पशुपति परिसरमा श्रीराम कथा ज्ञान महायज्ञ

इनेप्लिज २०७६ वैशाख ४ गते २१:४३ मा प्रकाशित

मदनकृष्ण सिलवाल

काठमाडौँ, ४ वैशाख । हिन्दू धर्मावलम्वीहरूको आस्थाको केन्द्रविन्दु पाशुपत क्षेत्र यतिबेला श्रीराम कथा ज्ञान महायज्ञका कारणले बढ्ता चहलपहल बढेको छ । रामनवमी -चैतेदशैँ_ को पावन अवसरमा श्री शक्ति महिला समूहको सत्संकल्पमा राष्ट्रशान्ति तथा भातृत्व अभिवृद्धिको कामना गर्दै आराद्यदेव भगवान् श्री पशुपतिनाथको सानिध्यमा पशुपति परिसर, झम्केश्वरी प्राङ्गणमा श्री रामकथा शैलीमा, विभिन्न झाँकीहरूसहित महायज्ञको सुरुवात गरिएको हो ।


श्री प्राणनाथ सेवा आश्रम देवघाटकी प्रमुख संरक्षक एवं नेपालकी पहिलो भागवत वाचिका विदुषी सुश्री तारा घिमिरेज्यूको मुखारविन्दबाट वाचन भैरहेको श्रीराम कथा ज्ञान महायज्ञमा सपरिवार सहभागि भई पुण्य आर्जन गर्नुहुन समस्त भक्तजनहरूमा आयोजक समितिले सादर निमन्त्रण समेत गरेको छ ।

उक्त ज्ञान महायज्ञ गत चैत्र ३० गते विहान ८:३० बजे कलश यात्राबाट सुरु गरिएको थियो भने सोही दिन विहान ११:०० बजे सभासद् माननीय नरोत्तम वैद्य, धार्मिक गुरुहरूलगायतले समुद्घाटन गर्नुभएको थियो ।


महायज्ञमा दैनिक रुपमा बिहान ७:०० देखि ८:३० बजेसम्म मण्डप पूजा, पाठपारायण एवं मर्यादापरुषोत्तम श्रीराम पूजाअर्चना गर्ने गरिन्छ, त्यस्तै विहान १२:१५ देखि दिउँसो २:०० बजेसम्म संगीतमय कथा वाचन, दिउँसो २:०० देखि २:४५ सम्म विशिष्ट सन्त एवम् अतिथिहरूको सम्वोधन एवम् भजनकीर्तन गर्ने गरिन्छ भने दिउँसो २:४५ देखि अपराह्न ५:०० सम्म संगीतमय कथा वाचन हुनुको साथै अपराह्न ५:०० मा आरती एवं प्रसाद विवरण हुने गरेको छ । महायज्ञको आउँदो वैशाख ८ गते विहान ११:०० बजे पूर्णाहुति, यज्ञ समापन तथा प्रसाद वितरण गरिने आयोजक संस्था श्रीशक्ति महिला समूहकी अध्यक्ष सीता श्रेष्ठ खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया