रभावित भइरहेको आम अभिभावकको बुझाइ रहेको छ ।

प्रतिक्रिया