कोमल गज़ल:-

इनेप्लिज २०७६ जेठ ३० गते १०:४० मा प्रकाशित

रसाए नयन रोजै सम्झनाले
गलाए वदन रोजै सम्झनाले

दुखायौ हृदय प्यारी साथ छोडी
फुटेनन् वचन रोजै सम्झनाले

बहन्थे सलल गर्दै प्रेम धारा
हराए मगन रोजै सम्झनाले

परी झैँ महक छर्थ्यौ जिन्दगीमा
बढाए जलन रोजै सम्झनाले

बनायौ कठिन साह्रै बाँच्नलाई
छ पिडा गहन रोजै सम्झनाले

न भो भक्ति नत सेवा देवताको
भुलाए भजन रोजै सम्झनाले

कडाभो नियतिको यो घात धेरै
विगारे गठन रोजै सम्झनाले

छचल्क्यो प्रहर सारा याद तिम्रो
फिका भो वतन रोजै सम्झनाले

छन्द – लम्बु
सूत्र – lSS lll SSS lSS
गण – य न म य
विश्राम – ८ अक्षरमा

-कोमल भट्ट
च.न.पा.१३,काठमाडौं
हाल:-USA

प्रतिक्रिया