कोमल गज़ल:-

कोमल भट्ट २०७५ चैत ४ गते २३:०८ मा प्रकाशित
ढल्यो सुशान्ति देशको,उखेलिँदा जराजरा
हलक्क भो कुभावना,मरे विचार निक्खरा
निमोठिँदै छ पाखुरी,विरोधले र रोषले
लुटिन्छ भाग्य देशको,बनाउँदै कठैवरा
भए निकृष्ट चिन्तना,फुले फले विसङ्गति
अनीतिमा जुटे सबै,चुँडालिए परम्परा
मडारियो अनेकता,भएन एकता कतै
अतालिए निराशले पहाड,भीर,कन्दरा
धरापमा छ अस्मिता अबाल,बाल,वृद्धको
असंख्य वेदना हुँदा,गए सुकेर निर्झरा
बनेन स्वच्छ आँगनी,मिलेर बस्न पाउने
प्रयास भो निरन्तरै,बनाउने गरागरा
जताततै कुकर्म भो बढे सहस्र दानव
कतै बढे सुपर्णखा कतै विषाक्त मन्थरा
अनेक जाल झेलमा सधैँ छ लिप्त मानव
सुनेर स्वार्थका कुरा विदीर्ण छिन् वसुन्धरा
कहाँ छ न्याय देशमा कहाँ समानता हक
धनी भए अझै धनी भए गरीव बेघरा
अकासियो कठोरता,रहेन सोच ‘कोमल’
समाल शीघ्र देश यो,कहाँ गयौ ऋतम्भरा
पञ्चचामर छन्द
(बहरे हजज मुसम्मन मक्बूज)
विश्राम:-८ अक्षर
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-१३,
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
© [email protected]

 

प्रतिक्रिया