नयाँ वर्षमा विभिन्न खालको दुर्घटनाको संभावना छ सावधान रहनुपर्छः ज्यो. दीपक सुवेदी

इनेप्लिज २०७६ वैशाख ३ गते ११:२५ मा प्रकाशित

बैशाख ३, काठमाडौं । नयाँ वर्षको सन्दर्भ पारेर ज्योतिषीहरुको विभिन्न अभिव्यक्तिहरु आइरहेका छन् । यसपटक मिडियाहरुमा पनि ज्योतिषीहरुका अनुहार बढी नै देखिए । कतिपय मिडियाले त भ्युवर बढाउनलाई हुनसक्छ खासै ज्योतिष शास्त्रको अध्ययन नभएका नामकामात्रै ज्योतिषीलाई बोलाएर एक खालको आतंक नै मच्चाउने खालका अन्तर्वार्ता दिन लगाए । मिडियामा अनुहार देखाउन पाएका स्वनामधन्य केही नक्कली र सक्कली दुबै खाले ज्योतिषहरुले कति बोल्न हुन्छ कुन सिमाभन्दा बढी बोल्न हुन्न त्यसको कुनै प्रवाह नगरी कुर्लिए । एक किसिमले भन्ने हो भने यतिबेला सामाजिक सञ्जाल ज्योतिषमय भएको छ ।

यसै सन्दर्भमा सोमवार राती एउटा भिडियो युट्युबमा देखियो । त्यो भिडियो थियो बेलाबेलामा ज्योतिष फलादेश गरी राजनीतिक क्षेत्रलगायतको ध्यानाकर्षण गर्न सफल भएका ज्योतिषी दीपक सुवेदीसँग न्यूज अभियान टि.भि.को लागि साझा भिजन मिडियाको तर्फबाट सागर श्रेष्ठले लिएको अन्तर्वाता । दुई वर्ष अघि सागरले ज्यो. सुवेदीसँग लिएको अन्तर्वार्ता निकै चर्चामा पुगेको थियो । सुवेदीले ग्रहस्थिति प्रतिकूल भएकोले एक चरणमा निर्वाचन सम्भव नभएको बताएपछि सरकारले निर्वाचन दुई चरणमा र प्रतिनिधि सभाको निर्वाचन तीन चरणमा गराएको थियो ।

सुवेदीले झ्याप्पै मुख खोल्दैनन् । खोलेपछि ज्योतिषीय मापदण्डको राम्रो विश्लेषण गरेर मात्रै खोल्छन् र उनले भनेको पुग्छ भन्ने मान्यता आमसर्वसाधारणको रहेको छ । नयाँ वर्ष पनि त्यति राम्रो छैन भन्ने ज्योतिषीहरुको भनाई आइरहेको बेलामा न्यूज टिमको पनि ज्यो. सुवेदीले के बताएका रैछन् भन्ने तर्फ ध्यान केन्द्रित भयो । यस पटकको अन्तर्वार्तामा उनले केही कुरामा गोचरग्रह नराम्रो रहेको कुरालाई बताएका छन् । ‘वायू एवं बाढी, भूक्षय, अग्निप्रकोप, भूकम्प आदिजन्य दैवी विपत्ति साथै यातायात, यान आदि दुर्घटना । आन्तरिक झगडा, द्वन्द–युद्ध, धनजनको क्षतिखति जस्ता विषम परिस्थितिको सृजना हुनसक्ने र हताहतीको समेत संकेत ग्रहस्थितिले गरेको हुनाले सम्बन्धित सबै सचेत हुन जरुरी देखिन्छ’ मध्याह्न दैनिक बैशाख एक मा उनले उल्लेख गरेका छन् । नभन्दै नयाँ वर्षको पहिलो दिनै नेपालमा यान र सवारी साधन दुर्घना भइ जनधनको क्षति भयो ।

अन्तर्वार्तामा उनले अल्लि छुट्टै ढङ्गले नेपाललाई नौ ग्रहमात्रै हैन माफिया जस्ता विभिन्न अरु ग्रह पनि लाग्ने गर्छ भनेका छन् । नराम्रो मात्रै नभएर कर्मयोग गर्ने उद्योगी, व्यवसायीहरुको लागि वर्ष राम्रो पनि रहेको, आयआम्दानीको पक्ष राम्रो भएको उनले बताएका छन् । राजसंस्थाको बारेमा सोधिएको जिज्ञाशामा उनले राजा ज्ञानेन्द्र र उनको नाति हृदयेन्द्रको ग्रह निकै राम्रो भएकोले राजसंस्थाको पुनर्वहालीको सम्भावना अत्यतिधक छ तर सम्बन्धितहरुको बुद्धिमा लागेको ढक्कनको बिर्को अझै खुल्न सकेको छैन भनेका छन् । उनले बताएका सबै कुरा अन्तर्वार्ताको भिडियोमा हेर्नसक्नु हुनेछ –

प्रतिक्रिया