कोमल गज़ल :-

इनेप्लिज २०७५ चैत १५ गते २२:४७ मा प्रकाशित

खुसीहरू सपना भए
र वेदना गहना भए

बलिन्द्र आँसु झरे सधैँ
अजम्मरी झरना भए

अतालियो मन वेसरी
निसासिने घटना भए

सुनेन प्रार्थन दैवले
उपासना अदना भए

टिकेन रङ्ग वसन्तको
निन्याउरा हसना भए

छ मौनता अनुहारमा
निराशका ढकना भए

सह्यो प्रताडन देहले
कथाव्यथा रचना भए

भएन दर्शन चाँदनी
अँध्यार रात घना भए

छन्द –तालूङ
सूत्र – lSl Sll SlS
गण – ज भ र
विश्राम – ४ अक्षरमा

-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया