प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी

इनेप्लिज २०७६ असार १७ गते ११:०१ मा प्रकाशित

रुपन्देही,  असार १७ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । रिपोर्टस क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कायक्रममा उहाँले सो कार्यक्रम शुरु भएपछि कृषि उत्पादकत्वमा समेत वृद्धि भएको बताउनुभयो ।

सरकारले कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिइएको उहाँको भनाइ थियो । सरकारले कृषिमा विनियोजन गरेको रु २८ अर्ब बजेटमध्ये रु नौ अर्ब मलका लागि छुट्टयाइएको बताउनुभयो । मन्त्री खनालले पूँजीगत बजेट रु दुई अर्ब रहेको जानकारी दिनुभयो ।

सडक मर्मत

गलकोटः बागलुङको ताराखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनेको छ । गाउँपालिकाले एकसाथ रोजगारी दिएका ९५ कामदारले गाउँपालिकाको पाँच वडामा सडक मर्मत गरेका छन् ।

सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रममार्फत उनीहरुले गाउँपालिकाको झण्डै पाँच किलोमिटर सडक मर्मत गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । आठ वटा श्रमिक समूह बनाएर सडकका खाल्डाखुल्टी पुर्ने, साँघुरो सडकलाई चौडा पार्ने, ढुङ्गा सोलिङ गर्ने, भल तर्काउनेलगायत काम गरिएको गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले जानकारी दिनुभयो ।

सडक मर्मतपछि सवारीसाधन सञ्चालन गर्न सहज भएको छ । सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार प्रदान गर्न गाउँपालिकामा रु २१ लाख बजेटले विनियोजन गरिएको छ ।

प्रतिक्रिया