सञ्जय मित्र, रौतहट
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई गृह जिल्ला रौतहटको एउटा कार्यक्रममा प्रमुख अतिथि बनाइएपछि नयाँ किसिमले बहस सुरु भएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीको वर्चस्व रहेको जिल्ला समन्वय समिति रौतहटको दोस्रो साधारण सभामा नेपाललाई प्रमुख अतिथि बनाइएपछि दुई धारको बहस सुरु भएको हो ।
रौतहटबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका महम्मद आफताब आलम, देवप्रसाद तिमल्सिना, नेकपाका प्रभु साह र राजपा नेपालका अनिलकुमार झा जिससको साधारण सभामा उपस्थित भएनन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशका दुई राज्यमन्त्रीहरु डा. डिम्पल झा तथा योगेन्द्र प्रसाद यादवको उपस्थिति पनि जिससको सभामा देखिएन ।
अधिकांश नेताहरुको असन्तुष्टि माधव कुमार नेपाललाई प्रमुख अतिथि बनाइएकोमा रहेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने साँसद तथा प्रदेशमा राज्यमन्त्रीहरु हुँदाहुँदै पनि सरकार र संसदमा विशेष स्थानमा नरहेका नेपाललाई प्रमुख मन्त्री बनाइएकोमा बहस सुरु भएको हो ।
नेपाली काँग्रेस र समाजवादी पार्टीको वर्चस्व रहेको जिससको साधारण सभामा नेकपाका नेतालाई प्रमुख अतिथि बनाइनु कुनै पनि दृष्टिकोणले राम्रो नभएको समाजवादी पार्टीका नेता एवं प्रदेश राज्यमन्त्री योगेन्द्र राय यादवको भनाइ छ ।
नेपालको गृह जिल्ला रौतहट भएको र पूर्व सम्माननीय प्रधानमन्त्री भएकाले नेपाल देशकै नेता भएकाले जिससको साधारण सभामा प्रमुख अतिथि बनाइनु स्वाभाविक भएको नेकपाका नेता शम्भु साहको भनाइ छ ।
पूर्वप्रधानमन्त्री नेपाललाई प्रमुख अतिथि बनाइएपछि रौतहटको राजनीतिमा नयाँ धारको उदय भएको बहस पनि गरिन थालिएको छ । एकथरिले नेता नेपाललाई अगाडि सारेर नेकपा र अन्य धारको नेतृत्वमा नयाँ तरंग ल्याउने कसरत भइरहेको विश्लेषण पनि गरिन थालिएको छ ।
गत चैतमा रौतहटको गरुडामा भएको नेकपाको आमसभामा नेता नेपाल आउने विषयमा निकै पछि मात्र प्रचार गरिएको थियो ।
प्रतिक्रिया