मनसुन अवधिमा रेडक्रसमार्फत् २२ हजार परिवारलाई सहयोगको योजना

इनेप्लिज २०७६ असार १७ गते ११:०४ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटीले मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार गरेको छ । पूर्व झापा देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका २३ वटा तराई÷मधेसका जिल्लामा जनजीवनलाई वढी असर पर्ने र २ लाख ५२ हजार परिवार प्रभावित हुनसक्ने र त्यसमध्ये करिव ८२ हजार घरधुरीलाई तत्काल सहयोग गर्नुपर्ने अवस्था आवास क्लस्टरले आँकलन गरेअनुसार नेपाल रेडक्रसले त्यसमध्ये २२ हजार पाँचसय (२७ प्रतिशत) लाई आपत्कालीन आवास र गैह्र खाद्य सामग्री सहयोग गर्ने योजना बनाएको छ । तर यो आँकलन नाजुक अवस्थाको परिकल्पनामा आधारित छ । नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले भन्नुभयो ः “नाजुक अवस्थामा आवास र सामग्रीको अलावा आपत्कालीन स्वास्थ्य, स्वच्छता र सरसफाई, संरक्षण, खाद्यसामग्री र नगद हस्तान्तरणको क्षेत्रमा पनि रेडक्रसले सहयोग गर्ने छ । रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ र अति प्रभावित पाँचहजार प्रति परिवारलाई १० हजारको दरले नगद सहयोग हस्तान्तरण गरिने छ ।”

नेरेसो केन्द्रीय कार्यालयमा मनसून योजना तयारी वैठकलाई सम्बोधन गर्दै गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद निधि खनालले रेडक्रसको बनाउँदै गरेको योजना समग्र मनसून पूर्वतयारी योजनाको एक अंग हुने बताउनुभयो । उहाँले अहिलेसम्म संघीय मामिला, परराष्ट्र, स्वास्थ्यलगायत ८ वटा मन्त्रालय, सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र विभिन्न विभाग गरी १४ वटा निकायले यस्तो योजना बनाएको जानकारी दिनुभयो । हरेक वर्ष मनसुन सुरु हुनु पूर्व नेपाल रेडक्रसले नेपाल सरकार, संयुक्त राष्ट्रसंघका कार्यालयहरु, विभिन्न सहायता एजेन्सीहरु तथा संस्थाहरुको सहकार्यमा यस्तो तयारी गर्दैआएको छ । सन् २०१४ र २०१७ को मनसुन प्रतिकार्य योजना र प्रगतिका आधारमा यो योजना बनाइएको हो ।

समन्वयमा जोड :

विपद्को अवस्थामा उद्यार राहतको काम समन्वयात्मक हिसाबले गर्न गराउन रेडक्रसले भूमिका खेल्ने बताइएको छ । रेडक्रसका केन्द्रदेखि पालिकातहका निकायहरु विपद् व्यवस्थापनमा प्रयत्नरत रहेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो “पाँचथरमा जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, फिदिम नगरपालिका र उद्योग बाणिज्य संघले मिलेर गत हप्ता पहिरोको बेलामा गरिने तत्काल सहयोगको कृतिम अभ्यास गएको हप्ता गरेका थिए, पूर्वतयारीको यो एउटा उदारण हो ।” उहाँले भन्नुभयो :“ विपद तत्कालै गरिने प्रारम्भिक द्रुत लेखाजोखा ( Initial Rapid Assessment_ लाई प्रभावकारी बनाउन गृह मन्त्रालय, स्थानीय पालिका र शुरक्षा निकायसँग हामीले हातेमालो गरिरहेका छौँ र यसमा सवैपक्षको सहयोगको अपेक्षा छ ।”

बाह्य सहयोग विना कम्तिमा ५ हजार परिवारलाई सहयोग हुने:

