न जिन्दगी भो मूल जस्तो
न भो सुवासी फूल जस्तो
जताततै छन् छिद्र मात्र
भएछ थोत्रो झूल जस्तो
हितैषिता भो दूर आज
रहेछ माया भूल जस्तो
सताउँदैछन् दुर्दशाले
व्यथा छ ठूलो हूल जस्तो
चिरिन्छ छाती वेदनाले
बहन्छ हावा सूल जस्तो
झरे सहस्रौँ आँसु धारा
बन्यो अजोरी कूल जस्तो
अकाल लाग्यो सिर्जनामा
गरिन्छ हेँला धूल जस्तो
भएँ म साह्रै अल्पज्ञानी
छ बुद्धि मेरो स्थूल जस्तो
सहन्छु चर्को घाम पानी
कुहिन्छु क्यारे तूल जस्तो
गण – ज म य
विश्राम – ५ अक्षरमा
-कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रतिक्रिया