सर्लाहीमा बज्जिकाको ऐतिहासिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ जेठ ५ गते १३:१७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

बज्जिका भाषाको विकासको लागि सर्लाहीमा ऐतिहासिक महत्वको कार्यक्रम सम्पन्न भएको छ । औपचारिकरुपमा सर्लाही जिल्लामा पहिलोचोटि आयोजना गरिएको कार्यक्रमको उदघाटन गर्दै संघीय साँसद डा. अमरेशकुमार सिंहले भाषा र संस्कृतिले समाजलाई जोड्ने बताएका छन् । काका सामुदायिक सिकाइ केन्द्र बलराद्वारा मावि बलरामा शनिवार आयोजित बज्जिका भाषा संगोष्ठी ः विगत, वर्तमान र भविष्य विषयक संगोष्ठीको उदघाटन गर्दै साँसद डा.सिंहले बज्जिका भाषाको प्रचारप्रसार अभियानलाई निरन्तर जोडिराख्नु जरुरी भएको पनि बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा विभागाध्यक्ष प्रा.डा.योगेन्द्र प्रसाद यादव, त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागका प्रा.डा. देवनारायण यादव तथा बज्जिका साहित्यकार सञ्जय मित्रद्वारा प्रस्तुत गरिएको विभिन्न पक्षको कार्यपत्रमाथि वरिष्ठ पत्रकार चन्द्रकिशोर तथा भारतका बज्जिका साहित्यकार डा.व्रजनन्दन वर्माले टिप्पणी गरेका छन् ।

नेपाल र भारतका दर्जनौँ साहित्यकार तथा भाषासेवीको उपस्थिति रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढीले विभिन्न विधाका रचनाको वाचन गरेका थिए । आयोजक संस्थाका अध्यक्षता सिकाइ केन्द्रका अध्यक्ष कामेश्वरप्रसाद सिंह र सबैलाई स्वागत डा. कमलेश्वरकुमार सिन्हाले गरेका थिए ।
कार्यक्रममा जितेन्द्रप्रसाद सिंहद्वारा प्रकाशित तथा सम्पादित बज्जिका प्रभात खबर साप्ताहिक पत्रिका र साहित्यकार सञ्जय मित्रद्वारा लिखित मुक्तककृति बज्जिका जिन्दावादको पनि लोकार्पण गरिएको थियो ।

मध्यपश्चिमी महोत्तरीदेखि मध्यपूर्वी बारा गरी चार जिल्लाका करिब २५ लाखले मातृभाषाको रुपमा बज्जिका बोल्ने गरेको दाबी कार्यक्रममा गरिएको थियो । २०६८ को जनगणनाअनुसार देशमा करिब ३ प्रतिशतले बज्जिका भाषा बोल्ने गरेको देखिएको छ ।

प्रदेश २ का प्रमुख तीन भाषामा बज्जिका पनि रहेकोले सरकारी कामकाजको भाषाको रुपमा हुनुपर्ने माग पनि सहभागीहरुले गरेका थिए ।
सर्लाहीमा पहिलोचोटि औपचारिक कार्यक्रम गरिएकोले बज्जिका भाषाको विकास र भाषाको चेतनासम्बन्धी विस्तारको दृष्टिले गोष्ठी ऐतिहासिक भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया