राष्ट्रिय बज्जिका प्रतियोगितालाई निरन्तरता दिने मेयर यादवको प्रतिबद्धता

इनेप्लिज २०७६ जेठ ११ गते १४:३८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा सर्लाही र रौतहटको प्रमुख भाषाको रूपमा रहेको बज्जिकाको पहिलो राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ । बारा र महोत्तरीमा समेत बोलिने स्थानीय बज्जिका भाषाको प्रथम राष्ट्रिय कविता प्रतियोगितामा सर्लाहीका कवि सञ्जय सुदामाले प्रथम स्थान हासिल गरेका छन् । बज्जिका साहित्य संगम रौतहटले गढीमाई नगरपालिकाको सहयोगमा आयोजना गरेको कार्यक्रममा छन्दकवि सुदामाले प्रथम स्थान हासिल गर्दै २१ हजार रुपैयाको नगद पुरस्कार, प्रमाणपत्र र विभिन्न पुस्तक पनि हात पारेका छन् ।

गढीमाई प्रथम राष्ट्रिय बज्जिका कविता प्रतियोगिता २०७६ नाम दिइएको कार्यक्रममा रौतहटको सुन्दरपुरका दिनबन्धु साहले द्वितीय स्थानसहित १५ हजार, सन्जय महतो राजले तृतीय स्थानसहित ११ हजार र अनिशा यादव तथा अमित सहनीले ७÷७ हजार रुपैयासहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, विभिन्न पुस्तक र प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वसभासद कृष्णप्रसाद यादवले संगठित भएर मातृभाषाको विकासमा लाग्न सबैलाई आह्वान गरेका छन् । नेपाली काँग्रेस रौतहटका सभापतिसमेत रहेका पूर्वसभासद यादवले बज्जिका भाषालाई आफूले संसदमा पु¥याएको उल्लेख गर्दै मातृभाषाको विकासमा आफू सदैव सक्रिय रहने पनि बताएका छन् ।

कार्यक्रममा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण गढीमाई नगरपालिकाले पहिलोपटक राष्ट्रिय बज्जिका प्रतियोगिताको आयोजन गरेर ऐतिहासिक कामको आरम्भ गरेको बताएका छन् । भाषा र संस्कृतिको संरक्षण तथा विकासमा नगरपालिकाले निरन्तर सकारात्मक प्रयास गर्ने बताउँदै मेयर यादवले राष्ट्रिय बज्जिका प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चर्चित पत्रकार एवम् मधेस विश्लेषक चन्द्रकिशोरले बज्जिकाको चेतना विकासको लागि अन्य विभिन्न अभियानको थालनी गर्न ढिलाइ गर्न नहुने बताएका छन् । पत्रकार चन्द्रकिशोरले बज्जिकाको विकासले गति लिनु स्वाभाविक भएको बताउँदै स्थानीय तहले अझ सकारात्मक योगदान दिनुपर्ने सुझाव दिएका छन् । आगामी गनगणनालाई ध्यानमा राख्दै गतिविधिलाई विस्तार गर्नुपर्ने सुझाव चन्द्रकिशोरको रहेको थियो ।

कार्यक्रममा बज्जिका भाषाका प्रशिक्षक विपिनबिहारी सिंह, नेपाल शिक्षक युनियन रौतहटका पूर्व अध्यक्ष योगेन्द्रप्रसाद यादव, बज्जिका अभियन्ता विन्दा सहनी, राम सागर साह, भारतीय बज्जिका साहित्यकार राम किशोर सिंह चकवा, नेपाल फोटो पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रभातकुमार झा, गढीमाई नगरपालिकाके प्रवक्ता राम विनय कुमार यादवलगायतले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषाको विकासमा हरेकले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रतियोगिताको लागि प्राप्त सम्पूर्ण कवितामध्ये उत्कृष्ट २५ कवितालाई छनौट गरी पुस्तक प्रकाशन गरी कार्यक्रममा सामूहिक लोकार्पण गरिएको थियो । पुस्तकको सम्पादन सञ्जय मित्र र किशुनदयाल यादव श्रीकृष्णले गरेका छन् ।

आयोजक संस्थाका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद कृष्णप्रसाद यादव, गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, पत्रकार चन्द्रकिशोर, योगेन्द्र यादव, विन्दा सहनी, नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नागेन्द्र राय यादव, पत्रकार मदन ठाकुरलगायतकालाई बज्जिका भाषाको क्षेत्रमा योगदान पु¥यावापत सम्मानित गरिएको छ ।

बज्जिका भाषा र साहित्यको विकासको लागि कार्यक्रम निकै महत्वपूर्ण भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया