मंगलबार, भदौ ३१ २०७६
काठमाडौं २०:३०
वासिङटन डिसी 10:45

मस्कोमा निवर्तमान जीवित देवी कुमारीको भव्य स्वागत-सम्मान कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७६ वैशाख १४ गते २:४४ मा प्रकाशित

यस साल अप्रील महिनामा रूसको राजधानीमा वसन्तागमनका साथै नेपालकी निवर्तमान कुमारी मतिना शाक्यको सप्ताहव्यापी यात्रा सफलतापूर्वक सुसम्पन्न भएको छ ।

नेपालकी निवर्तमान जिवीत देवी कुमारी मतिना शाक्यको जन्म सुनिता शाक्य र प्रतापमान शाक्यको सुपुत्रीको रूपमा भाद्र १० गते २०६२ सालको कृष्णजन्माष्टमीका दिन इटुम्बाहाल (काठमाडौं) मा भएको हो । वि.सं. २०६५ को आश्विन १२ गते महाअष्टमी (कुछिभ्वय्) को शुभमूहूर्तमा कुमारी देवीको श्रीपद प्राप्त गरी ९ वर्ष (र्इं.सं. २००८-२०१७) सम्म कुमारी घरस्थित मयुराशनमा विराजमान भएर वि.सं. २०७४ को आश्विन २० गतेसम्म नेपालकी अधिष्ठाता देवी तुलजाभवानीको प्रतिनिधित्व गरी सर्वसाधारणदेखि लिएर सर्वोच्च शासकसम्म सम्पूर्ण हिन्दू तथा बौद्ध धर्माबलम्बीहरूबाट पूजित भएर रहेकी मतिना शाक्यसंग मास्कोवासी नेपालीहरूका साथै उनका रूसी मित्रहरूले समेत साक्षात्कार गर्ने सुअवसर पाएका थिए ।

कुमारीघरका अभिभावक महेन्द्ररत्न शाक्यको संरक्षणमा आफ्ना माता-पितासहित रूसमा नेपालकी निवर्तमान जीवित देवी कुमारी मतिना शाक्यको यो सर्वप्रथम सप्ताहव्यापी यात्राभ्रमण थियो । यस यात्राकालमा नेवारीमा सम्मानपूर्वक ‘द्योमैंजु’ भनेर सम्बोधन गरिने देवी कुमारीलाई आफ्ना सहयात्रीहरूको साथमा रूसको राजधानीका दर्शनीय स्थलहरू (लालमैदान, हीरा-जवाहरात भण्डारलगायत क्रेमलिन परिसर, गगनचुम्बी भवनको अवलोकन-स्थल, सर्कसको कार्यक्रम, अक्वारियमका तालिमप्राप्त जलजीवी जन्तु, मास्को नदीमा नौकाविहार आदि) अवलोकन गराइनुका साथै मास्कोबाहिर रहेको अन्तरिक्षयात्री प्रशिक्षण केन्द्र ज्वेज्द्नी गोरोद (तारानगरी) मा अन्तरिक्ष उडानका वैज्ञानिक प्रविधि र उपलब्धिहरूबाट अवगत हुने र पृथ्वीबाहिरको यात्रा गर्ने अन्तरिक्षयात्रीसङ्ग भेट गरी कुराकानी गर्ने समेत मौका प्राप्त भएको थियो ।

खास गरी रसियाली जनमैत्री विश्वविद्यालयमा १८ अप्रिल २०१९ (वृहस्पतिवार) का दिन डा. भीष्म आचार्यको अग्रसरतामा आयोजित भेटघाट कार्यक्रम सुसम्पन्न भयो । एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकाशोन्मुख मुलुकहरूका लागि अत्यावश्यक राष्ट्रिय विशेषज्ञहरूको तैयारीमा योगदान पुर्‍याउने उद्देश्यले सोभियत सरकारद्वारा सन् १९६० मै स्थापना गरिएको त्यतिखेर मास्कोको यस दोस्रो विश्वविद्यालयमा नेपालकी राजकीय कुमारीको सम्मानमा सम्पन्न भेटघाट कार्यक्रममा अन्तर्राष्ट्रीय क्रियाकलापसम्बन्धी प्रोरेक्टर एल.र्इ.एफ्रेमोभा, विदेशी विध्यार्थी भर्नासम्बन्धी विभागका निर्देशक एन.भी.क्रिभोलापोभ, एशियाली विभागका उपप्रमुख आ.ए.एर्सोभ, विश्वविद्यालयअन्तर्गतको संग्रहालयका निर्देशक भी.एन.भेलिच्किन प्रभृतिको समुपस्थिति रहेका थियो । निवर्तमान जीवित देवी कुमारी मतिना शाक्यको हार्दिक स्वागत गर्दै नेपालमा पढाइ समाप्त गरिएपछि भविष्यमा कुमारी देवीको निम्ति उच्चशिक्षा प्राप्तिका लागि रसियाली जनमैत्री विश्वविद्यालयको तर्फबाट सहर्ष छात्रवृत्तिको व्यवस्था गरिने छ भन्ने सदीक्षा पनि व्यक्त गरिएको थियो ।

त्यसको भोलिपल्ट नेपाली संस्कृतिका प्रशंसक र प्रचारक रवीन्द्र भट्टराईको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासमा सम्पन्न गरिएको जीवित देवी कुमारीको पूजाअर्चनासहित भव्य स्वागत-सम्मान समारोह उल्लेख्य हुनुका साथै निवर्तमान जीवित देवी कुमारी र देवीको साथमा आउने पाहुनाहरूका लागि र त्यस कार्यक्रमका सहभागी नेपालीराजदूतावास–परिवार, रआजासीय नेपाली संघका अध्यक्ष रामेश्वर गौतमसहित नेपालीहरू र तिनका रसियाली मित्रहरूका लागि पनि अविस्मरणीय क्षण रहिरहने छ भन्नु अत्युक्ति हुने छैन । भित्तामा जताततै जीवित देवी कुमारीसित सम्बन्धित रंगीन पोष्टरहरू र ठूलो साइजका चित्रहरूले सिंगारिएको रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा १९ अप्रिल २०१९ (शुक्रवार) का दिन नेपालको राष्ट्रिय झण्डाको बगलमै फलफूल, नैवेद्य र पूजा-सामग्रीद्वारा सजाइएको टेबुलमा वर्तमान जीवित देवी कुमारीको छविचित्र राखिएको थियो । त्यसैको छेउको कौचमा निश्चल, निष्पक्ष र निर्विकार भावमा निवर्तमान जीवित देवी कुमारी मतिना शाक्य विराजमान थिइन् भने बगलमै उनका पिता र अभिभावक कुमारी देवीअङ्कित छड्के शोभापट्टसहित नेपाली पोशाकमा सजिएर कुमारी देवीका अङ्गरक्षकझैं उभिएका थिए ।

निवर्तमान कुमारी मतिना शाक्यको मास्को यात्राका मास्को यात्राको व्यवस्थाका लागि इगोर ओगोरोद्निकोभको अध्यक्षतामा गठित आयोजक समितिको तर्फबाट स्वागत-सम्मान समारोहका संयोजक रवीन्द्र भट्टराईबाट समारोहमा उपस्थित नेपाली तथा रूसी सबै आमन्त्रित अतिथिहरूको स्वागत गरिएपछि महामहिम नेपाली राजदूत ऋषिराम घिमिरेज्यूले मास्कोमा पहिलोपल्ट जीवित देवी कुमारीको स्वागत-सम्मान गर्न पाइएको सन्दर्भमा हर्ष प्रकट गर्दै बुद्धधर्मको अध्ययनार्थ सन् १८७५ मा सर्वप्रथम नेपाल पुगेका रूसी प्राच्यविद् इभान मिनाएभको यात्राकालदेखि नै नेपाल र रूसबीच जनस्तरीय सम्पर्क र सम्बन्ध कायम रहिआएको र निवर्तमान जीवित देवी कुमारीको मास्को आगमनबाट हाम्रा दुवै मैत्री राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि रूसका पूर्वराजदूत सेर्गेइ भेलिच्किनले नेपाली संस्कृतिमा जीवित देवी कुमारीको पूजा-आराधनाको प्रचलन विश्वमै अद्वितीय र मौलिक रहेको स्मरण गर्दै नेपालमा आफ्नो कार्यकालमा अनुभव गरिएका अविस्मरणीय सामाजिक र सांस्कृतिक परिघटनाहरूको संक्षेपमा विश्लेषणात्मक र सारगर्भित निष्कर्ष प्रस्तुत गर्नुभयो ।

जीवित देवी कुमारीका अभिभावक महेन्द्ररत्न शाक्यबाट नेपालमा जीवित देवी कुमारीको प्रादुर्भाव, कुमारी पूजाको परम्परा र प्रथाबारे अतीतका महत्वपूर्ण परिघटनाहरूको स्मरण तथा किम्बदन्तीहरूको पनि वर्णनसहित सांगोपाङ्ग विवरण प्रस्तुत गर्दै हिन्दू तथा बौद्ध धर्माबलम्बी सम्पूर्ण नेपालीहरूबाट ससम्मान पूजा गरिने राजकीय कुमारीको गरिमाको महिमा-वर्णन गरिएको थियो । महेन्द्ररत्नज्युको वक्तव्यको नेपाली अनुवाद डा. ध्रुवदास उलकबाट गरिनुका साथै निवर्तमान जीवित कुमारीको मास्को यात्राको व्यवस्थाका लागि गठित आयोजक समितिकी सदस्या दुर्सुन आलिएभाले रूसी भाषामा राजकीय कुमारीको विभिन्न पक्ष्यबारे विस्तृत रूपमा प्रकाश पारेकी थिइन् । यसबाट सभाकक्षमा उपस्थित रसियाली सज्जन तथा महिलाहरूले कुमारीको परम्पराबारे धैरै नयाँ तय्य-कुराहरू थाहा पाएका थिए ।

त्यस भव्य समारोहमा मलाई पनि दुर्इ शब्द राख्ने सुअवसर प्रदान गरिएको थियो । मल्लकालदेखि नै नेपाल नरेशहरूकी स्वेष्टदेवी मानिने अदृश्य वैदिक हिन्दू देवी भगवती तलेजु (तुलजा भवानी) को जीवन्त मूर्तरूप (शाक्यमुनि सिद्धार्थ गौतम बुद्धकै वंशज र बौद्ध धर्मावलम्बी शाक्य कुलकी सानी बालिका) जीवित देवी कुमारी हुन् । हिन्दू र बौद्ध दुवै धर्मका पुजारी (कर्माचार्य र बज्राचार्य) बाट वैदिक तथा तान्त्रिक पद्धतिबाट पूजा गरिने र यी दुवै प्रमुख धर्मका अनुयायीहरूबाट समान रूपले पूज्य मानिने जीवित कुमारी देवीको बारेमा पूर्व वक्ताहरूबाट विस्तृत प्रकाश पारिसकिएको परिप्रेक्ष्यमा मैले समयाभावले गर्दा निम्न केही बुँदाहरूको मात्र छोटकरीमा चर्चा गरेको थिएँ ।

हिन्दूहरूले आदिशक्ति र बौद्धहरूले बज्रशक्ति मान्ने कुमारी देवी शिवको तेस्रो नेत्रको ज्योतिपुञ्जबाट उत्पन्न भएकी हुन् । प्रकृति तत्वको उर्वराशक्तिको प्रतिनिधित्व गर्ने कुमारी देवी नारी शक्तिकी द्योतक देवी हुन् ।

कुमारी देवीले विभिन्न समयमा विभिन्न तरीकाबाट उत्पन्न भई असुरको बध गरेको मानिन्छ । कहिले रूखको तोड्काबाट उत्पन्न भई चण्डासुरको बध गर्ने कुमारी (बनेपाकी चण्डेश्वरी) त कहिले मानवकै कोखबाट जन्म लिने नवजात बालिका जसलाई कंसले कृष्णको सट्टा ढुङ्गामा पछारेर मार्न खोज्दा उम्किएर ‘तेरो बध गर्ने शिशु जन्मिसकेको छ’ भन्ने भविष्यवाणी गरी आकाशमार्गबाट उडेर विन्ध्याचल पर्वतमा वस्न गएकी हुँदा ‘विन्ध्यवासिनी’ नामले पूजा गरिने कुमारी आदि ।

कुमारी देवीमा आठ दिशाकी अधिष्ठाता देवी अष्टमात्रिकाका साथै गणेश (स्वर्गको देवसेनाका गणपति) र काल (पातालका अधिष्ठाता कालभैरव) सहित दशै दिशाका १० देवीदेवताहरूको शक्ति सन्निहित छ । सम्भवतः त्यसै कारण कुमारी जात्रामा कुमारी देवीको रथका साथै गणेश र भैरवका रथहरू पनि समाविष्ट हुन्छन् ।

अष्टमात्रिकामध्येकी एक देवी कौमारी र शिशुदेवी कुमारीको अर्थसाम्यताका आधारमा अधिकांशले यी दुवै देवीहरूलाई एकै ठान्नेगरेको पाइन्छ । तर माथि भनिएअनुसार कुमारीमा आठै देवीहरूको शक्ति निहित हुनाले कुमारीमा त कौमारीको एक अंश मात्र शक्ति रहेको स्पष्ट हुन्छ । त्यसैले कौमारी र कुमारी भिन्न भिन्न देवी हुन् ।

यसै परिप्रेक्ष्यमा युद्धका देवता कुमार (स्कन्द वा कार्तिकेय) र कुमारीको नाम पनि एउटै मूलबाट बन्नुका साथै यी दुवैको हातमा खड्ग र वाहन पनि मयुर नै हुनाले कुमारी देवी युद्धका देवता कुमारकी शक्ति हुन् कि भन्ने प्रतीत हुन्छ । तर गहिरेर विचार गर्ने हो भने कुमार शिवका पुत्र मानिनु र कुमारीको उत्पत्ति पनि शिवको तेस्रो नेत्रबाट हुनुले उनीहरूबीच भाइ र बहिनीको साइनो पर्नुका साथै कुमारी आजन्म अविवाहिता रहने हुँदा उनी आद्यशक्ति हुनाले अरु कुनै देवताको शक्ति हुन सक्तिनन् भन्ने स्पष्ट नै छ । निसन्देह नै युद्धका देवता कुमार र देवताहरूका शत्रु दानवको संहारका लागि नै उत्पन्न भएकी युद्धकी देवी कुमारीको आयुध र वाहन समेत समान हुनु विचारणीय छ ।

मैले उक्त समारोहमा छोटकरीमा उपरोक्त बुँदाहरूको चर्चा गर्दै नेपालको राजधानीमा जीवित देवी कुमारीको तीनदिने रथजात्राकै अवसर पारेर गोर्खाका राजा पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण अभियानको सफल समाप्ति गरिनुका साथै तत्कालीन कुमारीबाट टीका ग्रहण गरी उपत्यकाको नेवारी संस्कृतिलाई राजकीय मान्यता प्रदान गर्दै काठमाडौंलाई नै नवोदित एकीकृत नेपाल राष्ट्रको राजधानी घोषित गरिएको महान् दिनको वाषिर्कोत्सवको पनि द्धोतक हो कुमारिजात्रा । यस कुरामा पनि जोड दिंदै मैले नेपालीमा अनुवाद गरेको दागेस्तानी जनकवि रासुल हाम्जातोभको ‘जीवित देवी कुमारी’ शीर्षकको काव्यबाट ‘कुमारीस्तुति’ भन्न सकिने अंश सुनाएको थिएँ ।

 

तत्पश्चात् यो काव्यसहित रासुल हाम्जातोभबाट रचिएका नेपाल विषयक काव्यहरूको नेपाली अनुवादसहित ‘दुर्इ देवताप्रति’ शीर्षकमा प्रकाशित र चित्रकार इभान कोजोरेजोभले खिंचेका नेपालका रमणीय दृश्यचित्रले सिंगारिएको आभार भाषाबाट रूसी तथा नेपालीमा अनुवादसहित त्रिभाषिक सचित्रग्रन्थ निवर्तमान जीवित कुमारी देवीलाई चढाइयो ।

अन्त्यमा कुन कुरामा जोड दिन चाहन्छु भने निवर्तमान जीवित कुमारीको मास्को यात्राको व्यवस्थाका लागि गठित आयोजक समितिका अध्यक्ष इगोर ओगोरोद्निकोभको अथक प्रयासको फलस्वरूप द्योमैजु मतिना शाक्यको सप्ताहव्यापी रूस यात्रा सफतलापूर्वक सुसम्पन्न भएको छ । रूसमा पहिलोपल्ट सम्पन्न गरिएको यस महत्वपूर्ण परिघटनाका आयोजकहरूप्रति साधुवाद व्यक्त गर्दछु ।

दिनाङ्क : २३ अप्रील २०१९ (मङ्गलवार)
मास्को, रूस महासंघ ।

प्रतिक्रिया