जेठ ७, २०७६
नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो ।
यस सम्झौता अनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भन्नुभयो,
“हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आफ्नो बैंक खाताबाट सिधै ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
त्यसै गरी नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले भन्नुभयो,
“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौँ ।”
सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।
नेपाल एसबीआई बैंक भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवर्धनमा स्थापित बैंक हो । बैंकले हाल ८८ शाखा कार्यालयहरु, ७ वटा प्रादेशिक तथा क्षेत्रीय कार्यालयहरु, १ वटा मानवरहित अत्याधुनिक इनटच काउण्टर र १९ वटा एक्सटेन्सन काउण्टर सहित ११६ इकाई एवं र ११६ एटीएम मार्फत बैंकिङ सेवा सेवा प्रदान गर्दै आएको छ ।
कसरी डाउनलोड गर्ने खल्ती एप ?
खल्ती एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ ।
नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो (बायाँबाट तेस्रोे) र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदी (दायाँबाट दोस्रो) ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै ।
प्रतिक्रिया