शनिबार, साउन ४ २०७६
काठमाडौं ०४:३६
वासिङटन डिसी 18:51

बेलायतमा किराँती ‘साकेला’ नाँच आकर्षण बन्दै

इनेप्लिज २०७६ जेठ ५ गते ११:५७ मा प्रकाशित
रोशन मेवाहाङ्ग / इनेप्लिज डट कम-
लण्डन, जेठ ५ । बेलायतवासी किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर) मा उँभौली यलेदोङ ५०७९ (वि स २०७६) साकेला चाँड भव्य रुपमा मनाए । किराँतहरुले हरेक बर्ष साकेला चाँड तथा उँभौली शिली प्रतियोगिता धुमधाम सँग मनाउने चलन छ ।
 
किराँती नाछोङ ( धामी ) किताबशेर राईले टाउकोमा सेतो फेटा  लगाई सुम्निमा-पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमि पूजा गरी थान वरिपरी नाचेर विधी अनुरुप कार्यक्रमको सुरुवात गरिएको थियो । 
किराँत राई यायोक्खा बेलायतको अध्यक्ष कल्पना राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र स्थानिय गिलफोर्ड बरो काउन्सिलका मेयर रिचर्डले आशन ग्रहण गरेका थिए । विशेष अतिथिहरु पूर्व सभासद तारा राई , कांग्रेस महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राई, एनआरएन  वेलायतका अध्यक्ष योग कुमार फगामी र बेलायतका विभिन्न क्रियाशील सँघ संस्था र जातिय संस्थाका दर्जनौ प्रतिनिधि र दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

‘सिमली सेउली गाडेर देवि र देउता भाकेर
पुर्खाको रीति साकेला मनाऔ शिली नाँचेर
सोई सोइला हो , सोई सोइला ।’

पृष्ठभूमिमा सहभागीहरु यस्ता भाकाका गीतमा रमाईरहेका थिए ।

यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराँती गाँउ बस्तीहरुमा कान कानमा गुज्यायमान भईरहेको सुनिन्छ ।ज्यान फनफनी घुमाउँदै, खुट्टा हल्लाउँदै युवायुवतीहरुले नाचेको दृश्य देख्दा र साकेला शिली सुन्दा  ६८ बर्षिय रत्नकुमार राई आफनो यौवनलाई संझना गर्दै रमाईलो मात्रै लाग्दैन रे अझै नाँचौ नाँचौ पनि लाग्छ रे ! युवाहरुको जोसिलो साकेला शिली देखेर उनि धेरै उत्साहित भएको बताए । बुढापाका मात्रै होइन् १३ बर्षिय  प्रकृति राई र अन्य जातिहरु पनि साकेला नाचेर मनोरञ्जन गरिरहेका थिए । 
 
कुन ठाँउमा बढि मात्रमा मनाईन्छ ?
साकेला चाँड राईहरुको महान चाँड हो । यो बर्षमा दुई पटक  उँभौली (बैशाखे पूर्णिमा) र उँधौली ( मङ्सिरे पूर्णिमा ) मा धुमधामले मनाईन्छ । साकेला नाँच राजधानी काठमाण्डौ लगायत नेपालको पूर्वी जिल्लाहरु विशेष गरेर पाँचथर,ईलाम, झापा, मोरङ जहदा देखि कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किराँती बस्तीहरुमा बढी मात्रामा प्रचलित र लोकप्रिय छ । त्यसैगरि अन्तर्रािष्ट्रय स्तरमा किराँती जनघनत्व भएका देशहरु भारत, सीक्किम,दार्जिलिङ,अमेरिका,बेलायत, हङ्गकङ्ग,जापान,कोरिया मलेशिया, कतार,अस्टे«लिया र बु्रनाईमा समेत अहिले भव्यरुपमा साकेला चाँड मनाउने प्रचलन बढेको देखिन्छ ।  
 साकेला खासमा के हो ?
नेपालको आदिवासी किराँत राईहरुको आफनै पहिचान छ । उनिहरुको आफनो धर्म,भाषा,संस्कृती रहेको नेपालको कुल जनसंख्या मध्य लगभग ४ प्रतिशत किराँत समुदायले साकेला चाँड मनाउदै आएको पाईन्छ ।  वसन्त ऋतुको आगमन सगै यस धर्तीमा बोटविरुवाहरुले पालुवा फेर्न थाल्छन् । बन-जंङ्गलमा चराचुरुङ्गीहरुले आ-आफ्नो भाका फेर्न थाल्छन । नयाँ बर्षको आगमनसँगै वैशाखे पूर्णिमा देखि औसीसम्म किराँती गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झयाम्टा निकालेर झन्डै १५ दिन सम्म यस पर्वमा रमाउँछन् । वास्तवमा यो पर्व किराँतीहरुले खेतीपाती लगाउने समय भएकाले अन्नवाली वा उव्जनी बढोस, आधीवेरी, असिना नपरीदियोस,अन्नबालीमा रोग नलागोस भनि किराँत राजा रानी सुम्निमा र पारुहाङ्ग सँग बल र शक्तीको आर्शीवाद माग्दै कुखुराको भाले बलिदिएर भूमी पुज्ने चलन चलिआएको पाईन्छ । बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै साकेला नाँच शिली नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (पोमी) र छिर्लिङ –(सिलिमा)  नाँचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्ने प्रचलन छ ।
 
साकेलाको भेषभुषा
नाँचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो,र्मुचुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी,मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।
साकेला उँभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उँधौली बाली उठाउने बेला मंङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किराँतहरुको मुन्धुम अनुसार १ बर्षलाई दुई भागमा बाडिन्छ (उँभौली र उँधौली) यसैको रुपमा यो चाँड मनाउने परम्परा चलिआएको पाईन्छ । उँभौली र उँधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उँभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गरिन्छ ।
यसै सन्र्दभमा अभिभावक र बुद्धीजिवीहरु भन्छन् प्रवाशमा रहे पनि आफ्नो धर्म, संस्कृती, संस्कार, परम्परा र चाँडलाई मनाउदै हाम्रा भावि सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ । स्वदेशबाट टाढाको बस्ती अर्थात विरानो देशमा रहेपनि आफ््नो संस्कार , संस्कृती र पहिचानलाई जीवित राख्नका निमित्त पनि साकेला चाँड मनाउदै आएको देखिन्छ ।
पौरानिक कथा
किराँतहरुको पौरानिक कथा अनुसार राजा पारुहाङ्ग सुन्दर संसार स्वर्गको गाँउमा बस्दथे । एक दिन उनलाई पृथ्वीतिर घुम्न मन लागेर भ्रमणमा लागे । पृथ्वीमा अचनाक किराँती महिला सुम्निमा सँगको भेट र त्यो भेटको पहिलो प्रेमको नजर मायालु भावमा झागिन सुरु हुन्छ । कुनै एक दिन पारुहाङ्गले विवाहको कामना गर्दै सुम्निमालाई कमाल कोर्ने काईयो उपहारको रुपमा हुलाकी दाई मार्फत पठाउछन् , जुन उपहारलाई केहि नसोचि सुम्निमाले सहज रुपमा स्वीकार गरिदिदा त्यो प्रेम बैवाहिक जीवनमा बाधिन सफल हुन्छन । किराँती राजा पारुहाङ्गको मायाको उपहार सुम्निमाले चार सन्तान दिन सफल हुन्छिन् भने पारुहाङ्गले झागिन्दै गएको आफ्नो सन्तान्कालागि आहारा खोज्न मुग्लान छिर्ने निर्णय लिन्छन् । पूर्वको दूधकोशी किनारमा आफ्ना सन्तान र जीवन साथि सुम्निमालाई छोडेर पारुहाङ्ग मुगलान हिड्छन । बाकि अंश क्रमश ।
 
प्रतियोगिता बन्यो रोचक पक्ष
बेलायतवासी किराँत राईहरुकोे आफनै भूमी ( १४६ रोपनी ) जग्गा वि स २०७२ सालमा अंग्रेज किसानबाट खरिद गरिएको हो । उक्त माङखिम तथा साकेला स्थलमा ०७३ सालबाट साकेला नाँच थालनी गरिएको थियो ।  बेलायत निवासी हजारौं किराँत राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको यो बर्षको साकेलामा ११ प्राम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक साकेला शिली प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा विशेष कौशल शिली नाँच प्रर्दशन गरिएको घोषणा गर्दै आश्फोर्ड केन्ट लाई शिल्ड र नगद नेपाली रुपैयाँ ६० हजार पुरस्कार  हस्तान्त्रण गरिएको थियो । 
 
महासचिब चन्द्रवति राई र उपमहासचिब,सनविर राई र  प्रमिला लाबुङ्ग राईले संयुक्त रुपमा कार्यक्रमलाई सञ्चालन गरेका थिए । 

प्रतिक्रिया