समय-लघुकथा

इनेप्लिज २०७५ चैत २८ गते २१:४३ मा प्रकाशित

अर्जुन थापा

गाउँबाट छोरा बुहारीलाई भेट्न काठमाडौं आउँछिन आमा । उनको धेरै जसो समय पुजा पाठमै बित्ने गथ्र्यो । उनको पुजा पाठको गाउँभरि चर्चा हुने गथ्र्यो । काठमाडौं बसाईको क्रममा उनले यो थाहा पाउछिन कि बुहारीले महिनावरी भएको बेला पनि खाना आफै पकाउछिन भनेर ।

“पुजा पाठ त गर्न छाड्यौ नै । अब महिनावारी भएको बेला पनि भान्छामा गएर सब गर्ने । त्यहि भएर पो रहेछ भगवान खुशी नभएका । सपना पनि उउटै राम्रो नदेखेकि रहेछु मैले । हाम्रा पालामा गोठमा गएर सात दिन कति कष्ट गरेर बार्नु पथ्र्यो भने तिमीहरुलाई यति आराम पाउँदा सम्म भएन । के थाहा छोरा संग पनि संगै सुत्ने होला नछुने भएको बेला । कति दुःखले कायम राखेकी थिए आफ्नो धर्मकर्मलाई तर तिम्रो कारण सब नष्ट भयो ।” भुत भुत गर्दै बुहारीलाई सुनाउछिन् ।

सासुको सबै कुरा सुनि सकेपछि ।

“आमा, घरमा काम गर्ने अरु मान्छे छैन । हजुरको छोरालाई घरको काम गर्नु भनेको आइमाइको काम हो भन्नु हुन्छ । छोरी सानी छे । त्यसलाई के भनु । बिहान गएकी छोरी एकै पटक बेलुका फर्किन्छे । मैले भान्छामा जानु हुँदैन स्कुल भोकै जाउ भनेर पठाउनु भएन । एक दिनको कुरा होइन । मलाई पनि अफिस जानुपर्छ । भोक भोकै सातै दिन अफिसमा गएर खादा जिउलाई सन्चो गर्दैन । शुरुशुरुमा छोरीलाई पनि बिस्कुटको भरमा पठाएको थिए । आफु पनि घरबाट भोकभोकै अफिस गएर खाएको थिए । त्यसो गर्दा एक छोरीलाई सन्चो भएन । अर्को म आफै बिमारी परे । हजुरलाई पनि थाहा छ । मलाई यस्तो बेला अलिक बढी गाह्रो हुन्छ । केही खान मन लाग्दैन । अरु केही नभए पनि बिहान उठेर एक ग्लास तातो पानी समेत पिउन पाइन । अब हजुर आफै भन्नु कि, भगवान रिसाउँछन् भनेर हजुरकी नातिनीलाई भोक भोकै स्कुल पठाएको ठिक कि पेटभरी टन्न खाना खुवाएर पठाएको ठिक ? मैले के गर्दा चाहि भगवान खुशी हुन्छन् होला त आमा ?” हासेर प्रश्न गर्छिन सासुलाई बुहारी ।

“लौ, लौ जे मन लाग्छ त्यहि गरेस ।” भन्दै बत्ती कात्न थाल्छिन् सासु ।
समाप्त !

[email protected]

प्रतिक्रिया