प्रकाशले ३६ वर्षमै पूर्ण जीवन बाँचे : प्रचण्ड

इनेप्लिज २०७६ असार १७ गते ११:१९ मा प्रकाशित

काठमाडाैँ, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशले ३६ वर्षमै पूर्ण जीवन बाँचेको उल्लेख गरेका छन् ।

२०७४ मा निधन भएका प्रकाशको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रममा सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा  प्रचण्डले छोटो समयमा आकस्मिक मृत्यु भए पनि प्रकाशले पूर्ण जीवन बाँचेको बताए ।

प्रकाशको योगदान ३६ वर्षे उमेरमा पूरा हुने खालको नभएको भन्दै प्रचण्डले भने, ‘उनी ३६ वर्षमात्रै बाँचेजस्तो लाग्दैन। तीतामीठा अनुभवसहितको पूर्ण जीवन बाँचेर उनी विदा भएकोजस्तो लाग्छ।’

छोटो उमेरमै प्रकाशले युद्ध, शान्ति प्रक्रियाको अनुभव, देश तथा विदेशका अनुभव हेर्ने र बुझ्ने अवसर पाएको प्रचण्डको भनाइ छ ।

प्रकाशको दुई वर्षअघि २०७४ मंसिर ३ गते आकस्मिक रूपमा निधन भएको थियो।

कार्यक्रममा प्रकाश दाहाल प्रतिष्ठानले पाँच जनालाई ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ वितरण गरेको छ ।  प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी जीवनसाथी एवं खानेपानी मन्त्री बिना मगर हुन् ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जा मन्त्री वर्षामान पुन, नेकपाका महासचिव विष्णु पाैडेललगायत नेता तथा कार्यकर्ता उपस्थित थिए ।

प्रतिक्रिया