आपत्कालीन योजना बनाँउदा नेपाल रेडक्रसले आफ्नो बर्तमान क्षमता र अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्थाको लागि छुट्टाछुट्टै योजना बनाएको हो । वाह्य सहयोग नलिइकन पाँच हजार परिवारलाई गैह्र खाद्य सामग्री, छ सय परिवारलाई आपत्कालीन आवास निर्माण सामग्री, २५ सय परिवारलाई तारपोलियन, १४४ परिवारलाई आपतकालीन प्रजनन स्वास्थ्य किट लगायत आवश्यकतानुसार तीन लाख पानी शुद्धिकरण ट्याबलेट, सातहजार साबुन, एकहजार शव व्यवस्थापन झोला वितरण गर्ने गरि तयारी अवस्थामा राखिएको छ । दशलाख रुपैँया आपत्कालीन कोषमा छुट्याइएको छ भने यसका अतिरिक्त २६ लाख रुपैया सरसफाई र स्वच्छता क्षेत्रको सहयोगको लागि व्यवस्था गरिएको छ । ३ करोड रुपैँयाको प्रिन्सेप दैवी प्रकोप अक्षयकोषको व्याजबाट पनि खर्च गर्न सकिने व्यवस्था मिलाइएको छ ।

निर्देशक पौडेलले बताउनुभयो : “बाढी पहिरो डुवान जस्ता समस्यामा तत्काल राहत र सहयोग हाम्रो प्राथमिकता हो ।” “तर, विपद्का विविध प्रकृतिहरुबारे यकिन गर्न नसकिने भएकोले राहत सामग्रीहरुको पूर्व भण्डारन गर्ने, पूर्वसूचना प्रणालीबाट प्राप्त सूचनाहरुलाई समुदायमा लैजाने, घटनामा तत्काल प्राथमिक उपचार तथा सहयोग गर्ने जस्ता कुरामा नेपाल रेडक्रस केन्द्रीत छ ।

जनशक्ति अलर्ट :

नेपाल रेडक्रसले आकस्मिक सहयोगको लागि तालिम प्राप्त जनशक्तिहरुलाई अलर्ट अवस्थामा रहन खवर गरिसकेको विपद् व्यवस्थापन विभागका उप निर्देशकले जानकारी दिनुभयो । यसरी तयारी अवस्थामा राखिएकामा १, ४५४ जना प्राथमिक उपचारक, ५,५८७ जना सामुदायिक पहलकर्ता, ८४ जना प्रारम्भिक लेखाजोखा संयोजक (IRA), ६,१७९ जना जिल्ला प्रतिकार्य समूह (DDRT) सदस्य, ४३१ जना राष्ट्रिय प्रतिकार्य समूह सदस्य (NDRT), ८२५ जना पारिवारिक सम्पर्क पुनस्थापना र शव व्यवस्थापन समूह सदस्य, २२० जना आपत्कालीन आवास निर्माणकर्ता, ५९ जना आपत्कालीन क्लिनिक सञ्चालन सदस्यहरु छन् । यसका अलाबा नगद हस्तान्तरण प्रकृयामा तालिम प्राप्त ९९ जना र १,६४२ जना आपत्कालीन सरसफाई तथा स्वच्छता क्षेत्रमा तालिम प्राप्त जनशक्ति पनि आवश्यकता अनुसार खटिने छन् ।

सन् २०१७ को मनसुनको समयमा बाढी र पहिरोले १७ लाख मानिसहरुलाई प्रभावित पारेको थियो भने २ लाख भन्दा वढी घरहरु आंशिक वा पूर्ण क्षति भएका थिए । नेपाल रेडक्रसले ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, १३ हजार पाँचसय मानिसहरुलाई गैर खाद्य सामग्रीहरु तथा करिव १४ हजार परिवारलाई स्वास्थ्य, सरसफाई तथा खानेपानी तर्फ तत्काल सहयोग गरेको थियो ।

प्रतिक्रिया