लमजुङको चितीमा भेटियो मध्यकालिन नेपालको ईट्टा

इनेप्लिज २०७५ चैत २५ गते १२:०५ मा प्रकाशित

काठमाडाैँ,  २५ चैत । लमजुङको बेसीसहर नगरपालिका ११ चिती बरबोटमा मध्याकालिन नेपालको ईट्टा भेटिएको छ । चिति कार्कीडाँडा सेवा समाज बेसीसहरको पहलमा पुरानो ऐतिहासिक भग्नावशेषको खोजि गर्दा ईट्टा भेटिएको हो ।

लमजुङ जिविसका पूर्वसभापति एवं चिती कार्कीडाँडा सेवा समाज बेसीसहरका सल्लाहकार शकंरकान्त जोशी र सञ्चारकर्मी एवं चिती घर भएका गणेश पाण्डेले भग्नावशेषमा भेटिएको ईट्टा आइतबार पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमलाई बुझाएका छन् ।

ईट्टा पुरातत्व विभागले मध्याकालिन नेपालको भएको दाबी गरेको छ ।  भग्नावशेष ईट्टा भएको स्थानमा थप अनुसन्धानको लागि पुरातत्व विभागको टोली केही दिनमै लमजुङ पुग्ने भएको छ । यसअघि बेसीसहर नगरपालिका प्रमुख गुमानसिं अर्याललाई समेत समाजले ईट्टा बुझाएको थियो ।

अलपत्र रहेको भग्नावशेष हिरा बन्ने सम्भावना देखिएको छ । भग्नावशेष तत्कालीन राजाको दरबार हुन सक्ने र अन्य ऐतिहासिक महत्वका तत्वहरु हुन सक्ने स्थानीयले बताएका छन् ।

यस बाहेक चितीको ऐतिहासिक स्थलहरु रामचोकको गढि तिलाहारको शिद्देश्वोर महादेव मन्दिर निकै पुरानो ऐतिहासिक तत्वहरु रहेको हुनसक्ने चितीका स्थानीय बासुदेव सेढाईले बताए । प्रचारप्रसारको अभावमा ओझेलमा परेका ऐतिहासिक स्थल तथा भग्नावशेषको संरक्षण र उत्थान गर्न सके ईतिहास पनि सुरक्षित हुने र पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ ।

नेपालको पुराना धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँहरुको खोजि गरिरहेको अवस्थामा चितीमा रहेको भग्नावशेष पनि महत्वपूर्ण हुने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया