कोमल गजल:-

इनेप्लिज २०७६ असार १२ गते ९:१४ मा प्रकाशित

जिन्दगीभित्र गुम्सेका कयौँ वेदना बाँकी छन्
सुनाउँछु आज दुखेका थुप्रै घटना बाँकी छन्

चरक्क पारी चिर्दछन् छाती पुराना यादले
फेरियो धर्ती तैपनि चोखा साधना बाँकी छन्

बेबसीसङ्ग सिङौरी खेल्दै ढल्कियो उमेर
हाँसेर जिउने असंख्य मीठा कल्पना बाँकी छन्

झस्किन्छ मुटु सिरिङ्ग गर्दै सम्झिँदा प्रवास
कसोरी भनौँ कहालीलाग्दा ताडना बाँकी छन्

गैसके अब खुसीका पला देउराली काटेर
ओझेल परे सुनौला क्षण सम्झना बाँकी छन्

ताजैछ भोक ताजैछ प्यास ताजैछ तिर्सना
हृदयभित्र अथाह अझै चाहना बाँकी छन्

हराए सारा सुख र शान्ति हरायो घरबार
विधातासँग हजारौँ लाखौँ याचना बाँकी छन्

पढ्दिनुस् मेरा कथा र व्यथा आँसुले लेखेका
असीम पीडा बोकेका सारा सिर्जना बाँकी छन्

चोखोछ आत्मा चोखोछ सोच चोखैछ कामना
संकष्ट झेल्दै बाँचेका “कोमल”भावना बाँकी छन्

झ्याउरे छन्द
३+२ +३+२ +३+३
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौं
हाल:- न्युयोर्क

प्रतिक्रिया