श्रीमतीलाई नर्स पढाउन जुत्ता सिलाउदै यी युवक [भिडियोसहित]

इनेप्लिज २०७६ वैशाख २८ गते १६:२० मा प्रकाशित

पिएनपीखबर, भक्तपुर। काम सानो ठुलो कदापी हुदैन। पछिल्लो समय ओ भनाईको गतिलो उदाहरण हो भरतको काम। सर्लाही, मलंगहवाका भरत च्यातिएको जुत्ता सिलाएर आफ्नो र आफ्नी श्रीमतीको जीवन पालिरहेका छन्।

ललितपुरको सातदोबाटो, हात्तीवन सडक किनारमा उनी पाँच महिना देखि पुराना जुत्ता,चप्पल र झोला सिलाइरहेका देखिन्छन्। भरतले १२ कक्षा पास गरेका छन्। श्रीमती दिपाली ठाकुरको पढ्ने इच्छा पूरा गर्न उनले आफ्नो पढाइलाई निरन्तरता दिएनन्। बरू श्रीमतीको पढाइ निम्ति उनी जुत्ता सिलाएर पैसा जम्मा गर्न थालेका छन् ।

दिपालीको स्टाफ नर्स पढ्ने धोको छ। उनको यही धोको अब भरतको सपना बनेको छ। भरतको बाबा पनि यही सडकमा ३५ वर्ष देखिको पुस्तैनी व्यापार धानिरहेका छन्। भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको अहिले ३५ वर्ष भयो।

भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अप्ठ्यारो भएको थियो। विभिन्न बहानामा उनलाई हटाउन खोजियो। तर, बाबुको ३५ वर्षे बिरासतले आफूलाई हटाउने प्रयास विफल भएको उनी सुनाउँछन्।

श्रीमती कै पढाइका लागि अहिले दुनियाका च्यातिएका फाटेका जुत्ता सिलाउदै उनी आफ्नो श्रीमतीको भाग्यरेखा कोर्न तल्लिन छन्। भरत भन्छन,’म त अब पढ्न सक्दिनँ, किनकि मैले पढेँ भने कमाउने कसले ? कमाइ नभए दिपालीलाई स्टाफ नर्स कसरी पढाउने ?’ भरतले थपे, हाम्रो बिहेलाई अहिलेसम्म उसको माइतीले स्विकारेको छैन। त्यही भएर म उसलाई जसरी पनि पढाउँछु।’

भरत र दिपालीले प्रेम विवाह गरेका हुन्। दिपालीका बाबु गाउँका मुखिया हुन्। भरतलाई तल्लो जातको भनेर ससुरालीले अहिले सम्म स्विकार गरेका छैनन। एक वर्षअघि दिपालीसँग बिहे गरेपछि उनको माइती पक्षले प्रहरी लगाएर भरतलाई सातदोबाटो थानामा थुनाएको थियो।

महिनाको छ हजार रूपैयाँमा दुई कोठा भाडामा लिएर बसिरहेका भरत अहिले दिनको ८ सयदेखि २ हजार रुपैयाँ कमाउँछन्। उनको बाबु पनि महिनाको झन्डै १५ हजार बचत गर्छन्। छोराको इच्छाअनुसार बुहारीलाई पढाउन ठागा राम पनि तयार छन्।

सातदोबाटो सडकमा भरतसँगै उनका दाजु राम पनि बस्छन्। भरतलाई भने उनका बाबुले प्रहरीमा भर्ती हुन भनेका छन्। तर भरतलाई भने प्रहरीमा जागिर खान मन छैन। यसैमा दुख गरी श्रीमतीलाई नर्स बनाउने सपना बनि सकेको छ।

बाँकी हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया