जिन्दगानी वेदनाले विह्वल भएको छ
बेबसीले डस्दाडस्दा दुर्बल भएको छ
लुटेको छ प्रवासले खुसीहरू जम्मै
मनस्थिति स्थिर छैन चञ्चल भएको छ
थिचेकाछन् दुर्दशाले बिल्लीबाठ पार्दै
प्रताडना खप्दाखप्दा कायल भएको छ
असमर्थ भयो छेक्न घाम,पानी,शीत
शिशिरले नङ्ग्याएको पीपल भएको छ
उन्नतिमा खिया लाग्यो प्रतिभामा पैह्रो
बहुमूल्य रत्न आज पित्तल भएको छ
टाढिॅदैछन् इच्छाहरू मृगतृष्णा बन्दै
समृद्धिको प्रकल्पना विफल भएको छ
भौँतारिदै हिँडेको छ अधमरो जस्तै
मान्छेहरू भन्न थाले ‘पागल भएको छ’
कस्ले बुझ्ने कस्ले जान्ने समयको खेला
पैले उम्दा थियो अब कमसल भएको छ
क्षितिजमा अँधेरोले ढाकेको छ टन्नै
रोशनीमा भाँजो हाल्ने बादल भएको छ
माया गर्ने को हुन्छ र परचक्री देशमा
आफन्तको आवागमन विरल भएको छ
मौलाउँदै जान थाले रोगव्याधि सारा
भित्रभित्रै कुतत्वको दखल भएको छ
जीर्ण हुँदै गए अब फुल्नेफल्ने आशा
सुखानन्द सपनाको महल भएको छ
क्षमता र सीप सबै पुगे रछ्यानमा
रङ्गढङ्ग नमिलेको कौशल भएको छ
नियतिले कुटेको छ च्युरा कुटे जस्तै
चाहनामा निकै उथलपुथल भएको छ
मुटुभरि सम्झना छ साथी सङ्गातिको
विछोडले अन्तर्मन विकल भएको छ
प्यारो लाग्छ जन्मभूमि भाषाभेष आफ्नो
हृदयमा देशभक्ति अटल भएको छ
निरत्नरै छचल्किन्छन् पीडाहरू मात्रै
दु:ख दर्द पोख्ने ठाउँ गजल भएको छ
न त भयो हर्ष कैले न त छायो शान्ति
न त कैले परिस्थिति “कोमल” भएको छ
(८ अक्षरमा विश्राम)
कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रतिक्रिया