खातामा रकम कम हुँदा शिक्षकले तलब खान पाएनन्

इनेप्लिज २०७६ जेठ १९ गते १५:२० मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले नगरका कर्मचारीलाई तलब ख्वाउन नसकिने अवस्था आएको बताएका छन् । नगरपालिकाको खातामा सरकारले करोडौ रुपैया अपुग पठाएकोले कर्मचारीलाई तलब ख्वाउन समस्या भएको मेयर यादवले बताएका छन् ।

जिल्लाका अन्य स्थानीय तहले शिक्षा र स्वास्थ्यका शिक्षक तथा कर्मचारीहरुलाई चैतदेखि जेठसम्मको तलब ख्वाइसकेको र असारको रकम पनि सम्बन्धित कार्यालयको खातामा पठाइसकेको अवस्थामा गढीमाई नगरपालिकाका शिक्षा तथा स्वास्थ्य क्षेत्रका कर्मचारीको रकम निकासा हुन सकेको छैन ।
गढीमाई नगरपालिकाको शिक्षामा ५२ लाख र स्वास्थ्यमा कर्मचारीको १ करोड १६ लाख रुपैया तलबमा नै अपुग देखिएकोले तलब ख्वाउन नसकिएको हो । गढीमाई नगरपालिकाको खातामा चालू आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्तामा पनि १ करोड २२ लाख रुपैया अपुग भएको छ ।

गढीमाई नगरपालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा भत्तामा गरी कूल २ करोड ९० लाख रुपैया अपुग रहेको छ । नगरपालिकाले सम्बन्धित निकायमा रकम कम भएको जानकारी पठाइसकिएको छ । कर्मचारीहरुलाई तलब खान ढिलो भइसकेको र सम्बन्धित निकायमा तत्काल रकम निकासाको लागि माग समेत गरिसकिएको मेयर यादवले बताएका छन् ।

गत चैत महिनादेखि नै शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले तलब खान नपाउँदा समस्या भइरहेको नपाका शिक्षा संयोजक रामनारायण यादवले बताएका छन् । शिक्षक तथा कर्मचारीहरुले समयमै तलब खान पाउने व्यवस्था नगरपालिकाले छिटै गर्ने मेयर यादवले बताएका छन् ।

प्रतिक्रिया