आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:३१
वासिङटन डिसी 16:46

सडकमा गीत गाउँदै रंगशालाको लागि रकम जुटाउँदै १८ वर्षीय युवा [भिडियोसहित]

इनेप्लिज २०७५ चैत २७ गते २१:४२ मा प्रकाशित

पिएनपीखबर, भक्तपुर। सडकमा गीत गाउँदै हिड्ने शुलभ मिश्रको परिचय लामो छैन । तर उनको सपना निकै लामो छ। लमजुङमा जन्मिएका उनी चितवनस्थित फुपूको घरमा हुर्किए। बाबु आमा भारत मणिपुरमा बस्छन्। मणिपुरसँग कुनै साइनो जोडिएको छैन, न पुर्ख्यौली नाता नै पर्छ। काम खोज्दै जाँदा मणिपुरको पहाड पुगेका आमाबाबु माटो ओल्टाइपल्टाइ पार्दापार्दै त्यहीँका आप्रवासी भएका छन् । दुईचार वर्षमा देश सम्झेर आउँछन्, फेरि परदेशी भइहाल्छन्। यसो भनौँ न घरका बाधा पन्छाउन भारत पसेका उनका बाआमालाई मणिपुरले नै ‘बाँधा’ बनाएको छ।

बाबुआमा हिँडेको परदेशको बाटोमा सुलभले समेत पैताला नओछ्याएका होइनन्। तर, मणिपुरले शिक्षाको सुर बसाउन सकेन। पैसा त कमाइएला तर शिक्षाबिनाको जिन्दगी अपूरो हुने ठानेर स्वदेश नै फर्किए। र, फुपूको छत्रछायामा हुर्किए। उनलाई बाल्यकालको पुछारमा आइपुग्दा जिन्दगी भनेकै गितारको तार लाग्थ्यो। “कसैले जिन्दगी भनेको को हो भनेर सोधेको भए, मेरो जवाफ गितार नै हुन्थ्यो होला,” बाल्यकाल सम्झिएर हाँस्छन् उनी।

संगीतसँग एकोहोरो प्रेममा थिए उनी। पछि गितार पनि थपियो। गितारबारे उनको जीवनमा एउटा रमाइलो किस्सा छ– आठ कक्षामा पढ्थे उनी। विपरीत लिङ्गीप्रति आकर्षित हुने उमेर। तर, उनको आकर्षण गितारतिर पो ढल्कियो। बाटामा कसैले गितार बोकेर हिँडेको देखे भने आँखा भिमिक्क नगरी हेर्थे। “यसैगरी गितार काँधमा राखेर हिँड्न पाए क्या स्वादिलो हुन्थ्यो जिन्दगी,” मनमनै आस्वादित हुन्थे उनी।

निजी विद्यालय पढेका उनको विद्यालयको माहोल पनि सांगीतिक थियो। सभा, सम्मेलन, अभिभावक दिवस संगीतले श्रुतिमधु बन्थ्य। स्थानीय ब्यान्डका प्रस्तुतिले गुञ्जायमान हुन्थ्यो माहोल।

स्कुलले कखरासँगै सारेगमपधनिसा पनि सिकाउँथ्यो । संगीतको भोक बिस्तारै जाग्दै गयो। संगीतको तृष्णामा गितारको अभाव खट्कियो उनलाई। बाबुआमा मणिपुर। पढ्न र अरु खर्च उनी समक्ष पैसा भनेका बेला नआउने। दुई हजार सापटी मागेर गितार किने। त्यो पनि अर्काले भोगचलन गरिसकेको– ‘सेकेन्डह्यान्ड’ ! “मैले गितार किनेको कुरा फुपूलाई समेत थाहा थिएन। लुकीलुकी बजाउँथेँ,” उनी अहिले सम्झन्छन्।

ऋण तिर्न उनलाई कम्ती सकस परेन । झन्डै दुई महिना स्कुलमा खाजा खाएनन् । कापी–कलम हराएको बहाना गर्नुपर्‍यो । “काँधमा गितार बोक्दा दुनियाँकै वैभवशाली र शक्तिशाली मानिस हुँ जस्तो लाग्थ्यो । गितारका तारमा हात दौडाउँदा संसारै आफ्नो पोल्टामा परेको भान हुन्थ्यो,”– बिर्सिएका छैनन् सुलभले ।

दुईवर्षअघि काठमाडौँ आए– संगीतको तृष्णा पनि साथै लिएर। तार छिन्न लागेको गितार बाहेक साथमा केही थिएन। तै पनि सपनालाई पछ्याउन छाडेनन्। न्यु समिट कलेजमा व्यवस्थापन संकायमा भर्ना त भए तर संगीतसँगको एकतर्फी प्रीतिले निद्रा गुमनाम तुल्याइदियो। करिब ६ महिनाअघि संगीत प्रस्तुतिको नवीन विधाको सूत्रपात गरे– ‘स्ट्रिट म्युजिक’। त्यसको पनि एउटा किस्सा छ–

सुलभ र सामाजिक सञ्जाल पर्यायजत्तिकै थियो कुनै बेल । संगीतप्रतिको तीक्ष्ण लगावले हुनुपर्छ सामाजिक सञ्जालमा घन्टौ घोत्लिइरहन्थे। ‘वेस्टर्न’ अर्थात् पाश्चात्य गीत–संगीतबाट अत्यन्त प्रभावित। त्यहाँबाट नूतन र नवीन शैली अनुदित गर्न चाहन्थे। इद शीरन उनका मन पर्ने गायक। उनको अफिसियल फेसबुक घन्टौँ सर्च गर्थे। दर्शकलाई मुग्ध तुल्याउने उनको गायन कौशल र गीतिशिल्प उनको कौतूहलको विषय थियो। खोजी गर्थे उनी।

करिब ६ महिनाअघिकै कुरा हो– एउटा तस्बिरमा आँखा पर्‍यो। शीरनको बाल्यकालको तस्बिर हुनुपर्छ । जहाँ शीरन गितार समाउँदै गीत गाइरहेका थिए भने उनको अघिल्तिर गितारको कभरमा दुईचार डलर पैसा फिंजाएको देखिन्थ्यो। “यस्तो विश्वविख्यात गायक पनि कुनै बेला सडकमा रुमाल ओछ्याएर गीत गाउने !” उनको दिमागमा नयाँ तरङ्ग पैदा भयो।

“ठूल्ठूला मानिसको जीवन सङ्घर्ष पनि सडकबाटै शुरू हुँदो रहेछ। म पनि सडकलाई शिक्षालय बनाउन किन सक्दिन भन्ने ठूलो प्रश्नवाचक चिह्न आफूभित्र खडा भयो” शीरनलाई सडक–गायनको गुरु थाप्नुको रहस्य सुनाउँछन् उनी।

अहिले हाल भने उनी धुर्मुस सुन्तली फाउन्डेसनले थालनी गरेको रंगशाला बनाउने कार्यमा आर्थिक सहयोग पुर्याउन सडकमा गीत गाईरहेका छन्। यो भन्दा अघि उनी आफ्नो कलेज फि टार्नको लागि सडकमा गाउने गर्थे। त्यस पछि उनले अन्य सामाजिक कार्यको लागि फन्ड कलेक्सन गर्न थाले।

बाँकी हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया