सोमबार, असार ७ २०७८
काठमाडौं ०४:१८
वासिङटन डिसी 18:33

उदाहरणीय दृष्टिबिहीन राई दम्पति (भिडियोसहित)

इनेप्लिज २०७५ चैत २७ गते २१:३५ मा प्रकाशित

अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै दुर्घटनामा परेमा बच्चामा जन्मजात पनि अपाङ्गता हुने गर्दछ ।

अपाङ्गता हुनु कुनै रोग होइन । यो एउटा अवस्था मात्र हो । तर, हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई केही पनि गर्न नसक्ने एकदम कमजोर अर्थात बिरामीहरु हुन् भन्ने नकारात्मक दृष्टिकोणले हेर्ने परम्परा छ । तर, अपाङ्गता भएका मानिसहरूले पनि अवसर पाउने हो भने केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेका छन् मोरङको उर्लाबारीका दृष्टिविहीन राई दम्पति ।

उर्लाबारी– ५ का राजकुमार राई र उनकी श्रीमती इन्दिरा राई दुबै जना दृष्टिबिहीन हुन् । ३९ वर्षीय राजकुमार र ४४ वर्षीया इन्दिरा सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका छन् ।

बिसं २०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन् । मुढा बुन्नका लागि बाँस काटिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःख सुख खान पुगेको बताए । राजकुमार बाँस काटेर मुढाका लागि आवश्यक कच्चा पदार्थ तयार गर्ने र त्यसलाई इन्दिराले आकार दिने काम गर्ने गरेका छन् ।

बजारबाट मुढा बुन्ने डोरी खरिद गरी यी दम्पतिहरुले मुढा तयार गर्ने गर्दछन् । इन्दिरा घरको काम सकेर पति राजकुमारलाई मुढा बन्न साथ दिन्छिन् । उनीहरूले मासिक रूपमा १० हजार बराबरका मुढा बेच्ने गरेका छन् । यी दम्पतिले हप्तामा १०(१२ वटा मुढा बनाउने गरेका छन् । उनीहरु मुढामात्र नभई कुचोसमेत बनाएर बिक्री गरी दैनिक जिविकोपार्जन गरिरहेका छन् ।

उनीहरुका दुई छोरी ११ बर्षीया इनिस्ता र ४ वर्षकी स्नीता छन् । इनिस्ता सेन्टइस्टेफेन्स बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्छिन् भने स्नीता लिटिल एन्जल बोर्डिङमा नर्सरीमा पढ्छिन् । दुबै बोर्डिङ स्कुलले उनीहरुलाई निःशुल्क पढाउँदै आएका छन् । ठूली छोरी इनिस्ताको सहारामा शनिबार गाउँ गाउँमा मुढा र कुचो बेच्न जाने गरेको इन्दिरा बताउँछिन् । एक थान मुढा २ सय ५० रुपैयाँमा बिक्रि हुन्छ । ‘सबै जनाले छोरीको अनुहार हेरेर भएपनि मुढा किनेर सहयोग गर्दिनु हुन्छ’ इन्दिराले भनिन्–‘ मुढा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ ।’

दृष्टिविहीन राई दम्पतिको कथा

राजकुमारले ८ वर्षको उमेरसम्म आँखा देखेपनि पछि आँखा देख्न छोडेको बताए । ‘उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन् । के गर्नु समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि रु’ उनले दुःख प्रकट गर्दै भने–‘२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो । त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ ।’ इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । उनीहरुले विवाहपछि पनि धेरै अस्पतालमा धाए । तर, श्रीमान र श्रीमतीको एकअर्को मुहार र छोरीहरु हेर्ने सपना भने अधुरो रह्यो । डाक्टरले जतिनै उपचार गराएपनि आँखा देख्न नसक्ने बताएको राजकुमारले बताए ।

छोरीलाई आँखाको डाक्टर बनाउने सपना

दृष्टिविहीन राई दम्पतिले आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देखेका छन् । ठूली छोरी इनिस्ताले भनेको स्मरण गर्दै इन्दिराले भनिन्–‘ममी म डाक्टर बनेर हामीजस्तै गरिब दुखीको सेवा गर्छु ।’ ‘छोरीलाई डाक्टर पढाउने हाम्रो आर्थिक अवस्था त छैन’ उनले भनिन्–‘राम्रो पढि भने सबैले डाक्टर पढाउन सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ राजकुमार भन्छन्, ‘छोरीलाई आँखाको डाक्टर बनाउने धोको छ । हामी त देख्दैनौँ, छोरीहरुले दृष्टिबिहीनहरुको ज्योति फर्काउन सकुन् ।’

प्रतिक्रिया