पोर्तुगलमा दुई नेपाली कृषि कामदारमाथि दुर्व्यवहार गर्ने ४ सैनिक निलम्बित, थप एक पक्राउ

इनेप्लिज २०७६ वैशाख २७ गते २२:१५ मा प्रकाशित

गणेश पाण्डेय , पोर्तुगल।

पोर्तुगलको विला नोवा डे मिलफन्ट्स क्षेत्रमा कृषिमा काम गर्ने २ जना नेपालीहरुलाई दुर्व्यवहार गर्ने पक्राउ परेका ४ जना जीएनआर सैनिक निलम्बित भएका छन् भने थप एक सैनिक पक्राउ परेका छन्। नेपाली कृषि मजदुर र कृषि व्यवसायका मालिकको बिचमा विवाद हुदा मालिक संगको सम्बन्ध र भनसुनको आधारमा ति सैनिकहरुले नेपाली कामदारमाथि दुर्व्यवहार, ज्यादती र शक्ति प्रदर्शन गरेका थिए।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप सैनिकहरुलाई लागेको छ।

आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नेपाली कृषि कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन र कुटपिट गरेका उनीहरुलाई अपरहण र ज्यान मुद्धा लागेको छ। बुधबार बिहान पक्राउ परेका ४ जना सैनिकहरुलाई कारवाहीको लागि बिहिबार अदालतमा उपस्थित गराईएको थियो भने अदालती बयान पछि थप एक सैनिक पक्राउ परेका छन्।

घटना अक्टोबर २०१८ हो। पिडित नेपालीहरुले सेनाको ज्यादतीको बारेमा पोर्तुगलको न्यायिक प्रहरीमा उजुरी दिएका थिए। पिडितहरुको उजुरी र प्रमाणका आधारमा यहाँको न्यायिक प्रहरीले घटनामा संलग्न सेनाका अधिकारीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया