शिवालयमा रेडक्रस दिवस, घाइते पूर्व विद्यार्थीलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ वैशाख २५ गते २३:१० मा प्रकाशित

पोखरा, वैशाख २५ गते । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलले विश्व रेडक्रस दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ ।

दिवसका अवसरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिवालय माविका पूर्व विद्यार्थी चन्द्र विकको उपचारका लागि सर्कलले आर्थिक सहयोग गरेको छ । शिक्षक, विद्यार्थी र रेडक्रसका सदस्यहरुबाट सङ्कलित नगद ६ हजार ९ सय २० रुपैयाँ हाल मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका चन्द्रका हजुरबुबा दुर्गाबहादुर विकलाई सर्कलका शिक्षक नायक जयराम सुवेदीले हस्तान्तरण गरे । टाउकोमा गम्भीर चोट लागेका चन्द्रको मणिपालमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

यसै बीच, युवा रेडक्रस सर्कल शिवालयको कार्यसमिति सरोज सुवेदीको अध्यक्षतामा पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा रेनुका ओझा, सचिवमा प्रताप विक, कोषाध्यक्षमा अङ्किता तिमल्सेना र सहसचिवमा आशिष सुवेदी चयन भएका छन् । सर्कलका सदस्यहरुमा समीक्षा राना मगर, विदुर अधिकारी, विपिन ओझा, आरती सुर्खाली र साधना ओझा रहेका छन् ।

सर्कलका संरक्षक तथा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक जयराम सुवेदीले रेडक्रसको महŒवमाथि प्रकाश पारेका थिए । विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी थुम्की उपशाखाका सदस्य ऋषिराम ओझाले रेडक्रसले अङ्गिकार गरेको सिद्धान्तबाट विद्यार्थीहरुमा सेवाको भावना जाग्ने धारणा राखे ।

हरेक वर्ष मे ८ मा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाउने गरिएको छ । ड्युनाको जन्म सन् १८२८ मे ८ मा स्वजरल्याण्डमा भएको थियो ।

प्रतिक्रिया