तेह्रो पुण्यस्मृति दिवस अविश्रान्त समाजसेवी : किसुनी साह

इनेप्लिज २०७६ जेठ २० गते १०:२६ मा प्रकाशित

सञ्जय मित्र÷रौतहट

समाजसेवा अहिले अनेक अर्थमा विभाजित भएको छ । कतिपयले समाजसेवालाई बेपार बनाएका छन् भने कतिपय चाहिँ बेपारलाई नै समाजसेवा मानेका छन् । कोही संघसंस्थामा काम गरेर आफूलाई समाजसेवीको पगरी दिएका छन् । कोही त फेसबुके समाजसेवी छन् त कोही मिडियामा आउनकै लागि समाजसेवी हुन्छन् । समाजसेवाको नाममा सम्मान पाउने अभिलाषा धेरैमा हुन्छ । अन्यत्रबाट रकमको जोहो गरेर आफू माध्यम बनी समाजसेवा गरेको भन्ने पनि छन् । कतिपय संस्था आफैँमा समाजसेवी संस्था छन् परिचित । देश र विदेशमा समाजसेवी संस्थाको परिचय र पहिचान बनाएका संस्थाका हर्ताकर्ताहरु स्वतः समाजसेवी हुने भए । समाजसेवाको नाममा समाजसेवालाई पवित्र पार्ने र समाजसेवालाई बदनाम बनाउने पनि समाजसेवी कहलाउँछन् । समाजसेवाको माध्यमबाट नाम कमाउने र दाम कमाउनेहरुले पनि समाजसेवीको उपमा पाएका छन् । तर रौतहटमा एकजना यस्ता पनि समाजसेवी थिए जो नितान्त आफ्नो सम्पत्तिबाट समाजसेवा गरे र सबै किसिमको मिडियाबाट आफूलाई टाढा राख्ने प्रयत्न गरिरहे ।

नितान्त गाउँमा जन्मे ८५ वर्षअघि किशुनी साह तेली । साहको जमानामा विद्यालय जाने खासै चलन थिएन । उनले सामान्य औपचारिक शिक्षामात्र ग्रहण गर्न पाउनुमा तत्कालीन परिवेशकै कारणले हो । औपचारिक शिक्षा कम नै भएपछि शिक्षाक्षेत्रमा उनको योगदान अतुलनीय छ । आफ्नै जमिनमा विद्यालय खोलेर गाउँमा शिक्षाको ज्योतिको जग रोप्ने साहले विद्यालय भवन निर्माण गर्न आफ्नै रकम दिए । लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरे । फलस्वरुप गाउँका मानिसले देश र विदेशमा आफ्नो नाम फैलाउन सफल भएका छन् । आफैँले खोलेको विद्यालयमा आफ्नै छोरा पढेर अस्ट्रलेलियामा प्रतिष्ठित व्यक्तित्व बन्न सफल भएका छन् ।

गाउँमा केही कुराको आवश्यकता पर्दा सामान्यतया पहिलोचोटि स्मरण गर्ने भनेकै साह हो । जीवित छँदै साहको सबै समाजसेवामा भूमिका रहन्थ्यो । सानैदेखि धार्मिक प्रवृत्तिका साहले गाउँमा छठको समयमा नियमितरुपमा अतिविपन्नलाई साडी वितरण गर्दथे, छठका अन्य सामग्री कम भएको गरिब परिवारलाई सामान पु¥याउँथे, उनको खेतबारी वा बगैँचामा कुनै पनि धर्मकर्ममा काम लाग्ने केही सामग्री देखिन्थ्यो भने नसोधीकनै सर्वसाधारणले लैजान्थे, गाउँको पोखरीमा छठघाटको निर्माण गराए । यतिमात्र होइन आसपासका कुनै गाउँमा यदि महायज्ञ वा अन्य कुनै धार्मिक क्रियाकलाप हुन्थ्यो, सबैले जति सहयोग भन्दथे उनी आर्थिक, नैतिक, सामाजिक र भौतिक सबै सहयोगको लागि सदा तत्पर रहन्थे । रौतहटको विर्तामा केही वर्ष पहिले भएको आगलागीको घटना होओस् अथवा केही वर्ष पहिले आएको भीषण बाढी र भूकम्पको समयमा होओस्, साहले तीनवटै विपत्तिमा साहले लाखौँ रुपैया खर्च गरे । राहत प्रदान गरिदिन साहले कसैको सहयोग लिए तर हरेक विपत्तिमा सजिलै तीन÷चार लाख रुपैयाको सहयोग प्रदान गर्दा कहिल्यै कुनै मिडियालाई भनेनन् ।

किशुनी साह तेली मिडियादेखि किन टाढा रहन चाहन्थे भन्ने विषयमा मैले एक दिन प्रश्न नै राखेको थिएँ (म उहाँलाई देउताजी भनेर सम्बोधन गर्थें ) । साहको भनाइ थियो – प्रचार गरेर केही हुन्न । मलाई आफ्नै किसिमले सेवा र धर्म गर्दा सन्तुष्टि प्राप्त हुन्छ । मिडिया भनेको देखावटी कुरा हो ।
गाउँमा सशस्त्र प्रहरी बेस क्याम्प र इलाका प्रहरी कार्यालय स्थापनामा साहको भूमिका अविस्मरणीय रहेको छ । उनले गाउँमै पुस्तकालय खोलेका छन् । गाउँमा उनले स्थापना गरेको हाटबजार अहिले विस्तार भएर चोक नै बनिसकेको छ । गाउँमा रामजानकी मठको निर्माण गराए, उनले त्यसैमा मन्दिर बनाउन लगाए ।
कुन यस्तो जाडोको वर्ष होला जहिले उनले गरिबलाई कम्बल, सिरक र आवश्यकताअनुसार अन्य सामग्री वितरण गरेका थिएनन् । गाउँमा आउने कोही साधु वा भीखमाङा उनको घरसम्म पुगेर खाली हात फर्किनु परेको कसैले सोच्न पनि सक्दैनन् ।

उनले जानेसम्म कोही पनि भोको बस्नु पर्दैनथ्यो । गाउँका मुखिया भएको नाताले पनि कहीँ कोही आफ्नो घरमा झगडा परेर भोकै छन् भने पनि उनलाई फकाउनु आफ्नो कर्तव्य मान्दथे साह । मुखियाजीले फकाउँदा सकेसम्म अधिकांश मान्दथे पनि ।

गीतामा भगवान श्रीकृष्णले निष्काम कामको चर्चा गरेका छन् । साह निष्काम समाजसेवी थिए । म समाजसेवा गर्छु भनेर साहले समाजसेवा गरेनन् । समाजसेवालाई आफ्नो कर्तव्य नै बनाए । आफ्नो कर्तव्य गर्न उनले कसैलाई सोधिरहनु परेन । कसैसित केही लिइरहनु परेन र यसवापत कसैलाई दिइरहनु पनि परेन । तीन छोरी र एक छोराका पिता अविश्रान्त समाजसेवी साहले यस धरतीबाट विदा लिनुअघिसम्म समाजसेवालाई आफ्नो कर्तव्य मानिरहे । धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका स्वतःस्फूर्त अगुवालाई आसपासको दश गाउँका सबैले मुखियाजी भनेर चिन्दछन् ।
चिर निद्रामा सुतेपछि सुन्नेजति सबैले यही भने – उनले आफ्नो जीवनमा कसैलाई दुःख दिएनन् ।
मान्छे हुनु त मुखियाजीजस्तो ।

प्रतिक्रिया